चालू आर्थिक वर्षको साउनदेखि पुससम्म विदेशी वस्तुको आयातमा ५ प्रतिशतले कमी आई निर्यातमा ६ प्रतिशतले वृद्धि हुन गए पनि नेपालको व्यापार घाटामा नै रहेको देखिएको छ । हरेक ६ महिनामा गरिने मूल्यांकनका आधारमा पुस महिनामा गरिएको लेखाजोखामा यस्तो देखिएको हो । स्वयं भन्सार विभागका अनुसार साउनदेखि पुससम्म ४.८१ प्रतिशतले आयात घटे पनि नेपालबाट मनग्गे सामान विदेशमा पठाउन सकिएको छैन । यो अवधिमा आयात गरिएका सामान ६ खर्ब ६१ अर्ब २४ करोडभन्दा बढी मूल्यका रहेका छन् । यसै अवधिमा निर्याततर्फ ६० अर्ब ७९ करोड ९९ लाख बराबरको मात्र स्वदेशी वस्तु निर्यात भएको छ । यसले नेपालमा मगाइने सामान बढी महँगा र नेपालबाट पठाइने सामान बढी सस्ता रहेको देखाउँछ । गुणस्तरअनुसार मूल्य मापनकै आधारमा व्यापारमा घाटा र नाफाको लेखाजोखा गरिन्छ । यो आर्थिक वर्षको ६ महिने मूल्यांकनमा देखिएको घाटा यही अवधिको नभएर पहिले देखिकै कुल घाटामध्येको हो । यस आर्थिक वर्षको तथ्यांक नियाल्ने हो भने व्यापार घाटामा ५.८० प्रतिशतले सुधार भएको देखिन्छ । तथापि, नेपाली अर्थतन्त्र निकै परनिर्भर छ । वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.५८ र निर्यातको हिस्सा ८.४२ प्रतिशत रहेको छ ।
यस आर्थिक वर्षको ६ महिने अवधिमा निर्यातको तुलनामा आयातको लगभग १ प्रतिशतले घट्न गएको छ । यो तुलनात्मक हिसाबले सुधारोन्मुख दिशातिरको अघि बढाइ हो । नेपालले आफ्ना उत्पादनमा गुणस्तरीयता कायम गर्ने र तिनलाई अन्तर्राष्ट्रिय बजारको मागअनुसार विदेशमा निर्यात गर्न सक्ने हो भने नेपालको व्यापार घाटा स्वतः कम भएर जान्छ । यसमा पनि समुद्र पारको व्यापारभन्दा छिमेकी देश भारतसँगको व्यापार बढी छ । बढी व्यापार हुनुका कारणले भारतसँगको व्यापार घाटा पनि अन्य देशको तुलनामा निकै बढी नै छ । त्यसपछिको व्यापार घाटा उत्तरी छिमेकी देश चीनसँग पनि रहेको छ । सुधारोन्मुखताका हिसाबले नेपालले गति लिन आफ्नो मौलिक उत्पादनमा निकै मेहनत गर्नुपर्छ । यसका लागि छिमेकी देशको बजारको पहिचान, त्यहाँका उपभोक्ताहरूको माग र उक्त मागअनुसार नेपालले पु¥याउन सक्ने आफ्नो क्षमतालाई पनि राम्ररी ठम्याउन सक्नुपर्छ । भारतका जनता, उनीहरूको जीवनस्तर र उनको जीवनयापनका लागि आवश्यक कुराहरू नेपालीको भन्दा फरक छैनन् । दुबै देश कृषिमा आधारित छन् । औद्योगिक सामग्री कृषिको तुलनामा कमै मात्र प्रयोग गरिन्छन् ।
त्यसैले, नेपालले कृषि उत्पादनमा मात्र जोड दिए पनि दुई देशबीचको व्यापार घाटा उल्लेख्य मात्रामा कम गर्न सक्छ । यसका साथै नेपाल–भारतबीचमा गरिएको व्यापार तथा पारवाहन सन्धिअनुसार नेपालबाट भारतले लिने भनिएका सामानको अद्यावधि गर्ने, रोकिएका सामान समयमै निर्यात गर्न प्रयास गर्ने, व्यापारिक हटलाइनमार्फत समस्या समाधन गर्न प्रयास गर्ने र आफ्ना सामानको गुणस्तरीय उत्पादनमा जोड दिने गरेमा हाल भोगिरहेको समस्याबाट पार पाउने सम्भावना निकै रहेको छ । उत्तरी छिमेकी देश चीनसँग पनि गरिएका सहमति र सम्झौताअनुसार आफ्ना सामानमा गुणस्तरीयता कायम गर्ने, त्यहाँको बजारमा नेपाल आफैंले सामान पु¥याउन प्राइवेट तथा संस्थागतका साथै जी–टु–जी सम्बन्धमा विश्वसनीयता कायम गरिरहन जरुरी छ । त्यसैगरी, समुद्रपारको व्यापारमा पनि उत्तिकै ध्यान दिनु जरुरी छ । यी सबै कुरामा उचित व्यवस्थापन गर्दै सन्तुलन ल्याउन सके नेपालको व्यापार घाटा सन्तुलित हुन जानेछ ।