काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि निर्वाचन अपरिहार्य भएको बताएका छन् । उनले सर्वोच्च अदालतले निर्वाचनको पक्षमा फैसला गरेर राजनीतिक अस्थिरतालाई होइन, राजनीतिक स्थिरताको वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे । उनले कुनै प्रकारको षड्यन्त्र तिकडम केहि भएर देश र जनताको विरुद्ध फैसला भए आन्दोलनमा गएर त्यस्तो शक्तिलाई हराउने अभिव्यक्ति दिएका छन् ।
शनिबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद पुर्नस्थापना भए सरकार बनाउने र ढाल्ने खेल हुने र लोकतन्त्र कमजोर बन्ने बताउँदै भने,‘सम्मानीत अदाललते देशभर भएको सभालाई हेरेकै होला, सभामा प्रकट भएका जनताको अभिमत हरेको होला ।’ उनले सर्वाेच्च अदाललले संविधानको मर्म र भावना हेरेको होला भन्दै संसद पुर्नस्थापना गर्दा देश दुर्घटनामा जाने दावी गरे ।
‘प्रतिनिधिसभा विघटन संवैधानिक हो र देशलाई अस्थिरतामा लैजाने गरी अदालतले अन्यथा फैसला गर्दैन,’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले अब संसद् पुनः स्थापना भएमा बहुमतको सरकार नहुने र अस्थिरता सिर्जना हुने बताए ।
प्रधानमन्त्रीले आफ्नो सरकारले धेरै कामगर्न खोज्दा पार्टीभित्रैबाट र संसद्बाट असहयोग भएकाले ताजा जनादेशमा जानुपरेको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले गुमेको भूभाग फिर्ता ल्याउन नक्सा प्रकाशन गरेकै दिनदेखि पार्टीभित्रबाट प्रधानमन्त्री हटाउन खोज्नु दुर्भाग्यपुर्ण भएको बताए ।
कार्यक्रममा बोल्दै प्रधाननमन्त्री ओलीले विप्पलव समूहलाई अब छिटै वार्तामा ल्याइने बताए । ओलीले देशभर चुनावको पक्षमा उर्लिएका जनता अदालतले देखेकै होला भन्दै जनअपेक्षाविपरीत अदालतको फैसला आए पार्टीले निरन्तर आन्दोलन अघि बढाउँदै सबैखाले अवरोध चिर्ने बताए । उनले अदालतले जनभावनाविपरीत गएर फैसला नगर्नेमा आफू विश्वस्त रहेको पनिस्पष्ट पारे । उनले सरकारले तोकेको समयमा चुनाव हुने भन्दै प्रचण्ड–माधव समूहका नेतालाई जनताको ताजा जनादेश लिएर प्रधानमन्त्री बनेर देखाउन पनि चेतावनी दिए ।
कार्यक्रममा बोल्दै गृहमन्त्री रामबहादुर थापा बादलले पार्टीकै आन्तरिक पंक्तिबाट देशलाई अस्थिरतातर्फ लैजाने षड्यन्त्र रचिएकाले त्यसलाई असफल पारिने बताए । वर्तमान परिस्थितिबाट प्रतिगमनकारीहरू उत्साहित भएको र नेकपाका केही अवसरवादी तŒव र प्रतिगनमकारीको साँठगाँठ रहेको उनले बताए ।
नेकपा स्थायी कमिटी सदस्यतथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले जनताको चाहनाअनुसार नै सर्वोच्च अदालतले निर्वाचनको पक्षमा फैसला दिने बताए । उनले पनि पार्टीको आधिकारिकता पहिलो अध्यक्ष ओलीसँगै रहने बताए ।






