प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण पर्सि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी बुधबार दोस्रोपटक नेपालमै मिर्गौला प्रत्यारोपण गरिने भएको छ । बुधबार त्रिवि शिक्षण अस्पतालमा उनको मिर्गौला प्रत्यारोपण गरिने भएको हो । हालसम्म १ हजार ३ सय जनाले नेपालमै मिर्गौला प्रत्यारोपण गरिसकेका छन् । तीमध्ये दोस्रोपटक प्रत्यारोपण गरेकाहरूको संख्या पनि उल्लेख्य रहेको र उनीहरूको अवस्था स्वस्थ रहेको मिर्गौला रोग विशेषज्ञ बताउँछन् ।

मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले प्रधानमन्त्रीको दोस्रोपटक गर्न लागिएको मिर्गौला प्रत्यारोपण जोखिमयुक्त नरहने बताए । प्रधानमन्त्रीको सबै स्वास्थ्य परीक्षण गरिएको र स्वस्थ रहेको छ । डा. काफ्लेले शरीर स्वस्थ भए मिर्गौला प्रत्यारोपण गर्दा कुनै समस्या नहुने बताए ।

उनले भने, ‘दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेकाहरू सहज जीवनशैली यापन गरिरहेका छन्, पहिलोपटक भन्दा दोस्रोपटक गरिएको प्रत्यारोपण झन् राम्रो हुन्छ ।’ प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रत्यारोपण गर्न अमेरिका लैजाने चर्चा चले पनि अन्ततः उनले नेपालमै प्रत्यारोपण गर्ने चाहना व्यक्त गरेका थिए । उनकै चाहनाअनुसार त्रिभुवन शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने तयारी गरिएको हो । बुधबार प्रत्यारोपण गर्ने तयारीस्वरूप प्रधानमन्त्री ओली सोमबार नै अस्पतालमा भर्ना हुने उनका चिकित्सकले बताएका छन् ।

अमेरिकाको नेसनल किड्नी फाउन्डेसनको अनुसन्धानअनुसार प्रत्यारोपण गरिएको मिर्गौला, संक्रमण दर र व्यक्तिको सक्रियताका आधारमा पहिलो र दोस्रो प्रत्यारोपणबीच कुनै खास भिन्नता हुँदैन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली नेपालमै र नेपालकै विशेषज्ञ चिकित्सकबाट प्रत्यारोपण गर्ने निर्णयमा पुगेको बताए ।

उनले भने, ‘प्रधानमन्त्री ओलीले नेपालमै मिर्गौला प्रत्यारोपण गर्ने निर्णयमा पुग्नुभयो । नेपाली चिकित्सकको टोलीले मिर्गौला प्रत्यारोपण गर्नेछन् ।’ यसअघि ११ वर्षपहिले भारतको ओपोलो अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्री ओलीले नियमित डायलायसिस गर्दै आएका छन् । मिर्गौला प्रत्यारोपणको तयारीमा रहेका प्रधानमन्त्री ओलीको आइतबार कोलोनोस्कोपी गरिएको थियो । कुनै पनि ठूलो अप्रेसन गर्न कोलोनोस्कोपी गर्नुपर्ने हुन्छ । ग्रान्डी अस्पतालका कार्यकारी निर्देशक डा. चक्रराज पाण्डेका अनुसार उनको मुटु र रगतको जाँच गरिएको हो ।

उनले भने, ‘उहाँको मुटुको अवस्था राम्रो छ । यस्तै, रगतको पनि परीक्षण गरियो ।’ प्रधानमन्त्री ओलीको १८ देखि २७ साउनसम्म सिंगापुरमा उपचार भएको थियो । उपचारका क्रममा ओलीको मिर्गौलासम्बन्धी एन्टिबडीको मात्रा केही बढी देखिएको थियो । एन्टिबडी बन्ने प्रक्रिया रोकी बनेको एन्टिबडिज शरीरबाट बाहिर निकालिएको थियो ।

चिकित्सकहरूका अनुसार व्यक्तिको शरीरमा प्रत्यारोपण गरेको मिर्गौलाविरुद्ध शरीरले उत्पादन गरेको हानिकारक तत्वलाई एन्टिबडी भनिन्छ । एन्टिबडी हटाउने उपचार प्लाज्माफेरेसिस गरेर प्रधानमन्त्री ओली नेपाल फर्किएका थिए । प्रधानमन्त्री ओलीले नेकपा सचिवालय बैठकमा बुधबार मिर्गौला प्रत्यारोपण गर्ने जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न नातिनीसँग ‘म्याच’ भएको छ । नातिनी उनलाई मिर्गौला दिन तयार भएकी हुन् । ओलीलाई मिर्गौला दिन धेरैले इच्छा जाहेर गरे पनि नातिनीसँग म्याच भएको हो । यसअघि पहिलोपटक मिर्गौला प्रत्यारोपण गर्दा बुहारी अन्जनासँग म्याच भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)

epaper

ताजा समाचार

कलैया नगरप्रहरीको ज्यादती