काठमाडौँ । चौतर्फी दवावपछि चिनी उद्योगीले उखु किसानलाई ५७ करोड ३० लाख रुपैयाँ भुक्तानी गरेका छन् । सरकारले गत १३ पुसमा उखु किसानसँग गरेको चार बुँदे सम्झौतापछि चिनी उद्योगीले उखु किसानलाई सो रकम भुक्तानी गरेका हुन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानसँग चिनी उद्योगीबाट उखुको बक्यौता दिनुपर्ने सबै रकम २१ दिनभित्र दिलाइ दिने भन्दै गत १३ पुसमा सम्झौता गरेको थियो । उखु किसानको १६ दिन लामो आन्दोलनपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानसँग दोस्रो पटक चार बुँदे सम्झौता गरेको थियो ।
चिनी उद्योगीले उखु किसानको लामो समय देखिको बक्यौता भुक्तानी नगरेपछि उखु किसान दोस्रो पटक आन्दोलन उत्रिएका थिए । चिनी उद्योगीले उखुको लामो समय देखिको बक्यौता भुक्तानी नगरेपछि गतवर्ष काठमाडौँको चिसोमा २१ दिन लामो उखु किसानले आन्दोलन गरेका थिए ।
२१ दिन लामो आन्दोलनपछि गत वर्ष १८ पुसमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको रोहवरमा उखु किसान र उद्योगी भएको पाँचबुँदे सम्झौता भएको थियो । सो सम्झौता कार्यान्वयन नभएपछि उखु किसान दोस्रो पटक आन्दोलन उत्रिएका हुन् । गतवर्ष १८ पुसमा सरकार र उखु किसानसँग पाँच बुँदे सम्झौता भएको थियो । सम्झौताको पहिलो बुँदामा सरकारबाट निर्धारण भएको उखुको मूल्य बमोजिमको उखु किसानले सम्पूर्ण बक्यौता रकम चिनी उद्योगीले माघ ७ गतेभित्र भुक्तानी गरिसक्ने व्यवस्था मिलाउन मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने सम्झौता भएको थियो ।
मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले पत्रकारलाई जानकारी दिए अनुसार उखु किसानसँग गरेको चार बुँदे सम्झौता अघिसम्म चिनी उद्योगीले किसानलाई ६५ करोड ३१ लाख रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी थियो । डा. रेग्मीका अनुसार मंगलबार सम्ममा अब उद्योगले ८ करोड १ लाख रुपैयाँ मात्र भुक्तानी गर्न बाँकी रहेको छ ।
मन्त्रालयका अनुसार सरकारले गतवर्ष उखु किसानसँग पाँच बुँदे सम्झौता गर्नु अघि १४ वटै चिनी उद्योगीले उखु किसानको १ अर्ब ४० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी थियो । सो सम्झौतापछि १० वटा चिनी उद्योगीले उखु किसानको बक्यौता भुक्तानी रकम सबै बुझाएको प्रवक्ता डा. रेग्मीले बताए । उनका अनुसार गतवर्ष उखु किसानसँग गरेको सम्झौता पाँच बुँदे सम्झौतापछि चार वटा चिनी उद्योगीले ६५ करोड ३१ लाख बुझाउन बाँकी थियो । बाँकी चारवटा चिनी उद्योगी उखु किसानको बक्यौता भुक्तानी नगरेपछि दोस्रो पटक उखु किसान आन्दोलनमा आएपछि गरेको सम्झौतापछि उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयले चिनी उद्योगीबाट उखु किसानको बाँकी रकम २१ दिन भित्र उपलब्ध गराउन सहजिकरण गरी दिन सम्झौता भएको थियो । ‘सम्झौतापछि उखु किसानको बक्यौता दिन बाँकी रहेको श्रीराम सुगर मिल ३५ करोड रुपैयाँ नै भुक्तानी गरीसकेको छ । अन्नपुर्ण चिनी उद्योगको १७ करोड रुपैयाँ बाँकी भएकोमा १० करोड ८८ लाख रुपैयाँ किसानलाई भुक्तानी गरी सकेको छ भने १ करोड ७६ लाख रुपैयाँ खातामा जम्मा भएको जानकारी जिल्ला प्रशासनले गराएको छ । मंगलबार सम्ममा अन्नपुर्ण सुगर मिलले १२ करोड ६४ लाख रुपैयाँ भुक्तानी गरेको छ । अन्नपूर्णको अब १७ करोड रुपैयाँमा करिब ४ करोड रुपैयाँ बाँकी रहेको प्रवक्ता डा. रेग्मीले बताए ।
यसैगरी इन्दिरा सुगर मिलले ४ करोड ७० लाख रुपैयाँ दिन बाँकी मध्येमा सम्झौता पछि १ करोड ५० लाख रुपैयाँ किसानलाई भुक्तानी गरेको बताए । लुम्बिनी चिनी उद्योगको ८ करोड ४१ लाख रुपैयाँ मध्येमा ५ करोड १६ लाख रुपैँया किसानलाई भुक्तानी गरेको उनले बताए । लुम्बिनीको ३ करोड रोक्का गरेको बताए । सो रकम पनि बुधबारसम्ममा किसानको खाता जम्मा हुने जिल्ला प्रशासनले जानकारी गराएको बताए । उनले चार वटा चिनी उद्योगी मध्ये अब तीन वटा सुगर मिल गरी ८ करोड १ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बताए ।
उनले बैंक खाता नभएका उखु किसानको बाँकी भुक्तानी वितरणका लागि उखु संघर्ष समितिलाई सहजिकरण गरी दिन अनुरोध गरेको जानकारी दिए । उनले भने,‘ चिनी उद्योगी दिन बाँकी धेरै जस्तो खाता नभएका उखु किसानहरुको बक्यौता रमक मात्र रहेको छ । किसानको खाता नहुँदा भुक्तानी गर्न समस्या भएको छ ।’ उखु किसानले चिनी उद्योगीसँग ९० करोड रुपैयाँ लिनु पर्ने दावी गर्र्दै आएको विषयमा मन्त्रालयले अध्ययन गर्न गठित कार्यदलले अध्ययन गरी रहेको प्रवक्ता डा. रेग्मीले जानकारी दिए ।