रेलवे सेवा सञ्चालनका लागि आवश्यक पर्ने प्रायः सबैकाम नेपाल सरकारले पूरा गरिसके पनि सेवा सञ्चालमा नआउँदा यसले अन्योल सिर्जना गरेको छ । यो अन्योलताले जनतामा विभ्रम ल्याएको छ र सरकारले रेल सेवा सञ्चालनमा ल्याउन सक्दैन भन्ने सन्देश प्रवाह हुन थालेको छ । तयारीका काम पूरा भएपछि सरकारले करिब दुई महिनाअघि नै भारतबाट रेल झिकाइसकेको छ । तथापि रेलजस्तो विसाल तथा द्रुत सेवा सञ्चालनमा आउन नसक्दा अन्योलता छाउनु र जनतामा निराशा पैदा हुनु स्वाभाविक पनि हो । पञ्चायतकालमै जनकपुर–जयनगर रेलवे सेवाको आनन्द र सुविधा लिइसकेका जनता छिटो रेल सेवा सञ्चालन होस् भन्नेमा आतुर देखिनु अस्वाभाविक होइन ।
हाल यसको सेवा बिस्तारसहित जयनगर–कुर्था रेलमार्ग सञ्चालनार्थ भारतबाट रेल ल्याइए पनि थप तयारी अभावका कारण सञ्चालनमा आउन सकिरहेको छैन । भौतिक तथा अन्य तयारी त भएको तर भारत–नेपालकैं बीचमा दुई देशीय वा दुई पक्षीय केही कूटनीतिक तयारीमा कमी रहन गएको महसुस आमरूपमा हुन पुगेको छ । रेलवे सेवा नेपालको तराईमा सञ्चालन हुने र सिधै भारतीय रेलवे जक्सनसँग जोडिने भएकाले पनि यसमा समस्या आएको देखिएको छ । नेपाल–भारत सम्बन्धमा केही थोरै मात्र पनि खटपट आएमा यस्ता समस्या देखापर्ने गरिरहेको विगत साक्षी छ । यसका लागि सरकार चतुर र कुटनीतिक रूपमा सशक्त हुन जरुरी छ ।
जिम्मेवारी र दायित्वका हिसाबले यो काम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गर्ने भए पनि कतिपय कुरा अन्य विभाग र मन्त्रालयसँग पनि जोडिन पुगेको देखिन्छ । भौतिक मन्त्रालयले अहिले रेलवे सेवा सञ्चालनका लागि तयारी अगाडि बढाएको कुरा सार्वजनिक गरेको छ । साथै, केही जनशक्ति अभाव र कानुन अभावका कुरा पनि त्यसमा उल्लेख गरिएको छ । नेपालका लागि रेलवे सेवा सञ्चालन पानी जहाज सेवा सञ्चालन जस्तो नयाँ र अनुभव नभएको क्षेत्र होइन । बरु पहिले सञ्चालनमा आएको रेलवे सेवा पनि बन्द हुन जाने र नयाँ पनि नखुल्ने भएकाले यसको कारण अन्तरदेशीय अनुमति पनि रहेको कुरा बुझ्न कुनै कठिनाइ पर्दैन ।
सम्बन्धित मन्त्रालयका मन्त्री तथा रेल्वे कम्पनीका महाप्रबन्धकहरूले छिट्टै सञ्चालनमा आउने भनी कुरा राखिरहे पनि व्यवहारतः त्यो कार्यान्वयन हुन कठिनाइ भइरहेको अनुभूत जनताको तहसम्म पुगेको छ । यस्तो हुनु राम्रो होइन । सरकारी तहमा हुने उतारचढाव एउटा कुरा हो तर नेपाली र भारतीय जनताका बीचमा कुनै पनि बेला नराम्रो वातावरण सिर्जना भएको छैन । रेलवे सेवा जनसेवासँग जोडिएकाले यसका हलका लागि कुरा जनस्तरसम्म लैजानुपर्छ र सम्बन्धित पक्षले पनि यसलाई सम्बोधन गरिदिनुपर्छ ।
अबका दिनमा यो समस्या हल गरेर जनतामा आशा जगाउनुपर्छ । सवारी सेवा दिने र लिने काम हरेक पलपलको भएकाले पनि यो जनताका बीचमा निकै खड्कने गरिरहेको छ । नेपाली जनतालाई सान्त्वना दिने हिसाबले यति बेला, यति महिना वा यति दिनमा भनेर समयसीमा तोकिराख्नुपर्ने जरुरी छैन । काममा जोड दिनुप¥यो र सञ्चालन कार्यलाई सम्भव बनाउनुप¥यो । यसैमा सरकार र जनताको हित छ । बोलेका कुरा ढाँटेजस्तो नहुनेगरी काम गरेर देखाउनु जरुरी छ । हाल पनि रेल्वे कम्पनीमा ६० अस्थायी कर्मचारी र १२ स्थायी कर्मचारी कार्यरत छन् । यसमा रेल चलाउने ज्ञान भएका दक्ष थप २६ भारतीय कर्मचारीसमेत ल्याउन प्रस्ताव गरिएको छ । प्रयासलाई व्यावहारिक बनाउँदै अन्तरदेशीय समस्या सुल्झाउन र रेलवे सेवा सञ्चालनमा ल्याउन ढिलाइ नगरियोस् ।






