बाँकेमा २०६७ सालदेखी औषधि खुवाउन थालिए पनि लक्षितवर्ग सबैले आजसम्म औषधि खाएका छैनन् । गत वर्ष ५ लाख ४२ हजार ६ सय ३६ जनालाई औषधि खुवाउने लक्ष्य राखिएकामा ५२ प्रतिशत मात्र सामेल भए । पहिलो चरणको अभियान चल्दा २१ प्रतिशत रोगी भएकामा हाल आएर १० प्रतिशत मात्र कम भएको छ । बच्न वर्षको एक मात्रा निरन्तर ६ वर्षसम्म खाए पुग्छ, जुन सरकारले अभियान नै चलाएर निःशुल्क वितरण गर्दछ । यस वर्ष स्थानीय तहमार्फत अभियान चलाउँदै बाँकेमा ५ लाख ७६ हजार ७६ जनालाई औषधि खुवाउने लक्ष्य छ । निवारणका लागि हरेक वडामा ६५ प्रतिशत बढीले खानपर्ने भएकाले नेपालगन्ज उपमहानगरले ८५ प्रतिशत बढी संख्या बढाउनेलाई पुरस्कृत र बजेट बढाउने बताएको छ । यो एक प्रतिनिधि स्थानीय तह हो ।
विश्व स्वास्थ्य संगठनले विश्वका ८३ देशमा यसको समस्या निकै जटिल भएको बताउँदै कुष्ठरोग पछिको जटिल र प्रमुख दीर्घरोगका रूपमा लिएको छ । विश्वका १२ करोड संक्रमित, ४ करोड बिकंलाग तथा १ अर्ब ३० करोड जोखिममा छन् । अधिकांश विकासोन्मुख तथा कम विकसित मुलुकका पर्दछन् । नेपालमा आज पनि ६३ जिल्लाका साढे २ करोड जनसंख्या हात्तीपाइलेको जोखिममा छन् । अहिलेसम्म ११ करोड १० लाख मात्रा औषधि जोखिमयुक्त जनसंख्यामा खुवाइसकिएको भए पनि जोखिम जनसंख्यामा कमी आउन सकेको छैन । ३० हजार बढी व्यक्तिमा हात्तीपाइले रोगको रिपोर्ट छ । धेरै देखिने हाइड्रोसिल २०७५÷७६ मा ९ हजार ८० को निःशुल्क शल्यक्रिया भएको छ ।
हात्तीपाइले रोग शरीरमा पूर्ण रूपमा विकसित भएमा यसले जीवनभर अस्वस्थ र विकलांग बनाई दैनिक क्रियाकलाप, जीविकोपार्जनमा असर पु-याउँछ
रोग : लामखुट्टेको टोकाइबाट सर्ने तथा फाइलेरिया भनेर परिचित यस रोगको परजीवी शरीरमा एकपटक देखा परेपछि जीवनभर यसको असर रहन्छ । स्वास्थ्य क्षेत्रले यसलाई लगभग ४ हजार वर्ष पुरानो रोग भनेर लिइँदै आएको छ । सुरुको अवस्थामा नै रहेको रोगका निम्ति निरन्तर पाँच वर्ष औषधि सेवन गरेमा पूर्ण रूपमा स्वस्थ भइन्छ । यदि शरीरमा पूर्ण विकसित हुने अवस्था यसले पायो भने जीवनभर अस्वस्थ र विकलांग भई दैनिक क्रियाकलाप, जीविकोपार्जनमा असर पु¥याउँछ । फलस्वरूप व्यक्तिले शारीरिक रूपले अस्वस्थ, सामाजिक रूपले घृणा तथा आर्थिक रूपले कमजोर भएर जीवन बिताउनुपर्छ ।
मसिनो धागो आकारको, ८ देखि १० सेमी लामो, लिम्फ ग्रन्थीमा बस्ने तथा एकदेखि दुई वर्ष बाँच्ने, उच्चेरेरिया ब्यानक्रफ्टी र बु्रगिया मालायी नामक नेमाटोडले गर्दा लाग्ने फिलिरियासिस प्रमुख संक्रमित कयुलेक्स फटिगन र मानसोनियोइडस जातको लामखुट्टेले टोकेपछि मानिसमा सर्दछ । उक्त परजीवी राति लिम्फनोडबाट निस्केर रगतमा पुग्छन् र दिउँसो निष्क्रिय भएर लिम्फनाडमै फर्कन्छन् । माइक्रोफिलेरिया लिम्फ र रगतमा तथा वयस्क परजीवी लसीका नली र ग्रन्थीमा बसी लगातार र लामो समय अवरुद्ध गरी शरीरको पानी र रसहरू जम्मा भई हात्तीपाइले बन्दछ ।
लक्षण तथा चिह्न : रोगका स्रोतहरूमा संक्रमित मानिसको रगत, लिम्फ तथा लामखुट्टे पर्दछन् । दुई वर्षभन्दा कमका बच्चामा प्रायः रोग देखिँदैन । महिलाभन्दा पुरुषमा बढी देखिन्छ । रोगको संक्रमणकाल ४ देखि १६ महिना जति हुन्छ । वयस्क परजीवी ५–१० वर्षसम्म बाँच्छन् । साधारणतया परजीवीको संक्रमण भएको १० वर्षपछि मात्र हात्तीपाइलेजस्ता जटिलता देखिन्छन् ।
परजीवीले लसीका ग्रन्थी र नलीमा विशेष गरी आक्रमण गर्ने भएकाले आक्रमण गर्नासाथ एकयुट लिम्फेन्जाइटिस हुन्छ । छालामा गन्ध आउने, पसिना निस्कने, सामान्य ज्वरोदेखि १०४० फरेनहाइटसम्मको कामज्वरो आउँछ । टाउको दुख्छ, अरुचि र कमजोरी हुन्छ, आँखाले उज्यालो हेर्न सक्दैन । मानिस उज्यालोदेखि डराउँछ, मांसपेसी दुख्छ । लसीका नलीमा सुजन भएकोमा पुरै बाटो दुख्ने, थिच्दा अठ्याउँदा झनै दुख्ने र रातो हुने गर्दछ । विशेष गरी खुट्टामा एउटा रातो दुख्ने थोप्ला देखिन्छ, जुन बिस्तारै ठूलो हुन्छ । प्रजनन अंगमा सुजन भई अर्काइटिस, इपिडिडाइमाइटिस, फनिकुलाइटिस र अण्डकोष सुन्निने हाइड्रोसिल, महिलामा स्तन र योनांग, योनीद्वार सुनिने हुन सक्छ ।
पेटको लसीका नलीमा अवरोध र सुजन भए पेटमा कठिन दुखाइ हुन्छ, रुकावट ल्याउने कीरा, परजीवी कहिलेकाहीँ आफैं मर्दछ तर अवरोध भने रहिरहन्छ । रोग दीर्घकालीन रूपमा रहेपछि हात्तीजस्तो ठूलोठूलो देखिने भएकाले हात्तीपाइले भनिन्छ । पिसाबमा लिम्फ मिसिनाले पिसाब दूधजस्तै सेतो, बाक्लो र लेदो हुन्छ । धेरै अवरोधका कारण लसीका नली पेरिटोनियममा फुटे काइलस एस्काइटस, फोक्सोमा फुटे काइलस प्लुरल इफ्युजन र पिसाब नलीमा फुटे काइलयुरिया बन्दछ ।
आम नेपालीमा रहेको आशंका मेटन नसक्नु र औषधिी खानेतर्फ उत्साह जगाउन नसक्नु, औषधि नखाइदिनुले हात्तीपाइले रोगविरुद्धको अभियान कमजोर भएको छ
रोकथाम : लामखुट्टेजन्य रोगबाट बच्न लामखुट्टेको विकास र जीवनचक्र पूरा हुन दिनुहुँदैन, जसका लागि लामखुट्टेको टोकाइबाट मानिस जोगिनुपर्दछ । समयमै रोगको निदान र उपचार थालिनुपर्दछ । इन्डेमिक क्षेत्रमा डीईसी औषधि सेवन गराइनुपर्दछ, जुन नेपाल सरकारले अभियानकै रूपमा जोखिमका जिल्लामा आम औषधि निःशुल्क सेवन गराउँदै आएको छ । सन् २०१५ सम्म हात्तीपाइले नेपालबाट निवारण गर्ने सरकारको लक्ष्य सन २०२० मा सारिएको थियो, त्यो पनि त्यत्तिकै रह्यो ।
नेपालमा सन २००३ देखि औषधि खुवाउन एक जिल्ला, सन् २००७ मा २१ जिल्ला, सन् २०१३ मा ५६ जिल्लामा औषधि सेवन गराइयो । उच्च जोखिम र धेरै बिरामी भेटिएका सन् २०२० मा १३ जिल्ला र २०२१ मा १२ जिल्लामा अभियान सीमित भएको छ । आम औषधि सेवन अभियान १२ जिल्लाका १ सय २९ स्थानीय तहबाट ७० लाख ४५ हजार जनालाई औषधि खुवाउने लक्ष्य छ । ६ पटकसम्म अभियान सम्पन्न भइसकेका केही जिल्ला परजीवी निवारणको अवस्थामा छन् ।
ध्यान दिनुपर्ने : दुई वर्षमुनिका बालक, पाँच वर्षमुनिका कडा कुपोषित बालबालिका, गर्भवती महिला, सात दिनभित्रका सुत्केरी, छारे रोगी र दीर्घरोगीले औषधि खान मिल्दैन । औषधि खाली पेटमा खाँदा परजीवीलाई मारी विषाक्त उत्पन्न गर्ने भएकाले र पहिलोपटक सेवन गर्दा सामान्य पाश्र्व प्रभाव टाउको दुख्ने, वाकवाकी लाग्ने, ज्वरो आउने, पेट डम्म हुने, पखाला हुने, रिगंटा लाग्ने, कमजोरी महसुस हुने, शरीर झमझमाउने, डाबर आउने, गाला रातो हुने, पेट दुख्ने, वान्ता हुने, अण्डकोष दुख्ने, नसा, छाला, हातखुट्टा सुन्निने, रातो हुनेर दुख्ने, बेहोस् पर्ने, देखिन सक्छन् । पाश्र्व प्रभाव ६ देखि ८ घण्टापछि सुरु हुन्छ र २ देखि ३ दिनमा हराएर जान्छ र खासै खतरनाक हुँदैन । खाली पेटमा नखाँदा तथा औषधि खाइसकेपछि प्रशस्त पानी सेवन गर्दा पाश्र्व प्रभाव कमै देखिन्छ ।
विगतमा कसलाई, कति, कुनबेला र किन भन्ने जनचेतनामा आवश्यक व्यवस्थापन गर्न नसक्दा दुःखदायी घटना घटेका छन् । सकारात्मकभन्दा नकारात्मक तथ्य बढी फैलने हाम्रो देशमा बिरामी र मृत्युका खबर धेरै आए । विगतमा सञ्चालन गरिएका अभियानमा समेत काठमाडांै उपत्यकामा ४० प्रतिशत कमले मात्र हात्तीपाइलेको औषधि सेवन गरेको तथ्यांक छ । तथापि, सहरियामा ४० प्रतिशतसम्ममा रोगको संक्रमण देखिएको छ ।
अन्त्यमा, हात्तीपाइले औषधिको भ्रमले आम जनता अभियान, औषधिदेखि १० हात पर भाग्ने गरेका छन् । त्यसैमा ठूला मुलुकले परीक्षणका लागि पठाइएको हल्लाले अभियान सशक्त बन्न सकेको छैन । आम नेपालीमा रहेको आशंका मेटन नसक्नु र औषधि खानेतर्फ उत्साह जगाउन नसक्नु अभियानको दुर्लभ पक्ष हुन् । औषधि नखाइदिँदा हात्तीपाइले रोगविरुद्धको अभियान कमजोर भएको छ । सरकारले लाखौं, करोडाैं खर्चेर बर्सेनि अभियान चलाइरहे पनि व्याप्त भ्रमका कारण लक्षित वर्गले औषधि सेवन नगरिदिँदा हात्तीपाइले रोग निवारण तथा उन्मूलन गर्ने लक्ष्य कागजमै सीमित छ ।






