हालको राजनीतिक आन्दोलन एक जना प्रधानमन्त्रीलाई हटाएर अर्को प्रधानमन्त्री बनाउने उद्देश्यमा केन्द्रित देखिन्छ । न्यायसम्मत बहस अदालतको हातमा छ, मात्रै यसभित्रको एउटा भाष्यले पिरोल्छ । आखिर, अहिले सम्भाव्यता बोकेर पर्दामा देखिनेमध्येबाट जो कोही प्रधानमन्त्री भएर आए पनि एकपटक त्यो पदमा बसिसकेका नै आउने कुरा हो । यस मानेमा अहिलेको राजनीतिक आन्दोलनले वास्तवमा देशमा नयाँपन दिने सम्भाव्यता केही छैन । अर्को अर्थमा मुलुकलाई विकासको काम गरेर गति दिने कि समर्थनवादी संगठनको अभ्यास गर्ने प्रयोगशाला बनाउने भन्ने मात्रै देखिन्छ ।
हालको अवस्थामा न्यायालय विवादमा छ, सञ्चारमा स्वच्छता छैन अनि देशका सबल संयन्त्र नै खेमाको झन्डामुनि बसेर अर्काले बोकेको एजेन्डामा कठपुतली भएर तर्क बकिरहेको देखिन्छ । खेमाको पिछलग्गु हुने र त्यसको वैधता जाँच्ने दुवै विषय आपसमा अमिल्दा विषय हुन् । जब नेतालाई आफ्नो सौदाबाजीमा चित्त बुझ्दैन तब जनताको बुई चढेर फेरि सबल नेता बन्न चाहने प्रवृत्तिलाई पछिल्लो राजनीतिक इतिहासले अहिले पनि निरन्तरता दिइरहेको देखिन्छ ।
फेरि अहिलेकै कुरा गरौं– मुलुकले परिवर्तन र दिगो शान्तिका लागि भन्दै कसैले रगत बगाएका हुन् भने त्यो सोझा जनताले नै बगाएका हुन् । आज एक–एक थोपा बिक्रिमा छ । दुई पसलले तर्क बेच्छन्– ‘बहुमत कसको छ त्यो त जनताले निर्णय गर्नेछ ! फलानो अब पत्तासाफ् भइसक्यो !’ अर्काले उत्तर दिन्छन्– ‘नेपाली जनता अब लाटा छैनन् ! कुराजनीतिको प्रतिकारका लागि विशाल सभामा जनतालाई उतार्छौं ! सडकमा उतारेको भीड देखेपछि त्यो सत्ता कसको हो भनेर थाह लाग्छ !’
बजारमा भागबण्डाको व्यापारमा दामासाही हिसाब नमिलेको भन्दै एउटा पसले सडकमा अनि अर्को सदनमा आपसी खण्डनको प्रतिस्पर्धामा छन् । जब नेताजीलाई अप्ठ्यारो पर्छ तब अरू बेला कुर्सी, कमिसन, चुक्ली, मिलान, सट्टापट्टा, भागबण्डा, आफन्तवाद इत्यादि समीकरणमा अघोषित युद्धविराम हुन्छ । समय बदलिएसँगै विगतको विरासतमा चलाख्याईँ गर्नैपर्ने बाध्यता तब सिर्जित भइदिन्छ । तब पनि नाइके त नाइके नै हुन्छ तर भारेभुरे सडकभरि झण्डा बोकेर जिन्दावाद र मुर्दावादको खेमामा कुर्लन थाल्छन् ।
हरेक आमसभामा चर्कीचर्की भाषण गरेर आक्षेप, पटाक्षेप गर्नेका लागि स्टेज बनाउने र ताली बजाउने सोझो जनता नै हो
तब समाजवाद ! जबज ! लोकतन्त्र ! संविधान ! राष्ट्रियता ! जनयुद्ध ! जेलनेलको भोगाइ ! …इत्यादि शब्दको गोलघरभित्र पसेर उसै गरी लालीपप बाँड्न थालिन्छ । अर्का ससाना व्यापारीहरू पनि ग्राहक तान्ने र छिमेकी व्यापारी भड्काउने सूत्र खोज्न थाल्छन् । सुनिनसक्नु र यति धेरै अमर्यादित दोहोरी छ– यस्तो लाग्छ, हिजो कहिल्यै नभेटेका दुई प्राणी जुधेजस्तो अनि भोलि कहिल्यै सँगै बस्नै नपर्ने झैं गरी केवल दोहोरी मात्र ।
टाठाबाठालाई बेलैदेखि जोगाइएको हो । सुरक्षा कडा पारिएको हो । हरेक आमसभामा चर्की चर्की भाषण गरेर आक्षेप, पटाक्षेप गर्नेका लागि स्टेज बनाउने र ताली बजाउने सोझो जनतै हो । प्रतिव्यक्ति के कसो मिलाएर भए पनि भिड जम्मा गर्नेले कहिल्यै पनि नेपाली जनता अभैm कति ओडारमा होला भनेर सोचेको छैन ! त्यो बबुरोको पीडा निवारणार्थ कहिल्यै भिड जम्मा हुने कार्य हुँदैन । मोटो रकमको केही हिस्सा दूरदराजमा कठ्यांग्रिएका विपन्नका लागि अर्पने आँट कसैले गरेको छैन । अर्कातिर अदालती प्रक्रियामा रहेको विषयमा बाहिर धेरै चर्काचर्की गरेर अनुमान र अड्कलबाजी लगाउनुभन्दा स्वच्छ न्यायालयलाई दुवैतर्पmबाट स्वच्छ हुनैपर्छ अन्तिम सत्यलाई स्वीकार्नु हितकारी कदम हुन्छ ।
जनतालाई भड्काएर, उरालेर, बरालेर आज रातारात पार्टीको ओहोदालाई दुवै पक्षका व्यापारी बजारमा बिक्री गरिरहेका छन् । अमूल्य हिरा टुटेपछि बेकामे वस्तु बने जस्ता दुई कित्ताले अहिले जनतालाई सौदाबाजी गरेर बहकाउमा हालेका मात्रै छैनन्, राजनीतिक पार्टीहरू जुर्मुराएर कामधन्दा छोडेर अब कसलाई रोज्ने हो रोज भन्दै बाध्य बनाइरहेका छन् । मिल्नुपर्छ, भन्दा पनि मिल्नै नसक्ने हदमा ओर्लेर अहिले नेपाली समाज नै विभाजनकारी शैली र सोचमा नराम्ररी ढल्मलाएको छ । आखिर संसद् विघटन पनि एक व्यक्ति मात्रको दोष हो त ! नेताहरूको पदीय सौदाबाजी नमिल्दाको परिणाम मात्र हो । व्यक्ति स्वार्थ साँध्ने शीतयुद्धको परिणाम हो अनि आज दुई धार, तीन धार, चार धार र अन्य धारमा टुक्रिएका जनता केवल केही कुनै सूक्ष्म स्वार्थ र दबाबमा पिल्सिरहेका छन् ।
अभैm अर्कोतिर– हिजो २००७ सालदेखि २०४६, २०५२ देखि माओवादी द्वन्द्व, २०६२-६३ को आन्दोलन हुँदै अस्थिर सरकारको क्रमिकतादेखि आजसम्म जनताले गरेका दर्जनौं आन्दोलनको परिघटनाले एउटै लक्ष्यमा पाइलो टेक्न खोजेको हो– मुलुकमा स्थिर शान्ति र उच्च समृद्धि चाहिएको छ । बलिको बोको बन्न रुचाइरहने कार्यकर्ताले देखेको राजनीतिक परिवर्तन केवल चाकडी मात्रै हो । एकदिन के सनक चढ्छ अर्थात् मोलमोलाइमा कुरा मिल्छ तब नेताजीले भन्नुहुनेछ– ‘हामी मिल्यौं’ तब यही आज सडक र सामाजिक सञ्जालमा रोइलो मच्चाइरहेको नागरिक फेरि चुपचाप बस्छ । कस्तो अचम्मको सोच हाम्रो ? वास्तवमा त जनताले राजनीति गर्दैन र देशको उन्नति चाहन्छ भने जनताले पनि सही र गलत समय र सोचलाई छाम्न आवश्यक छ । आपसमा शत्रुता साँधेर विकासमा बाधा नै हुने हो । स्वार्थी नेताको सोचलाई साथ दिएर विकासवादी समय खर्चिनुको कुनै तुक देखिँदैन ।
जनताले नेतासँग हरेक बाचाको हिसाब माग्ने बानीको विकास पनि गर्नु आवश्यक होइन र
अहिले पनि संविधान र सिद्धान्तको व्याख्या केवल कसैले लेखिदिएका समाचार पढेको आधारमा गरिएको हो । समाचारको पल्ला पनि कतातिर ढल्कियो भनेर कसरी बुझ्ने भन्ने सङ्कट छ, स्वच्छ सञ्चार अभावको आतङ्क साँच्चै हाबी छ । प्रतिस्पर्धात्मक बजारमा व्यापारका लागि बाँडिने खबरले सोझा जनतालाई न त जबज बुझाउन सक्छ न त समाजवाद न परिवर्तनको तुक नै । नेपाली जनतामा कतिखेर, के कुरामा र कसरी मात्रै साथ दिने तथा के कुराले देशमा किन र कसरी हानी हुन्छ भन्ने गरी विश्लेषण गर्ने बुद्धिको विकास नहुँदा अहिले यो खेमाको भिड देखिएको हो । वास्तवमा खेमावादको विपक्षमा उत्रिएर विकासवादमा लाग्नका लागि मात्रै साथ दिनुचाहिँ सच्चा नागरिकको कर्तव्य हो । झगडा गर्ने, खेमाबन्दी गर्ने, मोर्चा बाँढ्ने र विकास छोडेर खाली भाषणमा कुर्लने नेतालाई कुनै जनताले कहिल्यै साथ दिँदैनौं भन्ने कुरामा जनताको एक मत हुने भने जनता नभई त नेता हुँदैन । तब नमिलेसम्म उपाय हुँदैन अनि विकास नगरेसम्म बहिस्कार पनि हुने रहेछ भन्ने पाठ हुन सक्छ ।
अहिले लेखकले भन्न थालेको देखिन्छ– ‘भोट दिन्न’ भन्ने विकल्प राखौं । चियाचौतारीमा बस्नेले गर्ने अनावश्यक भाषण र टोलवासीमा गुटकै झोला बोकेर वैमनस्यता साँध्ने बुद्धिलाई सायद सबाल्टर्नको अवधारणाले छुँदो हो त मुलुक यसरी पट्टि बाँधेर कुर्लने थिएन । कमजोर शासकले विशाल समृद्धिका सपना देखाएका कुरा जनताका लागि कति विश्वासघाती होलान् भन्ने भान हुनुपथ्र्याे । हामीसँग प्राकृतिक सम्पदा, सांस्कृतिक धरोहरको जग, बहुमतको सरकार, ४० प्रतिशत सक्षम युवाशक्ति सबै कुरा कति सानदार थियो ! अभैm पनि बहुमतको सरकारबाहेक अरू कुरा यथावत् छँदै छन् । अतः अहिलेको राजनीतिक होहल्लाले उस्तो नयाँ फ्लेबर दिँदैन भने कि त अब वार्ता गरेर समाधान खोजौं, समय बचाऔं कि त भने नयाँ सिराबाट नयाँ मान्छे र राम्रा व्यक्तिको टिम बनाएर होस्टेमा हैंस्टे गरौं ।
अब हुलमुल, भिडभाड, धर्ना, जुलुस होइन, नवीन क्रान्तिको तरिकालाई खोजौं । राजनीतिक खलबलीका कारण मुलुक नै ठप्प हुने अवस्थाको अन्त्य हुनुपर्छ । जनताले नेतासँग हरेक बाचाको हिसाब माग्ने बानीको विकास पनि गर्नु आवश्यक होइन र ! यदि दुई जना झगडा गर्छन् भने झगडालुलाई विस्थापन गर्ने अनि जोसिला नयाँ पुस्तालाई अघि सारौँ न त । जुन क्रान्तिमा न रगत बग्छ, न समय बर्बाद हुन्छ । त्यहाँ देशभक्त र पार्टीविहीन बौद्धिक वर्गलाई सल्लाहकार बनाऔँ, युवाले काम गरौं ।
त्यसो हुँदा अनुभव र जाँगर दुवै कुरा सम्भव हुन्छ । विकासे सैनिक भर्ना गर्ने सोच बनोस् । मिलेर बनाऔं, सोचेर गरौं । सञ्चार शक्तिले यस कार्यमा मूल भूमिका निर्वाह गर्न सक्छ । तथापि, सञ्चारशक्तिको धर्मलाई निर्वाह गर्ने हो भने अबको युग सञ्चार क्रान्ति एक सकारात्मक सन्देश प्रवाह गर्ने निष्पक्ष आधार बन्ने सम्भाव्यता दर्बिलो हुन्छ ।