सिन्धुपाल्चोक । आफ्नो जीवनको कल्कलाउदो उमेर देश र जनताको निम्त सुम्पेका सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१० कार्कीटारका तिलकबहादुर बस्नेतसँग अहिले ति पुराना जोश जाँगर कति पनि छैन । र पनि आफुले संगठनमा बिताएको १९ वर्षको यादहरु झल्झली आइरहेको छ । वृद्धा उमेर अनि लौरोको साहारमा आफ्नो संगठनले बोलाए पनि भुपु सैनिक सम्मेलनमा सहभागी हुन आएका बस्नेतले त्यहाँ ‘फौजी अनुशासन’ भने स्वास्थ्यले साथ नदिएपनि पुरा गरे ।
उमेरले आफुभन्दा कम भएपनि सेनामा बस्दा पालना गरेका अनुशासन उनले देखाए र आफुभन्दा उच्च पदका नेपाली सेनाका प्रमुखहरुलाई तनक्क तन्केर ‘सलाम सर’ भन्दै हिजो सिकेको अनुशासन वृद्धा हुदा पनि बस्नेतले पुरा गरे ।

कुञ्चकका नेत्रबहादुर भारतीले पनि १७ वर्षको उमेरमा नेपाली सेनामा प्रवेश गरेका थिए । आफ्नो जीवनको उर्वर समय सेनामा बिताएका भारतीले २० वर्ष नेपाली सेनामा रहेर देश र जनताको लागि काम गरे । तत्कालिन कालिबक्स गणबाट सेनाको जागिर सुरुवात गरेका भारती अहिले ७० वर्षका भए । उनी पनि आफन्तको साहारमा नेपाली सेनाले आयोजना गरेको पुर्व सैनिक सम्मेलनमा सहभागी हुन आएका थिए । ‘२० वर्ष यो संगठनमा बिताएँ, अहिले पनि त्यही संगठनमा गरेको योगदानले दैनिक गुजारा चलाउन सकिएको छ ।’ भारतीले भने ‘आफ्नो संगठनले यसरी बेला बेलामा बोलाउदा औधी खुसी लाग्दो रहेछ ’

नेपाली सेनाले हरेक तीन तीन वर्षमा गर्ने भुपु सैनिक सम्मेलन यो वर्ष पनि सदरमुकाम चौतारामा रहेको गोरखबक्स गणमा आयोजना गरेको थियो । भुपु सैनिक सम्मेलनमा जिल्लाका दुइ सय बढी पुर्व सैनिकहरु सहभागी भएका थिए । हिजो युवा उमेरमा सेनामा प्रवेश गरेकाहरु अहिले वृद्धा भइसकेका छन् तर वृद्धा हुदा पनि पुर्व सैनिकहरुमा हिजो सेनामा बस्दाको अनुशासन अहिले पनि देख्न सकिन्थ्यो । पुर्व सैनिक सम्मेलनमा सहभागीहरुले विगतका तितामिठा क्षणहरु सम्झिदै एक आपसामा साटासाट गर्दा पुर्व मात्रै होइन अहिलेका नेपाली सेनाका जवान तथा अधिकृतहरु पनि चासो मानिरहेका थिए ।

माओवादी सशस्त्र युद्धमा आफुना श्रीमान गुमाएकाहरु पनि पुर्व सैनिक सम्मेलनमा सहभागी थिए । देश र जनताको लड्दा लड्दै मृत्युवरण गरेका आफ्ना श्रीमानलाई सम्झेर धेरै पुर्व सैनिकका श्रीमतीहरु भक्कानिएका थिए । ‘उहाँ हुनुहुन्न तर उहाँले गर्नुभएको योगदानले अहिले पनि घर खर्च चलाउन समस्या छैन ।’ पुर्व सैनिकका श्रीमती पदमकुमारी कार्कीले भनिन । ‘मलाई अहिले मासिक ११ हजार आउँछ,जीवन निर्वाह गर्न धेरै सजिलो भएको छ, श्रीमान भएको भए कति खुसी हुन्थे ।’ यती भन्दै गर्दा कार्की निकै भावुक भएकी थिइन । भुपै सैनिक सम्मेलनमा सहभागीहरुले विगतको जस्तै गरी एउटै मेसमा सँगै खाना खाएर रमाइलो गर्दै छुट्टिएका थिए ।

पुर्व सैनिक सम्मेलनमा सहभागी हुन आएकाहरुले आफ्ना समस्याहरु पनि गोरखबक्स गणका गणपति प्रमुख सेनानी निर्मलकुमार श्रेष्ठसँग राखेका थिए । ‘उपचारका लागि छाउनी सम्म पुग्नलाई समस्या भयो सर,हामीलाई यतै उपचार गर्ने व्यवस्था भैदिए हुने थियो ।’ सैनिक सम्मेलनमा सहभागी हुन आएका एक पुर्व सैनिकले भने । पहिला पहिला ब्यारेकमा धेरै बोलाउने गरेका थियो,अहिले कम बोलाइन्छ,हामीले पनि हिजो रगत पसिना यही संगठनमा बिताएका हौ,हामीलाई अन्याय नहोस भन्दै कतिपय पुर्व सैनिकहरुले तिन वर्षमा होइन यस्ता सम्मेलन वर्षपिच्छे गर्न अनुरोध गरेका थिए । नेपाली सेनाले सम्मेलनमा आफ्ना पुर्व सैनिक र तिनका परिवारको निःशुल्क स्वासथ्य परिक्षण र औषधी समेत वितरण गरेको थियो ।
नेपाली सेनाको मध्य पुर्वी हेडक्वाटर अन्र्तगत गोरखबक्स गणमा भएको पुर्व सैनिक सम्मेलनमा सिन्धुपाल्चोकमा बसोबास गरेर जिल्ला भित्रकै बैंकहरुबाट पेन्सन लिने २ सय ८ जना सैनिकहरु त्था उनीहरुको परिवार सहभागी भएको प्रमुख सेनानी श्रेष्ठले जानकारी दिए । सम्मेलनमा सहभागी पुर्व सैनिक तथा उनीहरुको आफन्तलाई भत्ता,टोपी,औषधी र एक थान ब्यालङकेट समेत प्रदान गरिएको थियो ।







