देशमा संसद् विघटन भई मध्यावधि निर्वाचनको घोषणा भएपछि राजनीतिक विवाद चुलिन पुगेको छ । ताजा जनादेशका लागि निर्वाचनमा जाने वा विघटित संसद् दुई वर्षका लागि पुनस्र्थापित गरेर जाने भनी उठेको राजनीतिक विषय अहिले संवैधानिक निकासका लागि सर्वोच्च अदालतमा पुगेको छ । यसबारे निक्र्यौल हुन त बाँकी छ तर यसलाई हाल संवैधानिक संकटका रूपमा व्याख्या गरिएको छ । संविधानको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई भएकाले यसको व्याख्याका लागि इजलासमा बहस पनि भइरहेको छ । तर, यता सर्वोच्चमा बहस भइरहँदा देशमा भने राजनीतिक विभाजनको खाडल फराक हुँदै गइरहेको छ । सिंगो देश अहिले विभाजित हुने अवस्थामा छ । सरसर्ती हेर्दा ताजा जनादेशमा जाने वा संसद् पुनस्र्थापना गर्ने भन्ने विषय एउटै सिक्काका दुई पाटाजस्ता देखिए पनि विवादको विषयका हिसाबले हेर्दा यी दुई विपरीत मुद्दाजस्ता देखिन्छन् । सत्ताधारी पार्टी फुटेर आआफ्ना कुरा लिई जनताका बीचमा पुगिरहेका छन् । यी कुरा राष्ट्रिय सभादेखि प्रदेश र स्थानीय तहका सरकारसम्म सदन बहसका विषय बनिरहेका छन् । संघर्षका रूपमा अभिव्यक्त भएपछि दुवैपक्षबाट निरन्तर सडक प्रदर्शन पनि भइरहेका छन् ।
विचारअनुरूपको संगठन र त्यसले लैजाने फरक विचार र आफूले प्राप्त गर्ने भोटका लागि दलीय व्यवस्थामा विभिन्न विचारका दलहरू जनतामा जानु र गइरहनु, संसद् तथा सडक प्रदर्शन भइरहनु तथा विरोधका स्वर आउनु यो व्यवस्थाका विशेषता हुन् । तर, स्वयं सत्ताधारी पार्टी नै दुई चिरामा विभक्त भएर आरोप–प्रत्यारोपसहित जनताका माझमा जानुले देशमा विकराल स्थिति सिर्जना गरिरहेको छ । दुई चिरामा विभक्त एउटै सत्ताधारी पार्टी प्रतिध्रुवीय कित्तासरह एकअर्काका विरुद्धमा सडकमा ओर्लिन पुगिसकेका छन् । एकअर्कामा तथानाम गालीगलौज र बेइज्जतको स्तरमा ओर्लिएपछि यसका समर्थक र शुभचिन्तक जनता पनि आपसमा फाटिन र च्यातिन पुगेका छन् । नेताहरूका बीचमा उठेको राजनीतिक विवाद अब आम जनतामा पुगिसकेको छ । स्थानीय क्षेत्रमा दिनहुँ प्रदर्शन र झडप तथा तनाव सिर्जना भइरहेको छ । हरेक दिन एकअर्कामा विरोध जुलुस र नाराबाजी भइरहेका छन् । यसले कार्यकर्ता र जनतामा तामसी प्रवृत्तिको विकास गराइरहेको छ । एकअर्कामा बदला लिने, नांगेझार पार्ने, देखेस्, पखेस् भन्ने र भावोत्तेजना पैदा गर्ने काम भइरहेको छ । यसले अन्ततः झडप र हिंसात्मक वातावरणतिर डो-याइरहेको छ ।
नेताहरूका हरेक दिनका सम्बोधनमा नयाँ र थप उत्तेजक कुराहरू आउन थालेका छन् । हरेक भाषणमा नयाँपन दिने सोचका कारण दुवै चिराका नेताहरू व्यंग्यबाण र घोचपेचमा माहिर बन्दै गैरहेका देखिन्छन् । राजनीतिक वातावरण अशिष्ट, अमर्यादित र खल्लो हुँदै गैरहेको छ । राजनीतिक विश्लेषक, पत्रकार र वुद्धिजीवीसमेत विवाद र बहसमा बाँडिन थालेका छन् । पूर्वाग्रहको गन्ध नमीठो गरी फैलिइरहेको छ । योभन्दा पहिले पनि निर्वाचनका बखत झडप, तनाव र हिंसात्मक घटना हुने गरेका थिए तर अहिले निर्वाचनपूर्व नै उपल्लो सदनदेखि सडकसम्म पोखिइसकेको छ । अहिले त कसले अर्काको कार्यक्रमको प्रभाव निस्तेज पार्ने र आफ्नो सोच हाबी बनाउने भन्ने होड चलिरहेको छ । यसले सम्भावित हिंसात्मक झडप र कित्ताबन्दीतिर नेपाली समाजलाई डो¥याइरहेको छ । अप्रिय अवस्था आउन नदिन भने सबै पक्ष संवेदनशील बन्नैपर्छ ।