सप्तरी, राजविराज । नेपाल टेलिकमको टावरमा जडान गरिएको ब्याट्रि लगायतका महँगो उपकरण लगेर बिक्रि गर्ने धन्दामा संलग्न तथा मोटरसाइकल लुटपाटमा संलग्न दुईसहित ६ जनालाई सप्तरी प्रहरीले पक्राउ गरि आइतबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा चोरीका सरसमान खरीद गर्ने एक जना व्यवसायी समेत छन् । जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरि उनीहरुलाई सार्वजनिक गरिएको हो ।
पछिल्लो पटक पुस २३ गते सप्तरीको सुरुङ्गा नगरपालिका २ हर्दियास्थित शिवनारायण चौधरीको घरमा नेपाल टेलिकमले जडान गरेको जिसिएम मोबाइलको बिटिएस टावरको लाखौं मुल्य पर्ने एएच ब्याट्रि २४ थान, पावर केबुल ३५ एमएमको २० मिटर, अर्थिङ केबुल २५ मिटर लगायतका उपकरण र विद्युतीय सामाग्रि चोरी भएको थियो ।
अनुसन्धानकै क्रममा उक्त घटनाका मुख्य अभियुक्त सिरहाको लहान नगरपालिका १३ निवासी २२ वर्षिय राकेश यादव, चोरीमा प्रयोग गरिएको ना.४ख. ७२४६ नम्बरको मिनि ट्रकका मालिक लहान नगरपालिका ३ निवासी ३५ वर्षिय सूर्यनारायण महतो र सोही वडा निवासी ३५ वर्षिय पवन जैसवाल पक्राउ परेका छन् ।
यस्तै चोरीका उपकरण खरीद गर्ने सिरहाका गोलबजार नगरपालिका ४ बस्ने ४१ वर्षिय दिपक अग्रवाल पनि पक्राउ परेका छन् । कवाडी व्यवसायी रहेका अग्रवालको गोदामबाट चोरी गरिएका २४ मध्ये ७ वटा ब्यट्रि र केही उपकरण बरामद भएको पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक राजेन्द्र धमलाले बताए ।
प्रहरीले चोरीको सामान ओसार पोसारमा प्रयोग गरिएको ना.४ख. ७२४६ नम्बरको ट्रक पनि नियन्त्रणमा लिएको छ ।
अनुसन्धानका क्रममा चोरी भएका अन्य १७ वटा ब्याट्रि तथा केही उपकरण ती समूहले चोर बाटो हुँदै भारत पु¥याई बिक्रि गरेको खुलेको र भारतीय प्रहरी अधिकारीसँग समन्वय गरि खोजिकार्य भइरहेको डिएसपी भुवनेश्वर साहले बताए ।
टेलिकमका कर्मचारी हुँ, उपकरण चेकजाँच गर्न लैजानु पर्छ भन्दै मुख्य अभियुक्त भनिएका राकेश यादवले ट्रकमा लोड गर्न लगाएको र अन्य दुई जनाले सघाएको अनुसन्धानको क्रममा खुलेको डिएसपी साहले बताए ।
घटनाका दिन सो सडकखण्डमा ओहोर दोहर गरेको गाडीहरु बारे सिसि क्यामरामार्फत सोधखोज गर्दा पत्ता लागेको एसपी धमलाले बताए ।
यस्तै मोटरसाइकल लुटपाट तथा चोरी घटनामा संलग्न दुई जनालाई पनि प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका ७ बस्ने २४ वर्षिय नन्दी पासवान र २१ वर्षिय राजकुमार साह छन् ।
उनीहरुको साथबाट प्रहरीले अघिल्लो दिन कुशहा–बेल्ही सडकखण्डमा शम्भुनाथ नगरपालिका ६ बस्ने अनिशकुमार चौधरीलाई कुटपिट गरि लुटिएका स.३प. ९१६९ नम्बरको मोटरसाइकल र केही नगद रुँपैयासमेत बरामद गरेको छ ।
पक्राउ परेका सबैलाई अहिले सप्तरी जिल्ला अदालतबाट १० दिन म्याद थप गरि डाका मुद्दामा आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।