अध्यक्ष नहुँदा रोकियो विकास बोर्डको काम

काठमाडौं । चलचित्र विकास बोर्डमा नयाँ अध्यक्ष नियुक्त नगर्दा चलचित्रको नीतिगत कार्य सबै ठप्प भएको छ । बोर्डको अध्यक्ष केशव भट्टराईको गत २९ मंसिरमा निधन भएको थियो ।  निधनपछि विगत अढाइ महिनादेखि बोर्ड रिक्त छ ।

बोर्ड अध्यक्षको निधनपछि कार्यवाहक जिम्मेवारी अरूलाई नदिइएको र नयाँ बोर्ड अध्यक्ष तत्काल आउने छाँटकाँट नदेखिएकाले चलचित्रको काम कारबाही रोकिएको सिनेकर्मीको कथन छ ।

अध्यक्षको नहुँदा अढाइ महिनादेखि बोर्ड बैठक बस्न नसकेकाले कुनै पनि काम हुन नसकेको बोर्ड सदस्य दयाराम दाहालले बताए,‘अध्यक्ष केशव भट्टराईको निधनपछि बोर्ड बैठक बसेको छैन । चलचित्र सेन्सर, सिफारिसजस्ता नियमित कार्यबाहेक यसअघि तय भएका सबै वार्षिक कार्यक्रम रोकिएको छ ।’ सदस्य दाहालले राजधानीसँग भने ।

बोर्डको वार्षिक क्यालेन्डरमा तय भएको कार्यक्रम रोकिएपछि कर्मचारी पनि बोर्डमा कार्यबिहिन भएका छन् । बोर्डमा आउने चलचित्रको नाम दर्ता, सेन्सर रिफारिसबाहेक अरू काम नभएको बोर्डका कर्मचारीले बताएका छन् ।

चलचित्र विकास बोर्डको यो वर्षको क्यालेन्डरअनुसार दोलखाको डाङडुङ डाँडामा निर्माण गर्ने भनिएको आउटडोर सुटिङ स्टुडियोको प्रारम्भिक पूर्वाधार निर्माण सुरु गर्नु पर्ने, इन्डोर सुटिङका लागि गत वर्ष नै बजेट छुट्याइएकाले जग्गा लिएर इन्डोर सुटिङ स्टुडियोको निर्माण कार्य सुरु गर्नुपर्ने, ब्रिटिस काउन्सिलसँग मिलेर चलचित्र लाइब्रेरी तथा संग्रहालयको भवन निर्माण सुरु गर्नुपर्ने थियो । यस्तै, राष्ट्रिय चलचित्र महोत्सव तराई क्षेत्रमा गर्नुपर्ने, राष्ट्रिय चलचित्र ऐनलाई संसद्बाट पारित गराएर कानुनका रूपमा ल्याउनुपर्ने, देशभरका सिनेमा हलमा बक्स अफिस प्रणाली जडान सकेर त्यसलाई कार्यान्वयनमा ल्याउनुपर्ने कार्य पनि वार्षिक क्यालेन्डरमा थियो ।

यस्तै, त्रिभुवन विश्व विद्यालयसँग मिलेर चलचित्रसम्बन्धी स्नातक तहको अध्ययनको पाठ्यसामग्री परिमार्जनसहित तयार गर्नुपर्ने, मुलुकका करिब एक दर्जन नगरपालिकाका जीर्ण सिनेमा हललाई सञ्चालकसँग सहकार्य गरेर पुनः निर्माणसहित सुविधा सम्पन्न रूपमा सञ्चालनमा ल्याउन सहयोग गर्नुपर्नेजस्ता कार्यक्रम पनि वार्षिक क्यालेन्डरमै थियो ।

यी सबै कार्यहरू केशव भट्टराईको अध्यक्षतामा यो आर्थिक वर्षका लागि क्यालेन्डरमा राखिएको थियो । अध्यक्ष भट्टराईको निधनपछि बोर्डको सञ्चालक समितिको बैठक बस्न नसकेको र बोर्डको नीतिगतसहित यी सबै कार्यहरू रोकिएको त्यहाँका कर्मचारीको कथन छ ।

सूचना प्रविधि तथा सञ्चार मान्त्री पदबाट गोकुल बाँस्कोटाले गत साता राजीनामा दिएपछि अहिले सञ्चार मान्त्रालयको जिम्मेवारी अर्थमन्त्री युवराज खतिवडालाई दिइएको छ । अब वर्तमान सरकारले नयाँ सूचना प्रविधि तथा सञ्चारमन्त्री नियुक्त गरेपछि चलचित्र विकास बोर्डले पूर्णता पाउने विश्वास चलचित्रकर्मीको छ । तर, त्यसको लागि अझै केही समय लाग्ने भएकाले चलचित्र विकास बोर्डका हुने धेरै कामहरू अझै केही समय रोकिने चिन्ता चलचित्रकर्मीले व्यक्त गरेका छन् ।यतिबेला चलचित्र विकास बोर्डमा अध्यक्षसहित एक जना बोर्ड सदस्यको पद पनि खाली रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 263 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शेरको सवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हमाल ७ हजार मतले अगाडी