भृकुटी मण्डपमा नेपथ्य साँझ


काठमाडौं । शनिबार बेलुकीको ठीक पाँच बजेदेखि मञ्चको पृष्ठ भागमा घडीको संकेत देखिन सुरुभएको थियो। त्यतिबेलै बाहिर प्रदर्शनीमार्गमा दर्शकहरुको चहलपहल बढ्दै गएको देखिन्थ्याे ।

केहि अन्तरालपछि भृकुटी मण्डपको बगैँचामा काठमाडौंका दर्शकहरुसँग साक्षात्कार गर्न उभिएको लोक रक ब्याण्ड नेपथ्यले निर्धारितसमय अनुसारै ठीक छ बज्ने बित्तिकै मञ्चमा पाइला राख्यो। सुरुको प्रस्तुतीब्याण्डकै पहिलो रेकर्डेड गीत थियो–

‘आँगनै भरि हिउँ नै झरे
आरु फूल है टिपि राखे है’

नेपथ्यका स्थापनाकालीन सदस्यहरु र ब्याण्डकै प्रारम्भिक दिनहरुको झल्को प्रस्तुत भएको उक्त गीतसँगै मुख्य गायक तथा अगुवा अमृत गुरुङलेएकपछि अर्को सर्वकालीक हिट गीतहरु सुनाउँदै गए।

‘भुकम्पले भत्काइ दिएको दोलखाको सरकारी स्कुल पुननिर्माणका निम्ति आयोजना भएको यो कार्यक्रममा तपाइँहरुको मनकारी सहभागीताको निम्ति नेपथ्यको तर्फबाट हार्दिक धन्यवाद ब्यक्त गर्दछु,’ अमृतले भने, ‘देसका धेरै वालवालिकाहरु अहिले पनि शिक्षाबाट बन्चित छन्। हामी सबै मिलेर सबैलाई शिक्षित बनाउन हातेमालो गरम् है।’
अमृतले उनको परिचित शैलीमै पछिल्लो ‘है’लाई लेघ्रो तानेर चिच्याउँदा भृकुटीमण्डपको बगैँचामा उपस्थित हजारौं दर्शकले पनि उसैगरि उनलाई साथ दिएका थिए।

कन्सर्टमा काठमाडौंका दर्शकहरुलाई अमृतले पहिलोपटक ब्याण्डको ‘नैना ताल’ गीत सुनाएका थिए।
लडाइका निम्ति विदेशिएका लाहुरेहरुले रमाइलो गर्ने बेलामा गाउँदै आएको यो गीतअमृतले उनको मामाबाट सुनेका थिए। त्यसैलाई परिमार्जनसहित नेपथ्यले आफ्नोपछिल्लो अल्बममा समावेश गरेको छ। गीतको बोलले भन्छ–

‘नैना ताल नैना ताल
घुमिआयो रेल
आँखामा लाउने कालो गाजल
बुलबुलेमा तेल
नैनाताल’

झमझमी नाच्ने भाकामा तयार भएको यो गीत सुनाएपछि अमृत केहिबेर मुलुकको परिस्थितीलाई लिएर राजधानीका दर्शकहरुसँग बात मार्न इच्छुक देखिए।

‘हाम्रा अगुवाहरुलाई धेरै गरेँ झैँ लाग्छ होला तर देसको हालत सबैतिर लथालिंग देखिन्छ है,’ फुर्सदको समय प्रायः मुलुकका विभिन्न भाग पैदलै डुलिहिँड्ने उनले थपे, ‘हामी सबैले गाउँ, सहर, टोलका नेतृत्व वर्गलाई सच्चिने सुझाव दिउँ है। नसच्चिए समय र सचेत जनताले कसैलाई पनि छुट दिने छैन। सबै मिलेर जिम्मेवारहरुलाई सच्चिनुहोस् भनम् ह…ई’
त्यसपछि फेरि ब्याण्डका नयाँ पुराना गीतहरुको श्रृंखला चलेको थियो। सँधै झैँ यसपाला पनि ‘छेक्यो छेक्यो’, ‘रेश्शम’, ‘भेँडाको ऊनजस्तो’, ‘जोमसोमे बजार’, ‘उडायो रेलै ले’हुँदै पछिल्लो समय जताततै बज्दै आएको ‘तालको पानी’ सम्म गाएर सुनाइएकोथियो।

कार्यक्रममा अमृतले पैदल यात्राका क्रममा फेलापरेका तथा तयार पारिएका कतिपय गीत पनि गाएर सुनाएका थिए। त्यसैबेला उनले दर्शकहरुलाई नेपाल घुम्ने सुझाव पनि दिए।

‘तपाईलाई नेपालको माया लाग्छ भने सबैतिर प्रेम फैलाउँदै आफ्नो देस घुम्न नछाड्नु होला,’ उनले भने, ‘अहिले धेरैतिर बाटो, पुल बनेका छन् त्यसैले घुम्न पहिले जस्तो गाह्रो छैन।’

तराइमा पहेलैँ तोरी, उत्तरमा सेतै हिमाललाई पहिले नेपालीहरु आफैँले घुमेर चर्चा गर्ने हो भने बल्ल संसारभरबाट अरु पनि घुम्न आउने जानकारी उनले दर्शकलाई दिए।

भूकम्पले भत्किएपछि अहिलेसम्मै निर्माणाधिन अवस्थामा रहेको दोलखाको भिमेश्वरनगरपालिका–२ स्थित राजकुलेश्वर निम्न माध्यमिक विद्यालयको सहयोगार्थ ‘हेल्पनेपाल नेटवर्क’सँग मिलेर यो कन्सर्ट आयोजना गरिएको थियो। उद्देश्य अनुसारै कन्सर्टलाई ‘शिक्षाको लागि संगीत’ नाम दिइएको थियो।

२०७२ सालको विनाशकारी महाभुकम्पका बेला नेपथ्य ब्याण्डले प्रधानमन्त्री राहतकोषमा दुईपटक गरेर सोझै दस लाख रुपैयाँ र विदेशका केहि कन्सर्टहरुबाट उठेको रकम समेत उतैबाट समर्पित गरेर झण्डै चालिस लाख रुपैयाँको योगदान दिएको थियो । त्यसैको निरन्तरता यो कन्सर्ट पनि भएको जानकारी ब्याण्डको व्यवस्थापन गर्दै आएका किरणकृष्ण श्रेष्ठले दिएका छन्।

ब्याण्डले भुकम्प लगत्तै अष्ट्रेलियाको मेलबर्न, जापानको टोकियो र संयुक्त अरब इमिरेट्सको दुबइमा आयोजित कन्सर्टबाट उठेको रकमलाई भुकम्प पीडितहरुकै सहयोगार्थ समर्पित गरेको थियो।

‘यो कन्सर्टबाट उठेको रकमले अब दोलखाका स साना स्कुले नानीहरुले पढ्ने ठाउँमा छानो पाउने भएका छन्,’ हेल्प नेपाल नेटवर्कका निर्देशक रोशेन्द्रध्वज खड्काले भने, ‘संगीतलाई यसरी लोक कल्याणकारी कार्यसँग जोड्न पाएकोमा असाध्यै खुशी लागेको छ।’

पूर्णतया स्वयंसेवाको भावले चलेको ‘हेल्प नेपाल नेटवर्क’ नेपालकै वृहद्मध्येको परोपकारी संस्था हो। मुलुककोग्रामीण भेगमा स्वास्थ्य, शिक्षा र दैवीप्रकोपका क्षेत्रमा यस संस्थाले आफूलाई संलग्न गराउँदै आएको छ।

तपाइको प्रतिक्रिया
(Visited 179 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकीयस्थल घोडेपानी-पुनहिलमा साइकल मार्ग