खोटाङ । त्रि–धार्मिकस्थल हलेसीक्षेत्रमा थप १३ स्थानमा सीसी क्यामेरा जडान गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको धार्मिक तथा पर्यटकीय स्थल हलेसीलाई सुरक्षित गन्तव्यस्थलका रुपमा बिकास गर्नका लागि पुःन थप १३ थानमा सिसि क्यामेरा जडान गरिएको हो ।
अपराधिक क्रियाकलाप नियन्त्रण गर्दै हलेसी मन्दिर क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने लक्ष्यका साथ हलेसी तुवाचुङ नगरपालिका, हलेसी महादेवस्थान विकास समिति र हलेसी मन्दिर व्यवस्थापन समितिको संयुक्त १५ लाख खर्चमा सिसि क्यामेरा जडान गरिएको हो । हलेसी मन्दिरको शान्ति सुरक्षाका लागि दुई वर्ष अघि जडान गरिएको ७ वटा सिसि क्यामेरा प्रभावकारी देखिएपछि हलेसी गुफा, हलेसी परिषर तथा हलेसीबजार क्षेत्रमा सिसि क्यामेरा जडान गरिएको मेयर ईवन राईले बताए ।
मेयर राईले भने ‘हलेसी मन्दिरको संवेदनसिल क्षेत्रमा पहिल्यै सिसि क्यामेरा राखेका थियौँ । जसको सहयोगमा हामीले दुई लाख पैसा र एक तोला सुन भेटेर सम्वन्धित व्यक्तीलाई फिर्ता दिन सफल भयौँ । भुलवस भिडभाडमा हराएका ज्येष्ठ नागरिक र बालबच्चा खोजेर आफन्तको जिम्मा लगाउन पनि सिसि क्यामेरा सहयोगी बनेको छ,’ ‘हलेसीमा चढाइएका भेटीको पारदर्शीता कायम गर्न र शान्ति सुरक्षा कायम गर्न सिसि क्यामेरा फलदायी भएको हाम्रो अनुभव छ ।’
हलेसी गुफाभित्रको महादेवथान, पर्वतीथान, बसाहाथान, मन्दिर प्रवेश द्धार, सूचना केन्द्र, रिट्ठाबोटे, साल्पा बैंक चोक, हलेसी भिलेज होटल क्षेत्र, ट्राफिक चोक, ग्यारेज, डाँडाबजार लगायतका स्थानमा सिसि क्यामेरा जडान गरिएको छ । हलेसी आउने पर्यटक तथा दर्शनार्थीले चढाएका भेटी र गहनाको निगरानीमा समेत सिसि क्यामेरा उपयोगी बनेको नगरपालिकाले जनाएको छ ।






