किसानलाई नसमेटेको भन्दै प्रदेश प्रमुख झाले फिर्ता गरे दुई अध्यादेश

जनकपुरधाम । प्रदेश २ सरकारबाट पेश भएका दुई अध्यादेश प्रदेश प्रमुख राजेश झा अहिराजले फिर्ता गरिदिएका छन् । प्रदेश सरकारले प्रमाणीकरणका लागि स्वास्थ्य सम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरेको थियो ।

सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सम्बन्धी व्यवस्थापन गर्न बनाएको विधेयक सांसदबाट पारित गराएर प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो । तर, सो विधेयकमा मातृत्व सुरक्षा लगायतका विषय वस्तुहरु नसमेटिएको भन्दै आवश्यक सुझाव सहित परिमार्जन गरेर ल्याउन भन्दै प्रदेश प्रमुखले फिर्ता गरिदिएका हुन् ।

त्यसैगरी प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश प्रमुखको कार्यालयमा पठाइएको थियो । सो विधेयकमा किसान लगायतकाहरुलाई पदक दिने व्यवस्था नगरिएको भन्दै सुझाव सहित प्रदेश सभालाई विधेयक फिर्ता पठाइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेशभित्र विशिष्ठ योगदान दिने व्यक्तिहरुलाई सम्मान गर्नका लागि प्रदेश सरकारले पदक प्रदान गर्ने सम्बन्धमा कानुनी व्यवस्था गर्नको लागि विधेयक निर्माण गरेको थियो । सरकारले यसै चालु आर्थिक वर्षमा पदक वितरणको लागि करिब १० लाख रुपैयाँ पनि विनियोजन गरिसकेको छ । विधेयकमा प्रदेश स्थापना पूर्व नै नाम घोषणा गरी स्थापनाको दिन फागुन ३ गते पदक दिने गरी विधेयक प्रदेशसभाबाट पारित गराएको थियो ।

सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रमाणीकरणको लागि पठाइएको विधेयक प्रदेश प्रमुखले सुझाव सहित बढीमा दुई पटक मात्रै फिर्ता गर्न सक्ने प्रतिक्रिया दिए । उनले भने, ‘मैले फिर्ता गरिएको विधेयकको विषयमा जानकारी लिइसकेको छैन, के सुझाव दिएर पठाएको हो वा दुःख दिने कामले मात्रै फिर्ता पठाएको हो भन्ने कुरा हेरेर बताउँछु ।’

प्रदेश २ मा प्रदेशसभाबाट हालसम्म ३९ वटा विधेयक प्रमाणीकरण भएको छ । प्रमाणीकरणसँगै ऐन बनेपनि अधिकांश ऐन संघीय ऐनको अभावमा कार्यान्वयन हुन सकेको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 400 times, 1 visits today)

epaper

ताजा समाचार

९ औं राष्ट्रिय समावेशी म्युजिक अवार्डमा स्रष्टा सम्मानित