मोरङ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले वैसाखमा चुनाव हुन्छकि हुन्न भन्ने दुविधा कसैमा नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले सवै राजनितिक दलहरु विभिन्न वहानामा आफ्ना अभियान जनतामा पुग्ने भावनाका साथ लागिरहेको बताए । ‘सरकारले वैसाख १७ र २७ गते आम निर्वाचनको घोषणा गरेको छ, त्यसका निम्ति सवै अंगहरु परिचालित छन्’उनले भने ‘बाहिर विरोधको कुरा देखाएपनि भित्र निर्वाचन हुन्छ भन्ने कुरामा कसैमा पनि दुविधा छैन ।’
मन्त्री ढकालले २३ गते हुने जनसभाकालागि ठूलो ठाउँ खोज्दा नारायणहिटी अगाडीको स्थान चयन गरिएको बताए । हैसियत अनुसार दलहरुले आ–आफ्नो ठाउँ रोज्ने गरेको भन्दै उनले जनताको नेतृत्व गर्दै सरकारमा रहेको पार्टीलाई भएसम्म ठूलो, फराकिलो ठाउँ चाहिने भएपछि त्यसलाई रोजिएको बताए । आलोचकहरुले समेत विभिन्न अड्कलबाजी गरेर अनेकन भ्रम छरेरै भएपनि जनसहभागिता जुटाउन योगदान पुर्याइरहेको टिप्पणी गरे ।
सुनको जलहरी लगाउने निर्णय पहिल्यै भएको थियो
पशुपतिमा प्रधानमन्त्री केपी शर्मा ओलीले जलहरी लगाउन निर्देशन दिएको गलत प्रचार भएको मन्त्री ढकालको भनाई थियो । ‘पहिलेदेखि नै जलहरी लगाउने निर्णय पशुपति क्षेत्र विकास समितिले गरेको छ’ उनले भने ‘पशुपति क्षेत्र विकास समितिको कोषमा ५० करोड मात्रै रहेकाले जलहरी लगाउन अपुग रकमको व्यवस्था गर्न समितिले गरेको आग्रहलाई प्रधानमन्त्रीज्यूले ३० करोड दिने प्रतिवद्धता ब्यक्त गर्नुभएको हो ।’
उनले सुरुमा तामाको र २०४३ सालमा तत्कालिन राजा विरेन्द्र र रानी ऐश्वर्यले चाँदीको जलप लगाइदिएको स्मरण गराए । उक्त जलहरी धुजाधुजा परेर भक्तजनले चढाएको जल भित्र जाँदा भौतिक संरचनामा असर पर्ने भएपछि त्यसलाई व्यवस्थित गर्न समितिले नयाँ जलहरी सुनको लगाउने निर्णय गरेको थियो । धातुमध्येमै पवित्र मानिने सुनको जलहरी राख्ने विषय सकारात्मक रहेको भन्दै यस विषयमा केहि छलफल हुनुपथ्र्यो भन्ने आवाजलाई पनि सकारात्मक रुपमा नै लिनुपर्ने धारणा राखे ।
अग्नी सापकोटाले लेखेको चिट्ठीको अर्थ छैन
संवैधानिक परिषदले संसदीय सुनुवाइका लागि पठाएको सिफारिस सभामुख अग्नी सापकोटाले फिर्ता गरेको प्रसंगमा उनले सभामुख सापकोटाले व्यक्तिगत रुपमा लेखेर पठाएको चिठिको कुनै महत्व नहुने बताए । त्यो राजनितिक विवाद झिक्न र प्रचारका निम्ति मात्र लेखिएको उनको भनाई थियो । कार्यविधि अनुसार ४५ दिनभित्र सुनुवाही नभएको अवस्थामा सिफारिस भएका व्यक्तिहरु नियूक्ती लिएर आ–आफ्ना काममा खटिने मन्त्री ढकालले बताए । मोरङको सुन्दरहरैचामा प्रदेशस्तरीय सरुवा रोग नियन्त्रण अस्पतालको शिलन्यास गर्न मन्त्री ढकाल विराटनगर आइपुगेका हुन् ।






