काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअन्तर्गत आफ्ना बाँकी खेल दशरथ रंगशालामा खेल्ने भनिए पनि कोरोना संक्रमणका कारण अब तीनै कुवेतमा खेल्ने भएको छ ।
कोभिड १९ कै कारण पटक–पटक सर्दै आएको विश्वकप छनोटका विषयमा एसियाली फुटबल महासंघ (एएफसी)ले शुक्रबार सेन्ट्रल भेन्यु तोकेको छ । विश्वकप र एएफसी एसियन कपसमेतको छनोट रहेको खेलको तालिका मे ३१ देखि जुन १५ (२०७८ जेठ १७ देखि असार १ गते)सम्मका लागि तय भएको एएफसीले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।
विश्वकप छनोटमा नेपालसँगै समूह ‘बी’मा कुवेत, अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेइ रहेका छन् । नेपालले कुवेतसँग दुवै खेल खेलिसकेको छ । बाँकी टोलीसँग अवे खेल खेलेको थियो । यसै वर्षको असोजका लागि तय छनोट खेल कोभिड–१९ कारण चैतका लागि सारिएको थियो । चैतमा हुने भनिएको खेल पनि पछि नहुने भन्दै एएफसीले नयाँ मिति र सेन्ट्रल भेन्यु तय गरेको हो । नेपालले छनोटका पाँचमध्ये ४ खेलमा हार र १ खेलमा जित हासिल गरेको थियो ।
चाइनिज ताइपेलाई २–० ले हराएको नेपालले कुवेतसँग पहिलो लेगमा ७–० र दोस्रोमा १–०, अस्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० ले पराजित भएको थियो । दशरथ रंगशाला तयार नभएका कारण नेपाल र कुवेतबीचको दोस्रो खेल भुटानमा भएको थियो । विश्वकप छनोटका लागि एएफसीले समूह ‘ए’को खेल चीन ‘सी’ को बहराइन, समूह ‘डी’ को साउदी अरेबिया, समूह ‘इ’को कतार, समूह ‘एफ’ को जापान, समूह ‘जी’को यूएई र समूह ‘एच’को दक्षिण कोरियाका लागि सेन्ट्रल भेन्यु तय भएको छ ।






