छायांकनमा उत्रियो गणपति र चुरीफुरी

काठमाडौं । कोरोनाको संक्रमणमा कमी आएपछि पछिल्लो समय चलचित्रको चहलपहल बढेको छ । फिल्म हल सञ्चालनमा आएसँगै चलचित्रको छायांकन पनि सुरु भएको छ । यसै क्रममा बिहीबारबाट नयाँ चलचित्रको छायांकन सुरु भएका छन् ।

अभिनेता मुकुन भुसाल र अभिनेत्री मेनुका प्रधानको मुख्य भूमिका रहेको चलचित्र ‘गणपति’ को छायांकन बिहीबारबाट सुरु भएको हो । यस्तै अर्को चलचित्र चुरीफुरीको छायांकन पनि यतिबेला छायांकन सुरु भएको निर्माण पक्षले जनाएको छ ।

चलचित्र गणपतिलाई फिल्मलाई सविन अधिकारीले निर्देशन गरिरहेका छन् । उनका अनुसार यो चलचित्रको तनहुँको बन्दीपुर गाउँपालिका थारुबासबाट छायांकन सुरु भएको हो । फिल्मको छायांकनका लागि निर्माण टिम बुधबार नै यहाँ आएर बिहिबारबाट छायांकन सुरु गरेको उनले बताए । अब करिब ४० दिनको बसाइमा यो चलचित्रको सम्पूर्ण छायांकन बन्दीपुरमा नै गरिनेछ ।

फिल्ममा मुकुन र मेनुकासँगै सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, अर्जुन गुरुङ, सुशील पोखरेल, श्रीदेव बीएललगायतको पनि अभिनय रहनेछ ।

यो चलचित्रमा मानिस र भगवान्बीचको अन्तर देखाइने निर्देशकको कथन छ । मानिस नै भगवान् कसरी हुन सक्छ भन्ने कथा यसले प्रस्तुत गर्नेछ । यो चलचित्रमा सविनकै कथा, पटकथा तथा संवाद रहेको छ, चलचित्रलाई लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरीले निर्माण गर्दै छन् । जसमा हरिबहादुर घलेको छायांकन, विक्रम स्वारको कोरियोग्राफी रहने छ । फिल्मको गीतमा अनिस अधिकारीले शब्द तथा संगीत छ । गीतहरु अनिस अधिकारी र देवेन्द्र बब्लुले गाएका छन् । यो चलचित्रलाई नेपालमा गोविन्द शाहीले र विदेशमा श्रीत फिल्मस् एन्ड इन्टरटेन्मेन्टले वितरण गर्नेछ ।

यस्तै, छायांकन सुरु भएको चलचित्र चुरीफुरी हास्यप्रधान सिनेमा हो । जसमा हास्य टेली शृंंखला तथा वेबसिरिजका चर्चित हास्य कलाकारहरूलाई लिइएको छ । निर्देशक ऋषिराज आचार्यले नयाँ फिल्म ‘चुरीफुरी’ को सुटिङ गरिरहेका छन् ।

चुरीफुरीमा रवीन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित, सुनिता श्रेष्ठ, ऋतु आचार्य, लक्ष्मी ढकाल, राजेन्द्र खाती, महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, सरिस्मा मगर, मनिल तामाङ, रश्मी आचार्यलगायतका कलाकारको अभिनय रहनेछ । यसका मुख्य नायक नायिकाको नाम गोप्य राखिएको छ ।

निर्देशक आचार्यले यो चलचित्रलाई मनोरञ्जनको नौलो वस्तु भनेका छन्, ‘अहिले विश्व नै कोरोना भाइरस र लकडाउनका कारण असहज जीवन जिउन बाध्य छ । यो परिस्थितिबाट उत्पन्न दिक्दारीलाई ‘चुरीफुरी’ ले भरमार रिफ्रेस गराउनेछ ।’

निर्देशक आचार्यकै लेखन, निर्माण र निर्देशन रहेको यो चलचित्रमा रीना ढकाल निर्माता छिन् । फिल्मको सहनिर्मातामा विमला भुसाल, राजेन्द्र खाती र शिव थापा छन् । राहुल राईको छायांकन, भीमफेदी गाइजको कोरियोग्राफी, विजय आचार्यको कला निर्देशन र दीपक शर्माको संगीत रहेको फिल्मका गीतमा समीर आचार्य, विश्व नेपाली र वेनिशा पौडेलको स्वर छ ।

तपाइको प्रतिक्रिया
(Visited 417 times, 1 visits today)

epaper

ताजा समाचार

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन