काठमाडौं । बिगत एक दुई दशकदेखि बालसाहित्यको प्रकाशन तथा प्रवद्र्धनमा केही उल्लेख्य कार्यहरू हुने थालेको भए पनि किशोर साहित्यमा भने कुनै पनि प्रभावकारी कार्य हुन सकेको छैन । केही संस्थाहरूले किशोर साहित्यसँग सम्बद्ध कार्यक्रमहरू नगरेका भने होइनन् तर निरन्तरता भने पाउन सकेको छैन ।

बालसाहित्य सिर्जना तथा प्रबद्र्धनमा लगभग दुई दशकदेखि सक्रिय रहँदै आएका सर्जक कृष्णदीप सिग्देलले आजभोलि किशोर साहित्यका क्षेत्रमा कार्य गर्न थालेका छन् । उनको हालै मात्र किशोर पाठक (१२ देखि १५ वर्ष उमेर समूह) लक्षित उपन्यास ‘सेकुवा’ प्रकाशित भएको छ । उनी यसै पुस्तकमार्फत किशोर साहित्यको प्रबद्र्धनमा लागेका छन् ।
गएको शुक्रबार ‘कथावाचक समाज’ तथा ‘साङ्ग्रीला बुक्स्’को संयुक्त आयोजना तथा सर्जक सिग्देलको संयोजनमा एक प्रबद्र्धनात्मक कार्यक्रम सम्पन्न भयो । धादिङ जिल्लाको रिचोकटार स्थित बागेश्वरी मावीमा किशोर सहित्यमाथि चर्चा गरियो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ आख्यानकार नयनराज पाण्डेले विद्यालयका किशोर किशोरीमाझ उमेरसम्बद्ध पुस्तकको आवश्यकताका ’boutमा चर्चा गरे भने लेखक सिग्देलले आफ्नो बाल्यकालका अनुभव तथा पढ्ने बानीको विकासका ’boutमा बताए ।

विद्यालयमा नियमित सञ्चालन हुने अतिरिक्त क्रियाकलापअन्तर्गत गरिएको यस कार्यक्रममा कक्षा ९ र १० विद्यार्थीहरूको सिर्जनात्मक लेखनको प्रतियोगिता पनि आयोजना गरिएको थियो । विजयी विद्याथीहरूलाई साङ्ग्रीला बुक्स्का तर्फबाट पुरस्कार वितरण गरिएको थियो भने सहभागी सबै प्रतियोगीलाई एक एक प्रति ‘सेकुवा’ पुस्तक प्रदान गरिएको थियो । सहभागी विद्यार्थीहरूलाई प्रदान गरिएका १०० प्रति पुस्तकहरू अमेरिकाको आयोवा राज्य निवासी श्री याङ्डु शेर्पाको आर्थिक सहयोगमा उपलब्ध गराइएको थियो ।
कार्यक्रममा कथावाचक समाजका सदस्यहरू सुमन महर्जन तथा समन श्रेष्ठको पनि उपस्थिति थियो । यस्तै प्रबद्र्धनात्मक कार्यक्रम आगामी महिना काठमाडौँ, पोखरा तथा कपिलबस्तुमा पनि हुने जानकारी सर्जक सिग्देलले दिए । सर्जक सिग्देल कथावाचक समाजका उपाध्यक्ष हुन् भने साङ्ग्रीला बुक्स्का लागि बालसाहित्यका पुस्तकको संयोजक तथा सम्पादकका रुपमा कार्यरत छन् ।






