प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बुधबारका लागि संवैधानिक परिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजेका लागि बैठक बोलाइएको छ। संवैधानिक निकायमा नियुक्तिको सिफारिस र विविध विषयमा छलफलका लागि भन्दै बैठक बोलाइएको हो ।

निर्वाचन घोषणा भएको अवस्थामा सरकार कामचलाउ भइसकेको र विगतमा गरेको नियुक्तिको सिफारिसमाथि नै प्रश्न उठिरहेका बेला प्रधानमन्त्री ओलीले परिषदको बैठक बोलाएका छन् ।

हिजै मात्रै प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद्द्वारा विभिन्न आयोगमा सिफारिस गरेका नामहरू फिर्ता पठाएका छन् । त्यसमा सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाबीच पनि मतभेद देखिएको छ ।

संवैधानिक परिषद्ले नयाँ अध्यादेशअनुसार बहुमत सदस्यको उपस्थितिमा बैठक बसी मंसिर ३० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न आयोगहरूमा नियुक्तिको सिफारिस गरेको थियो ।

बैठकमा सभामुखबाहेक विपक्षी दलका नेता पनि अनुपस्थित थिए । अध्यादेशलाई लिएर प्रधानमन्त्रीको दलको असन्तुष्ट समूह र प्रमुख विपक्षी दुवैले चर्को विरोध गरिरहेका बेला भएको उक्त निर्णय प्रतिनिधिसभा विघटन भएको दिन मात्रै सार्वजनिक गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 222 times, 1 visits today)

epaper

ताजा समाचार

सुरक्षा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न