पोखरा । १९ औं संस्करणको आहारारा गोल्डकप फुटबल प्रतियोगितामा नेपाल एपिएफ क्लबले आयोजक सहारा क्लब पोखरालाई हराउँदै विजयी यात्रा सुरु गरेको छ ।
गोलरहित बराबरी खेलेको घरेलु टिम दोस्रो हाफको अन्त्यतिर सम्हालिन नसक्दा विभागीय टिमलाई जित सुम्पिन पुगेको हो । खेलको ८७ औं मिनेटमा आशीष लामाले सुन्दर गोल गर्दै यसपालि टिमलाई सेमिफाइनलमा पु¥याउन सफल भए । गत वर्ष एपिएफ दोस्रो क्वाटरफाइनलमा झापा–११ सँग टाइब्रेकरको शिकार बन्दै पहिलो चरणबाटै बाहिरिएको थियो ।
शनिबारदेखि सुरु १९ औं संस्करणको आहा राराको उद्घाटन खेलमा ८७ औं मिनेटमा गोलको खडेरी तोड्न लामाको करिब २० यार्ड टाढाबाट हानेको प्रहार विपक्षी कीपर दीप कार्कीले ठम्याउनै सकेनन् । प्रदीप लामाले हानेको कर्नर बलमा आशीषले गोल गर्न सकेका हुन् । उनी नै म्यान अफ दी म्याच घोषित भए ।
आफूहरु एग्रेसिभ हुन नसकेको र चार्ज गर्न नसकेको सहाराका प्रशिक्षक विष्णु गुरुङले बताए । खेलपछि आगामी दिनमा आफ्नो कमजोरी सुधार्दै अघि बढ्ने बताए ।
त्यस्तै, एपिएफका प्रशिक्षक सुदीप श्रेष्ठले अपेक्षा अनुसार गोल नआएपछि दोस्रो हाफपछि खेल परिवर्तन गर्नुपरेको बताए । पहिलो रोजाइको स्ट्राइकरबाट गोल नआएपछि स्ट्राइकर नै परिवर्तन गर्नुपरेको बताए ।
जितसँगै एपिएफले पहिलो सेमिफाइनलमा संकटा र मनाङ मस्र्याङ्दीबीचको विजयीसँग चैत २५ मा खेल खेल्नेछ । आइतबारको खेल मच्छिन्द्र क्लब र क्यामरुनको अफ्रिकन रुट एसोसिएसनबीच हुने आयोजकले जनाएको छ ।
आगामी चैत २८ सम्म चल्ने प्रतियोगितामा कुल ८ टिमको सहभागिता छ । जसमा नेपाल आयल निगम मनाङ्ग मस्र्याङ्गदी क्लब, नेपाल पुलिस क्लब, रुस्लान थ्रिस्टार क्लब, नेपाल एपिएफ क्लब, संकटा क्लब, मछिन्द्र क्लब, अफ्रिकन रुट एसोसिएसन, क्यामरुन र आयोजक सहारा क्लब पोखरा रहेको क्लब अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । १८ औं संस्करणको विजेता मनाङ्ग र उपविजेता नेपाल पुलिस क्लब हुन् ।
यस वर्षको ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी–२०७७’ सम्मानबाट राष्ट्रिय टोलीका सदस्य अभिषेक रिजाललाई पुरस्कृत गरियो । राष्ट्रिय टोलीमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितका माध्यमबाट देशको नाम चिनाउन सफल भएकामा उनलाई ३५ हजारसहित सम्मान गरियो ।
त्यसअघि खेल उद्घाटन गर्दै राखेप सदस्य सचिव रमेशकुमार सिलवालले पोखराबाट खेल क्षेत्र अगाडि बढाउन सकिने प्रशस्त सम्भावना रहेको बताए । मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउले रहेको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।
विजेतालाई १० लाख र उपविजेतालाई ५ लाख पुरस्कार प्रदान गरिनेछ । यस वर्षदेखि सूर्यबहादुर केसीको स्मृतिमा उत्कुष्ट पाँच विधाको पुरस्कार जनही २५ हजार अर्पण गरिने जनाइएको छ । खेलबाट आम्दानी १ करोड २९ लाख र खर्च १ करोड १ लाख लाग्ने आयोजकको अनुमान छ ।






