काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३२ अर्ब सेयर कारोबार भएको छ । सेयर बजार सूचक नेप्सेले भने गत साताको तुलनामा ८७.४५ अंकले घटेको हो । गत साता एकपछि अर्को गर्दै नयाँ रेकर्ड कायम गरेको नेप्से सूचक यो साता घटेको छ ।
२३५ कम्पनीको कारोबार भएको बजारमा ३२ अर्ब ७९ करोड ४६ लाख १३ हजार १ सय ७२ रूपैयाँ बराबरका ७ करोड २९ लाख १८ हजार ९ सय ६६ कित्ता सेयर कारोबार भएका छन् । गत साता २ सय २५ कम्पनीको कारोबार भएको बजारमा २३ अर्ब ३९ करोड ६ लाख ४७ हजार ७ सय ११ रूपैयाँ बराबरका ४ करोड ७५ लाख ३३ हजार ७ सय ४४ कित्ता सेयर कारोबार भएका थिए । यस साताको अन्त्यसम्म आइपुग्दा बजार पुँजीकरण ३६ खर्ब ६६ अर्ब ६९ करोड ९१ लाख ९० हजार पुगेको छ ।
सूचक ८७ अंकले घट्यो
कोरोना भाइरसको दोस्रो चरणको संक्रमण तीव्र रूपले फैलिन थालेपछि यसको यस साताको सेयर बजारमा समेत परेको थियो । यसै साता कोरोना भाइसर नियन्त्रण तथा रोकथामका लागि सरकारले काठमाडौं उपत्यकालगायतको विद्यालय बन्द गर्ने, सार्वजनिक सभा–सम्मलेन, भेटघाट, पूजाआजा गर्न नपाउने, २५ जनाभन्दा बढी भेला हुन नपाउनेजस्ता निणर्य गरेको थियो ।
त्यससँगै लगानीकर्तामा फेरि लकडाउन हुने हो कि भन्ने आशंकामा रहेका कारण यसको प्रभाव बजारमा समेत परेको थियो । तर, यसरी लगानीकर्ता त्रसित हुनुपर्ने अवस्था नरहेको र यो गिरावटलाई जानकारले करेक्सनको रूपमा लिनुपर्ने बताउँदै आएका छन् । पुनः लकाउन भए पनि वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था हुने, ब्याजदर सस्तो हुने भएकाले समेत लगानीकर्ताले त्रसित हुनुपर्ने अवस्था नरहेपछि बिहीबारको सेयर बजार सकारात्मक देखिएको हो ।
साताको पाँच दिन दिन कारोबार भएको बजारमा तीन दिन नेप्से सूचक घट्दा दुई दिन बढेको हो । साताको पहिलो दिन आइतबार २७३५.४६ को बिन्दुबाट सुरु भएको नेप्से सूचक ३५.८९ अंकले घटेर २६९९.५१ को बिन्दुमा आएर बन्द भएको थियो भने सोमबार ३७.५८ अंकले बढेको थियो ।
साताको तेस्रो दिन मंगलबार बजारमा सामान्य सुधार आउँदै २.६८ बढेको थियो । फेरि बुधबार नेप्से सूचक ३२.४१ अंकले घटेको हो भने साताको अन्तिम दिन बिहीबार भने १५.८० अंकले बजार सूचक बढेर २६४८.०१ को बिन्दुमा पुगेको छ । साताभर गत साताको तुलनामा ८७.४५ अंकले सूचक घटेको छ ।
यस साता ६ वटा कम्पनीका बोनस सेयर र तीन कम्पनीको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएका छन् । जसमा छ्याङ्दी हाइड्रोपावरको १ लाख ४१ हजार ७ सय ५० कित्ता, साधना लघुवित्त वित्तीय संस्थाको ३ लाख ९२ हजार ४ कित्ता, नेपाल इन्भेस्टमेन्ट बैंकको १ करोड ८८ लाख ८३ हजार ७ सय ५० कित्ता, गरिमा विकास बैंकको ४३ लाख ७२ हजार २ सय ३०.७३ कित्ता र साना किसान लघुवित्त वित्तीय संस्थाको १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ भने साना किसान लघुवित्त वित्तीय संस्थाकै १२ हजार ४ सय ४२ कित्ता, नारायणी विकास बैंकको ६ लाख ५६ हजार १ सय ६९ कित्ता, सिटिजन इन्भेस्टमेन्ट ट्रस्टको १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ भने कुमारी इक्युटी फन्डको १० करोड कित्ता इक्युटी फन्ड नेप्सेमा सूचीकृत भएको छ । सातामा नेप्सेको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला भएको थियो ।
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक गत साताको तुलनामा १५.८४ अंकले घटेर ४७६.६१ अंकमा आइपुगेको छ ।






