काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी सीमा संशोधन गर्दै दोब्बर बनाएपछि कारोबारमा सहजता हुने भएको छ । बैंकिङ कारोबारमा सीमितता रहँदा कारोबार गर्न व्यवसायीलाई समस्या पर्दै आएको थियो ।
केन्द्रीय बैंकले बुधबार बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ (मर्चेन्ट पेमेन्ट र एकाउन्ट ट्रान्सफर)को अधिकतम सीमा दोब्बर गरेको हो ।
१० लाख बढी नगद कारोबारमा कडाइ गरेको राष्ट्र बैंकले विद्युतीय माध्यममा पनि अधिकतम १० लाख मात्र गर्दा व्यापारीलाई भुक्तानी दिन असहज हुँदै आएको थियो ।
विद्युतीय कारोबारलाई अझ सहज बनाउन र व्यवसायीलाई भुक्तानी कार्य सहज बनाउन इन्टरनेट बैंकिङबाट पैसा ट्रान्सफर गर्दा अधिकतम २० लाख रुपैयाँसम्म ट्रान्सफर गर्न सकिने भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार अब मोबाइल बैंकिङबाट प्रतिदिन २ लाख, मर्चेन्ट पेमेन्ट २० लाख र एकाउन्ट ट्रान्सफर २० लाख रुपैयाँको अधिकतम सीमा कायम गरिएको छ ।
अब मोबाइल बैंकिङबाट प्रतिदिन २ लाख, मर्चेन्ट पेमेन्ट २० लाख र एकाउन्ट ट्रान्सफर २० लाख रुपैयाँको अधिकतम सीमा कायम गरिएको छ ।
तर, कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकम रकमान्तर गर्दा भने यो व्यवस्था लागू नहुने राष्ट्र बैंकले जनाएको छ । आफ्नै नामको खातामा सीमितता नरहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
नेपाल सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिमाना, सवारी दस्तुर, रजिस्ट्रेसन तथा सेवा शुल्कलगायतका शुल्क भुक्तानी गर्न पनि रोक नलाग्ने बताइएको छ ।
यसैगरी, विद्युत्, दूरसञ्चार, खानेपानी, बिमा प्रिमियम, सामाजिक सुरक्षा भत्ताको भुक्तानी गर्न पनि सीमा तोकिएको छैन । त्यस्तै, शिक्षण संस्था, स्वास्थ्य संस्था (अस्पताल-नर्सिङ होम र डाइगोनस्टिक सेन्टर), हवाई सेवा, यातायात र होटल तथा रेस्टुरेन्ट कारोबारमा पनि सीमा लगाइएको छैन ।
धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्राप्त धितोपत्र दलालसँग धितोपत्रको कारोबारबापत तोकिएको बैंक खातामा रकमको भुक्तानी गर्न पनि सीमा नतोकिएको केन्द्रीय बैंकले परिपत्रमा उल्लेख गरेको छ ।
राष्ट्र बैंकले यसअघि २०७७ भदौमा विद्युतीय भुक्तानीको सीमा संशोधन गरेको थियो । राष्ट्र बैंकले एजेन्ट वा सब–एजेन्टबाट वालेटमा प्रतिदिन २५ हजार रुपैयाँ र प्रतिमहिना १ लाख रुपैयाँ सीमा तोकेको थियो ।
बैंक खाताबाट वालेटमा, वालेटबाट अन्य बैंक खातामा वा एक वालेटबाट अर्को वालेटमा भुक्तानी गर्दा प्रतिकारोबार २५ हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँ र प्रतिमहिना ४ लाख रुपैयाँको सीमा राष्ट्र बैंकले तोकेको थियो ।
राष्ट्र बैंकले सो बेलाको भुक्तानीसम्बन्धी एकीकृत निर्देशनलाई संशोधन गरेपछि हाल कायम गरेको मोबाइल बैंकिङको सीमा प्रतिदिन १ लाख रुपैयाँबाट बढाएर २ लाख पुगेको छ । इन्टरनेट बैंकिङमध्ये मर्चेन्ट ट्रान्सफर र अकाउन्ट ट्रान्सफरको हाल कायम रहेको १० लाखको कारोबारको सीमा बढाएर २० लाख पुगेको छ ।