काठमाडौं । नयाँ सरकार गठनको विषयमा जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुको बैठक पार्टी कार्यालय बालकुमारीमा बसिरहेको छ । बैठकमा महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ छन् ।
सरकारलाई समर्थन गरेर जानेकी शेरबहादुर देउवालाई सहयोग गरेर नयाँ सरकार बनाउने भन्ने विषयमा जसपामा दुई मत रहेको छ । ठाकुर– महतो ओलीलाई सहयोग गरेर जाने पक्षमा छन्, भने यादव र भट्टराई जसरी पनि ओलीलाई हटाउनु पर्छ भन्ने पक्षमा छन् ।
जसपामा दुई मत देखिएको कारण अहिलेसम्म ओली सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लिन सकेको छैन । कांग्रेसले पनि के गर्ने भन्ने विषयमा बोल्ड निर्णय गरेर जान सकेको छैन ।
नयाँ सत्ता समीकरणका लागि जसपा निर्णयक भए पनि लामो समयदेखि अनिर्णत छ । ५१ सदस्यीय जसपाको कार्यकारिणी समितिमा भट्टराई र यादव पक्षसँग स्पष्ट बहुमतमा छ ।






