एमाले महाधिवेशन आयोजक कमिटीका सदस्यको कार्यविभाजन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्यको कार्यविभाजन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको आयोजक कमिटीको बैठकले २ सय ६५ सदस्यको कार्यविभाजन गरेको हो । नेताहरू विष्णु पौडेल, शंकर पोखरेल र टोपबहादुर रायमाझी रहेको कार्यदलको सुझावका आधारमा नेताहरूलाई जिम्मेवारी बाँडफाँड गरिएको छ ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रदीप ज्ञवालीका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टी स्कुल विभाग प्रमुख, महासचिव ईश्वर पोखरेल केन्द्रीय कार्यालय प्रमुख र सहइन्चार्ज उपत्यका विशेष कमिटी, विष्णुप्रसाद पौडेललाई संगठन विभाग प्रमुख र अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट एमालेमा प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापालाई बागमती प्रदेशको इन्चार्ज र राष्ट्रिय सुरक्षा प्रवद्र्धन विभागको प्रमुख, उद्योगमन्त्री लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीसँगै उद्योग तथा वाणिज्य विभाग प्रमुख, नेपाल उद्योग व्यवसाय महासंघको इन्चार्जको जिम्मेवारी दिइएको छ ।

सहरी विकासमन्त्री प्रभु साहलाई सहरी विकास विभागको प्रमुख, पेसागत महासंघ नेपालको इन्चार्ज र नेपाल बुद्धिजीवी परिषद् इन्चार्ज तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई मोर्चा संगठन इन्चार्जको जिम्मेवारी दिइएको छ ।

परराष्ट्रमन्त्रीसमेत रहेका प्रदीप ज्ञवाली प्रचार तथा प्रकाशन विभाग प्रमुख, सुभास नेम्वाङ प्रदेश नम्बर १ को इन्चार्ज र संसदीय विभाग प्रमुख, डा. राजन भट्टराई विदेश विभाग प्रमुख र प्रवास क्षेत्र इन्चार्ज, विष्णु रिजाललाई विदेश विभाग उपप्रमुख, अग्निप्रसाद खरेल निर्वाचन विभाग प्रमुख र विष्णु रिमाललाई आर्थिक विभाग प्रमुख तथा नेपाल ट्रेड युनियन महासंघ इन्चार्जको जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार रहेका सूर्य थापा प्रचार तथा प्रकाशन विभाग उपप्रमुख र प्रेस चौतारी नेपालको इन्चार्जको जिम्मेवारी पाएका छन् । यसअघि प्रेस चौतारीको इन्चार्ज रहेका राजेन्द्र गौतम प्रदेश नम्बर १ को सहइन्चार्जको जिम्मेवारी दिइएको छ ।

वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका नेताहरूलाई कुनै जिम्मेवारी दिइएको छैन । उपाध्यक्षत्रय वामदेव गौतम, भीम रावल, अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्टसहितका नेतालाई कुनै जिम्मेवारी दिइएको छैन ।

यसैगरी, पार्टी केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी शेरबहादुर तामाङलाई दिइएको छ । यसअघि सो जिम्मेवारीमा ईश्वरी रिजाल रहेका थिए । रिजाललाई स्कुल विभाग सचिवको जिम्मेवारी दिइएको छ ।

बैठकले तत्कालका लागि १९ जनालाई स्थायी कमिटी सदस्य बनाएको छ । स्थायी कमिटीमा पार्टी अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेलसहित वामदेव गौतम, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुभास नेम्वाङ, टोपबहादुर रायमाझी, प्रदीप ज्ञवाली, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, लेखराज भट्ट, मणिचन्द्र थापा, किरण गुरुङ, सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा, विष्णु रिमाल, रघुवीर महासेठ, केशव बडाल र डा. पुष्पराज कँडेल रहेका छन् ।

पार्टीविरोधी गतिविधिमा संलग्न थप नेतालाई सोधिएको स्पष्टीकरण र प्राप्त जवाफ’bout पनि बैठकमा छलफल भएको छ । प्रतिनिधिसभामा रहेका २७ नेतामाथि सोधिएको स्पष्टीकरण’bout अध्ययन गरी निर्णय गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिइएको छ ।

अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र महासचिव पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमाथि प्राप्त सुझाव समावेश गरी पारित गरिएको छ । बैठकले समसामयिक विषयमा ११ बुँदे प्रस्ताव पारित गरेको छ । पार्टीमा समानान्तर गतिविधि रोकेर पार्टी एकताको मूल प्रवाहमा फर्कन आग्रह गर्दै जनप्रतिनिधिलाई उम्मेदारी दिने पार्टी र आफूलाई मत दिने जनताको सम्मान गर्न आग्रह गरेको छ ।

‘२०७७ साल २३ फागुनमा सर्वोच्च अदालतको फैसलाबाट नेकपा (एमाले) पुनःस्थापित भएसँगै पार्टीलाई नयाँ ढंगले एकताबद्ध र सुदृढ गर्ने अवसर प्राप्त भएको छ । तर, यसलाई सदुपयोग गर्दै विगतका कमीकमजोरीप्रति आत्मालोचित भएर पार्टीमा क्रियाशील हुनुको साटो पार्टीका केही नेता गुटगत भेला, समानान्तर गतिविधि र अर्को समूह निर्माण गर्ने उद्देश्यले अराजक एवं विभाजनकारी क्रियाकलापमा संलग्न देखिनुभएको छ,’ बैठकले पारित गरेको प्रस्तावमा उल्लेख गरिएको छ ।

यस्ता गतिविधि आम कार्यकर्ताको भावनाका विरुद्ध तथा देश, जनता तथा कम्युनिस्ट आन्दोलनका लागि हानिकारक रहेकाले यस विषयलाई गम्भीर रूपमा लिँदै बैठकले सम्बद्ध नेतालाई यस्ता क्रियाकलाप अविलम्ब बन्द गर्न, पार्टीका नीति र नेतृत्वका पक्षमा उभिन र पार्टी एकतामा योगदान गर्न आह्वान गरेको छ । यस्ता क्रियाकलाप जारी रहे पार्टीको विधान आकर्षित हुनेतर्फ पुनः सचेत गराउँदै बैठकले भुलवश समानान्तर कमिटीमा बसेका नेतालाई त्यसबाट अलग हुन आह्वान गरेको छ ।

मूल प्रवाहमा फर्कने नेता तथा कार्यकर्तालाई सम्मानका साथ उचित जिम्मेवारी दिइने प्रवक्ता ज्ञवालीले बताए । बैठकले कोभिड–१९ को रोकथाममा जुट्न सबैमा तथा उपनिर्वाचनको तयारीका लागि तयार रहन कार्यकर्तालाई आग्रह गरेको छ । बैठकले सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँगको सहमतिलाई स्वागत गर्दै शान्ति र विकासतर्फको यात्रा आरम्भका लागि नेपाल सरकारलाई धन्यवाद पनि दिइएको छ ।

कर्णाली प्रदेशका चार सांसद पार्टीबाट निस्कासित
बैठकले कर्णाली प्रदेशसभामा पार्टीको ह्वीप उल्लघंन गरी नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने चार जना प्रदेशसभा सदस्यलाई पार्टी सदस्य र प्रदेशसभा सदस्य नरहनेगरी कारबाही गरिएको छ । प्रदेश सभासद प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई निस्कासन गरिएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 239 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कुपन्डोलको बीच सडकमा कसरी भयो यो दुर्घटना

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
महानगरमा भागबण्डा, उपमहानगरमा अड्को