काठमाडौं । नेपाली चलचित्र उद्योगका लागि २०७७ साल सबैभन्दा निराशको वर्ष बन्यो । वर्षभरिमा जम्मा चारवटा मात्र नयाँ नेपाली चलचित्र रिलिज भयो । त्यसैले सबै सिनेकर्मीको आशा २०७८ साल रहेको छ ।
आजबाट नयाँ वर्ष सुरु भएको छ । तीन महिनाअघिबाट चलचित्र छायांकन र प्रदर्शनको केही चहलपहल सुरु भएको थियो । तर, त्यो चहलपहलमा यतिबेला बिस्तारै पूर्णविराम लाग्न थालेको छ । एक महिनायताबाट भारतमा कोरोनाको दोस्रो लहर फैलिएसँगै नेपालमा पनि कोरोनाको संक्रमण बढेको छ । जसका कारण सरकारले जनजीवनलाई फेरि साँघुरो बनाउँदै गएको छ ।
एकातर्फ कोरोनाको संक्रमण बढ्न थालेको छ । अर्कोतर्फ २०७८ सालप्रति सिनेकर्मी आशावादी छन् । आगामी भदौबाट सिनेकर्मी आफ्ना नयाँ फिल्म रिलिजको तयारीमा जुटिसकेका छन् । केही चलचित्रको छायांकन सकिएर प्रदर्शनको तयारीमा छ । त्यसो त केही चलचित्र अहिले पनि छायांकनमा छन् ।
अभिनेता अनमोल केसी आफ्नो नयाँ चलचित्र ‘ए मेरो हजुर–४’ प्रति आशावादी छन् । २०७७ सालमा आफ्नो चलचित्र रिलिज हुन नसके पनि २०७८ मा यो चलचित्रले दर्शकलाई मनोरञ्जन दिने पक्षमा उनी छन् । यो चलचित्र आगामी भदौमा रिलिज हुँदै छ । यो अभिनेता अनमोल अर्को नयाँ चलचित्र ‘पारश’को छायांकन तयारीमा छन् । अनमोलसँगै नायिका सुहाना थापा पनि २०७८ सालमा आफ्नो चलचित्र ‘ए मेरो हजुर–४’ प्रति निकै आशावादी छिन् ।
अभिनेता आकाश श्रेष्ठ र पूजा शर्मा आफ्नो दुईवटा नयाँ चलचित्रप्रति आशावादी छन् । यी दुईको नयाँ चलचित्र सम्हालिन्छ कहिले मन आगामी भदौमा रिलिज हुँदैछ । यो चलचित्रलाई पनि सुदर्शन थापाले निर्देशन गरेका हुन् ।
अभिनेता प्रदीप खड्कालाई पनि २०७८ सालप्रति केही आशा छ । उनको प्रदर्शनीको तयारीमा रहेको चलचित्र ‘प्रेमगीत–३’ गत वर्ष चैत अन्त्यमा रिलिज हुन सकेन । यो चलचित्र २०७८ सालमा रिलिज हुनेछ । चलचित्र आगामी दसैंसम्म रिलिज गर्ने तयारीमा निर्माता सन्तोष सेन रहेका छन् । कोरोनाका भ्याक्सिन पनि आउन थालेका कारण आगामी भदौपछिबाट कोरोना केही घट्ने र दर्शक सिनेमा हलमा आउने विश्वास अभिनेता प्रदीप खड्काको छ । त्यसपछि सिनेमा बजारले गति लिने र आफ्नो यो चलचित्र पनि त्यति बेला रिलिज हुने उनेको कथन छ । यस्तै अभिनेता प्रदीपकै अर्को चलचित्र प्रकाश अहिले छायांकनका क्रममा छ । यो चलचित्र पनि २०७८ सालमै रिलिज गरिने भएको छ । अभिनेता प्रदीप आफ्नो यो चलचित्रप्रति पनि त्यत्तिकै आशावादी छन् ।
अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मालाई नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु’को बढी आशा छ । यो फिल्म पनि २०७६ चैतमा रिलिजको तयारीमा थियो । कोरोना संक्रमणका कारण यो चलचित्र रिलिज भएन । यो चलचित्रलाई पनि आगामी दसैंसम्म रिलिज गर्ने पक्षमा निर्माता निर्देशक सुदर्शन थापा रहेका छन् । चलचित्रमा पूजा र पलको राम्रो काम भएको उनको कथन छ । त्यसैले पल र पूजा पनि यो फिल्मप्रति आशावदी छन् । पलकै अर्को चलचित्र ‘दुई नम्बरी’को केही प्रतिश्त छायांकन बाँकी छ । चाँडै यो चलचित्रको बाँकी छायांकन सक्ने पक्षमा निर्माता मिलन नेपाली रहेका छन् । २०७८ मै यो चलचित्र आउने भएकाले अभिनेता पल पनि यो चलचित्रप्रति त्यत्तिकै आशावादी छन् ।
अभिनेत्री केकी अधिकारी, गायक तथा नवअभिनेता प्रकाश सपूत र दिलिप रायमाझी नयाँ चलचित्र ‘परदेशी–२’प्रति आशावादी छन् । यो चलचित्र आगामी दसैंमा रिलिज हुने भएको छ । चलचित्रको छायांकन सकेर अहिले सम्पादनको कार्य भइरहेको छ । त्यति बेलासम्म कोरोनाको महामारी केही घट्ने विश्वास यी अभिनेता अभिनेत्रीको छ । त्यसैले उनीहरू पनि २०७८ सालप्रति आशावादी छन् ।
अभिनेत्री केकी नै यतिबेला अर्को नयाँ चलचित्र बोक्सीको निर्माण तयारीमा छिन् । चाँडै छायांकन हुने यो चलचित्रलाई पनि २०७८ मा रिलिज गर्ने लक्ष्य उनको छ । २०७७ कोरोनाको महामारीमै बिते पनि २०७८ मा कोरोना संक्रमण कम हुने र नेपाली चलचित्रले गति लिने विश्वास यी अभिनेत्रीको छ ।
अभिनेता दयाहाङ राईको २०७८ सालमा दुई वटा चलचित्र रिलिज हुनेछ । उनले अभिनय गरेको चलचित्र ‘नीरफूल’ र अर्को चलचित्र ‘कबड्डी–४’ रिलिज हुनेछ । नीरफूल एक वर्षअघि नै निर्माण भएको हो । यो चलचित्रलाई आगामी दसैं अघि नै रिलिज गरिँदै छ । यस्तै उनको अर्को चलचित्र कबड्डी–४ को यसै साताबाट मुस्ताङमा छायांकन सुरु हुँदै छ । यो चलचित्रप्रति अभिनेता दयाहाङ बढी आशावादी छन् । २०७८ मै यो चलचित्र रिलिज हुने भएकाले अभिनेता दयहाङ पनि यो वर्षप्रति आशावादी छन् ।
अभिनेता पुष्प खड्काको पनि २०७८ मा नयाँ चलचित्र कृष्ण लीला रिलिज हुँदै छ । उनी पनि यो चलचित्रप्रति आशावादी छ । उनको अन्य दुईवटा चलचित्र अहिले छायांकनको क्रममा छ । यी अभिनेताको आशा पनि यतिबेला २०७८ मै टिकेको छ ।
यस्तै अभिनेता आकाश श्रेष्ठ र पूजा शर्मा आफ्नो दुईवटा नयाँ चलचित्रप्रति आशावादी छन् । यी दुईको नयाँ चलचित्र सम्हालिन्छ कहिले मन आगामी भदौमा रिलिज हुँदैछ । यो चलचित्रलाई पनि सुदर्शन थापाले निर्देशन गरेका हुन् । यो चलचित्र अनमोल केसीको नयाँ चलचित्र ‘ए मेरो हजुर–४’ सँग जुध्दै छ ।






