कुरो २३ वर्षअघितिर हुनुपर्छ । उमेर त्यस्तै १८–१९ लाग्दै थियो । गितारको हुट्हुटी यस्तरी जागेको थियो कि मानौं, आँधीबेहरी नै आउँदैछ । त्यसो त, त्यो र यो समयमा खासै फरक छैन, संगीत अभियन्ता सीताराम गौतम ‘गुरु’का लागि ।
‘गुरु किन त ?’ सुरुमै सोधिहालें ।
‘गितार सिकाउँदा सिकाउँदै सबैले गुरु भन्न थाले,’ खिस्स हाँस्दै उनले सुनाए, ‘यो सुन्दा आनन्द लाग्न थाल्यो, त्यसैले नामको पुछारमा गुरु झुन्ड्याएँ ।’
सिक्दासिक्दै आफू कुन बेला ‘गुरु’ बनियो ? गौतमलाई खासै हेक्का छैन । कथा रमाइलै छ । विमल राईलाई ‘गुरु’ थपना गरेका गौतम अहिले आफैं ‘गुरु’ बनेका छन् । राईसँग गितार सिक्नै लागि उनी सार्वजनिक गाडी फेर्दैफेर्दै ललितपुर भैसेपाटीबाट काठमाडौं न्यूरोड पुग्थे ।
ठ्याक्कै १८ छुनै लाग्दा ‘गितार मोह’ले च्याट्टै पा-यो । ‘१८ वर्ष उमेर हुँदैदेखि गितार बजाउन थालें,’ अहिले ४४ टेकिसकेका गौतम ‘ङ्खल्यासब्याक’तिर फर्किए, ‘गुरु विमल राईबाट ६ वर्ष प्रशिक्षण लिएँ, गितार सिक्न भनेपछि भैसेपाटीबाट असनसम्म हिँडेरै पनि पुग्ने जोश थियो ।’
गितारको ‘स्ट्रिङ’ टाङटुङ–टाङटुङ गर्नेक्रममै किशोरावस्था अन्तिम फेरोतिर पुगेका गौतमले त्यतिबेला मनमनै प्रतिज्ञा गरे, ‘अब म यसैमा जीवन समर्पण गर्छु ।’ औंला नै भाँचेर गन्ने हो भने उनले बजाउन थालेकै २५ वर्ष भइसकेछ । ‘गितारबाहेक अरु केही पनि सोच्नै सक्दिनँ,’ दुई छोरीका पिता गौतम भन्छन्, ‘बजाउन थालेपछि सबै कुरा भुल्छु, जीवनको आनन्द यसैमा छ ।’
सन् १९९७–२००० बीच गौतमले लन्डनको ट्रिनिटी युनिभर्सिटीबाट गितारमा ‘ग्रेट वेस्टर्न क्लासिकल’ उत्तीर्ण गरे । त्यसपछि उनमा प्राज्ञिक निखारताले अर्को उचाई लियो । ‘लगत्तै गितारसम्बन्धी किताब लेख्ने योजना बनाएँ,’ २०५९ सुरुवाती समय सम्झिँदै गौतमले गाँठी कुरा फुकाए, ‘त्यही वर्ष साउनमा लेख्न सुरु गरेर माघमा किताब सकाएँ ।’
गौतमले लेख्नुअघि गितारसम्बन्धी किताब भारतबाट आयात हुन्थ्यो । तिनै किताबले नेपालमा एकछत्र राज गरेको समय उनको मानसपटलमा ताजै छ । आफ्नो ‘इजी गितार गाइड’ प्रकाशनपछि भारतबाट आउनै बन्द भएको दाबी गर्छन्, गौतम ।
‘गितार पुस्तक निकाल्ने पनि नेपालमा म नै पहिलो व्यक्ति हुँला,’ प्रथम संस्करण हजारप्रति निकालेको बताउनेक्रममा उनी उत्साहित सुनिए, ‘हातहातै बिक्री भयो, बजारमा मेरो किताबको माग ह्वात्तै बढ्यो ।’ परिमार्जनसहित १०औं संस्करणसम्म आइपुग्दा ‘इजी गितार गाइड’ अहिलेसम्म ३० हजारप्रति बिक्री भइसकेको गौतमसँग आँकडा छ ।
पहिलोसमेत गरी गितारलाई नै लिएर उनले पाँच वटा किताब लेखिसके । पटकैपिच्छे परिमार्जन गर्दै पनि आएका छन् । ‘सबै किताब गरी एकलाख प्रति बिक्री भइसकेको छ,’ प्रकाशित सबै कृतिको ‘प्रतिलिपि अधिकार’ आफैंसँग राखेका गौतम मख्ख देखिए, अनि थपे, ‘इजी गितार गाइडबाहेका अरु किताब बेसिकदेखि एडभान्ससम्मका हुन् । अहिलेसम्म जतिले
किताब पढेका छन्, सबैले सकारात्मक प्रतिक्रिया दिएका छन् ।’
पहिलोसमेत गरी गितारलाई नै लिएर उनले पाँच वटा किताब लेखिसके । पटकैपिच्छे परिमार्जन गर्दै पनि आएका छन् । सबैगरी एकलाख प्रति बिक्री भइसक्यो । ‘प्रतिलिपि अधिकार’ आफैंसँग राखेका छन्
सिकाइको आधा पाटोतिर पुग्दैगर्दा ‘गितार गुरु’ गौतमलाई एउटै कुराले चिथोरिरहेको छ, ‘केही फरक तर समाजहितको काम गर्न सकूँ ।’ कोरोनाकालमा
‘लकडाउन’ नभइदिएको भए आफ्नो यात्रा धेरै फराकिलो भइसक्ने उनी बारम्बार सोचिरहन्छन् ।
‘त्यसो त, मलाई मात्रै हैन, कोरोनाले विश्वलाई नै बाधा पारेको छ,’ कोभिड–१९ केही साम्य भइरहेको फेरोसँगै अभियान डोहो-याउन थालेका उनी भन्छन्,
‘कोरोना साम्य हुँदैगर्दा मेरो अभियानले फेरि गति लिन थालेको छ ।’ अब भने ‘संगीत स्वयंसेवक’का रूपमा ढुक्कले अघि बढ्न पाउने आशा पलाएको छ, उनमा ।
२०७६ वैशाखमा भैसेपाटीबाट ६३ किलोमिटर टाढा गिम्दी कटुवास्थित जनक माविबाट सुरु ‘संगीत सेवा’ गौतमको अभियान यात्राका लागि ऊर्जा बन्न पुग्यो । ‘त्यो विद्यालयमा दुई सय विद्यार्थीलाई गितार सिकाएँ,’ हप्ता दिनसम्म सोही विद्यालयमै बसेर प्रशिक्षण दिएर फर्केका गौतम सम्झन्छन्, ‘७ देखि १० कक्षासम्मका विद्यार्थी थिए, उनीहरूले धेरै राम्रो गरिरहेको जानकारीमा आएको छ ।’
‘सुरुमात्र गर्नुपर्छ, यात्रा आफैं तय हुन्छ’ गौतमको सवालमा यही लागू हुन पुग्यो । अहिलेलाई दक्षिण ललितपुरकेन्द्रित अभियान देश दौडाहमा लैजाने योजना बुनेका छन्, उनले ।
‘सुगमभन्दा पनि मेरो उद्देश्य दुर्गम हो,’ ललितपुरको ‘कर्णाली’ भनिने दक्षिण ललितपुरकाट झन्डै दस विद्यालयमा पुगेर ‘गितार प्रशिक्षण’ दिइसकेका गौतमले भावी योजना सुनाउन भुलेनन्, ‘देशको कुनाकाप्चीसम्म पुग्नेछु ।’
कुनै माध्यम वा प्रत्यक्षै पनि ‘प्रशिक्षण प्रस्ताव’ विद्यालयसम्म पुग्छ । विद्यालयले खाने–बस्ने व्यवस्थामात्रै गरिदिए गौतम हप्ता दिन बसेर पनि गितार सिकाउन तयार भइहाल्छन् । ‘गितार नभएको विद्यालयमा किनेरै लगिदिएको पनि छु,’ एकल प्रयासमै खटिरहेका गौतमले भने, ‘गितार भएपछि त सिक्ने हो नि, त्यही छैन भने आज सिकेको भोलि नै बिर्सन्छ ।’
अहिलेसम्म सहकार्य गरेका विद्यालयले पनि राम्रै साथ दिएको उनको अनुभव छ । ‘आगामी दिन पनि यसरी नै साथ र सहयोगको पाउने अपेक्षा राखेको छु,’ भैसेपाटीस्थित आफ्नै घरमा ट्रिनिटी म्युजिक टे«निङ सेन्टरसमेत सञ्चालन गरिरहेका गौतम थप्छन्, ‘सहयोगी हातहरू आइरहेका छन्, तर अब संस्थागत रूपमा अघि बढ्ने योजना बनाएको छु ।’