काठमाडौं । माधव वाग्लेले निर्देशन गर्ने भनिएको चलचित्र पारसबाट वाग्ले गत साता बाहिरिए । उनी बाहिरिएपछि त्यो चलचित्र बन्छ कि भन्दैन भन्ने चर्चा सुरु भएको थियो । तर, यो चलचित्र एक महिनाभित्रै छायांकनमा जाने यसका निर्माता भुवन केसीले बताएका छन् ।
पारस छाडेलगत्तै वाग्लेले नयाँ फिल्म हिमानीको घोषणा गरेका छन् । हिमानीको छायांकन आगामी वैशाखबाट सुरु गर्ने तयारीमा वाग्ले जुटेका छन् ।
राजधानीसँगको भेटमा निर्माता अभिनेता भुनवले आफूहरू फिल्म पारसको छायांकन १५ फागुनबाटै सुरु गर्ने तयारीमा रहेको बताएका छन् । अब चलचित्र पारसबाट माधव वाग्ले पूर्ण रूपमा हटेको र पारसको सबै अधिकार सुपर काजल फिल्मसले लिएको पनि उनले बताएका छन् ।
‘यो चलचित्रको निर्देशन जिम्मा माधव वाग्लेले छाड्नुभएपछि हामीले अर्को निर्देशक लगभग चयन गरिसकेका छौं र एकदुई दिनभित्रै निर्देशकको घोषणा पनि हामी गर्दै छौं ।’
यो चलचित्रका लागि आफूहरूले तीन जना नायिका चयन गरिसकेको पनि उनले बताएका छन्, ‘हाललाई हामीले तीन जना नायिका यो चलचित्रका लागि चयन भएका छौं । ती मध्यबाट एक जना यो चलचित्रमा र बाँकी अरू चलचित्रमा राख्नेछौं,’ भुवनका अनुसार यो चलचित्रमा नयाँ नायिका पनि हुन सक्छिन् । अथवा हाल फिल्ममा काम गरिरहेकी नायिका पनि हुन सक्ने उनले बताएका छन् ।
यो चलचित्रका लागि अभिनेता अनमोल यतिबेला फिटनेसको तयारीमा जुटेको पनि भुवनले बताएका छन् । अनमोलको अघिल्लो चलचित्र ‘ए मेरो हजुर–४’ को केही छायांकन बाँकी रहेको र अब लगत्तै बाँकी छायांकन सक्ने पनि भुवनले बताएका छन् । फिल्म ‘ए मेरो हजुर–४’ को छायांकन सकिनासाथ नयाँ फिल्म पारसको छायांकनमा अनमोल अनुबन्धित हुने पनि भुनवले बताएका छन् ।






