अधिकांश व्यक्तिले कुनै न कुनै धर्मप्रति आस्था राखेका हुन्छन् । धर्म नमान्ने व्यक्ति समाजमा विरलै होलान् । धर्मका आधारमा हामी कोही हिन्दू, कोही बौद्ध कोही मुस्लिम, कोही क्रिश्चियन, कोही वैष्णवलगायतका अनेकौं धर्मावलम्बी छौं । आफूले मानिआएको धर्मप्रति सबैको अगाध आस्था र भक्तिभाव रहन्छ । धर्मप्रतिको आफ्नो आस्था र विश्वासको प्रतीक स्वरूप देवदेवीको पूजा आरधना गर्ने, स्मरण गर्ने, भक्तिभाव दर्शाउने गरिन्छ । देवदेवीको आकृति पूज्ने प्रचलन पनि धार्मिक आस्था उत्पन्न भएको शाब्दीऔंपछि नै विकसित भएको हो । देवदेवीको आकृति पुज्ने प्रचलन कसरी प्रारम्भ भयो भन्ने कुरा अहिलेसम्म रहस्यमय नै छ । हाल कायम रहेको हाम्रो परम्परागत धार्मिक मान्यता र ऐतिहासिक आधारलाई हेर्दा यस’boutको प्रारम्भिक स्वरूप र मान्यता यस्तो रहेको देखिन्छ ।
जंगली अवस्थाबाटै मानिसमा धार्मिक भावनाको उदय भएको अनुमान गरिएको छ । यस’boutको प्रमाणित आधार भने अहिलेसम्म फेलापरेको छैन । गुफामा बसेर समूहगत रूपमा फिरन्ते जंगली जीवन बिताउने क्रममा बिस्तारै मानिस चेतनशील बन्दै आयो । कन्दमूल खोजी गर्दा, संकलन गर्दा, सञ्चय गर्दा र प्रयोग गर्दा, प्राकृतिक वातावरणमा देखापरेको परिवर्तनबाट मानिस प्राभावित बन्यो । यही क्रममा विभिन्न प्रकारका सोचविचार पनि विकसित हुँदै आयो । आफूलाई आश्रय दिने भूमि, ताप र उज्यालो प्रदान गर्ने सूर्य, प्रकाशन र न्यायो प्रदान गर्ने अग्नि, प्राणरक्षाका लागि नभै नहुने वायु तथा जीवनयापनका लागि अत्यवश्यक पर्ने जल र सृष्टिकर्ता ब्रह्मासमेतलाई मानिसले देवता ठान्न थाल्यो । आधारभूत आवश्यकताभित्रका यस्ता चिज वस्तुलाई देवता मान्ने तथा देवता भएनन् भने आफ्नो जीवन नरहने ठानी देवतालाई सधैं खुसी राख्नेक्रममा मानिसले देवताप्रति श्रद्धा गर्ने, पूजा आराधना गर्ने परम्परा बसाल्दै आयो । यसको हजारौं वर्षपछि आफू बसोबास गर्दै आएको स्थान जस्तो ओडार, गुफा ठूलो ढुंगा र ठूला रुखको फेदमा देवता स्थापित गरी आराधना गर्ने, श्रद्धाभक्ति दर्शाउने तथा पूजा गर्ने परिपाटी बस्यो ।
देवताप्रति आस्था र विश्वास जागृत भएको हजारौं वर्षपछि देवदेवीको प्रतीक वा मूर्ति पूजा गर्ने चेतना मानिसमा विस्तारित भयो । मूर्ति पनि देवदेवीकै प्रतिमाको स्वरूप थियो । अहिलेको मठमन्दिर र धार्मिक आस्थाको केन्द्र बिन्दु मानिने स्थलकै प्रारम्भिक स्वरूप मूर्ति पूजा थियो । मूर्तिपूजाको क्रम पनि अहिलेको अवस्थासम्म आइपुग्न हजारौं वर्ष लाग्यो । देवताको स्वरूप पनि मानिसकै जस्तो हुन्छ भन्ने अनुमान गरेर मानिसले प्रारम्भिक चरणमा आफू बसेकै जमिन वा गुफा, ओडारकै एक कुना वा भित्ताको निश्चित क्षेत्रलाई लिपपोत गरी चोखो बनाइएको स्थानमा देवताले बास गर्दछन् भन्ने ठानी पोतिएकै स्थानमा पूजा गर्ने परिपाटी बसाल्यो । पोतिएको स्थानलाई नै देवताको प्रतिमूर्ति मानी पूजा गर्ने चलनलाई मूर्तिपूजाको पहिलो चरण मानिएको हो ।
यसको सयौं वर्षौंपछि कोरिएको चित्र वा आकृति एवं शब्दमा लेखिएको मूर्तिपूजा गर्ने प्रचलनको सुरुवात भयो । लिपिएको स्थानलाई मूर्ति मान्ने चलनभन्दा यो तरिकाको मूर्ति पूजा धेरैपछि प्रारम्भ भएको थियो । यो दोस्रो मूर्ति पूजा प्रक्रिया हो । यसमा देवदेवीको भुइँ र भित्तामा चित्र कोरेर वा आकृति बनाएर अथवा देवताकै नाम लेखेर त्यसैलाई मूर्ति मानी पूजा गरिन्थ्यो । देवदेवीको स्वरूप र आकृति विकसित नभइसकेको अवस्थामा प्रचलनमा ल्याएको यो मूर्ति पूजा अत्यन्त पुरानो मानिने भएकाले परम्परागत विश्वासमा आधारित कतिपय कुलवंशमा अहिले पनि यो मूर्तिपूजाको प्रचलन कायमै छ । तेस्रो चरणमा आएर मानिसले मानवकै आकृतिअनुसार देवताको मूर्तिको स्वरूप बनाउने प्रयास मानिसले ग¥यो । देवताको आकृति वा स्वरूपलाई दृश्य मूर्तिमा परिणत गर्नेक्रममा सर्वप्रथम मानिसले बालुवाको मूर्ति बनाउन थाल्यो । तर, बालुवाको मूर्तिको आकार वा स्वरूप यथावस्थामा लामो समयसम्म नटिकेको देखेर यसको वैकल्पिक खोजीको क्रममा मानिसले माटाको मूर्ति बनाउन सुरु ग-यो ।
मूर्तिपूजालाई धर्मप्रतिको अन्धविश्वास मात्र नठानी मानसिक स्वास्थ्य सन्तुलनको अचुक औषधिको रूपमा लिने हो भने यसले हाम्रो स्वास्थ्य तन्दुरुस्त राख्न सहयोग गर्छ
माटो मुछेर मानिसकै जस्तो आकृति बनाई पूजा गर्ने पनि चलन हजारौं वर्षसम्म चल्यो । यो मूर्ति पूजाको चौथो तथा पहिलो स्थिर स्वरूप थियो । लामो समयसम्म टिक्ने यस्तो मूर्ति आकर्षक रूपमा बनाउने सीपको विकास हुँदै आयो । माटाको मर्ति पूजा गर्ने चलन अहिले पनि छ । विशेष गरी सरस्वती पूजामा माटाको विशाल मूर्ति कलात्मक ढंगले निर्माण गरी पूजा गर्ने चलन सबैतिर छ । मूर्ति पूजनको चौथो चरण मानिने माटाको मूर्तिदेखि देवदेवीको आकृति पनि फरकफरकै पारी निर्माण गर्ने परम्परा बस्यो । माटाको मूर्ति बसाइँसराइको क्रममा साथै लैजान सजिलो पनि भयो । यसपछि अझै टिकाउ मूर्ति बनाउने क्रममा मानिसले काठको मूर्ति बनाउन सिक्यो । यो पाँचौं मूर्ति पूजन प्रक्रिया हो । काठमा आकर्षक बुट्टा बनाई विभिन्न आकारप्रकारमा बनाइने कलात्मक मूर्ति स्थायी बन्ने भएपछि विश्वमै काठे मूर्तिको महत्वपूर्ण पनि बढ्यो । अहिले पनि यसको विश्वव्यापी महत्व कायमै छ ।
काठपछि मानिसले ढुंगाको मूर्ति बनाउन थाल्यो । यो मूर्ति पूजनको छैटौं चरण हो । ढुंगाको मूर्तिलाई मठमन्दिर निर्माण गरी भित्रै राखेर पूजा आरधना गर्ने प्रचलन हजारौं वर्ष पहिलेबाटै सुरु भएको हो । ढुंगे मूर्ति अहिले विश्वमै लोकप्रिय मानिन्छ । यसपछि मूर्ति पूजनको सातौं चरणमा धातुको मूर्ति निर्माण भयो । फलाम, काँस, तामा, पित्तलजस्ता धातुबाट बनेको कलात्मक मूर्ति सबैका लागि आकर्षक मानिन्छ । एक ठाउँबाट अर्को ठाउँमा सजिलै लान सकिने, आफ्नै इच्छाअनुसारकै साइजमा बनाउन मिल्ने र सधैं टिकिरहने धातुको मूर्ति पूजन विश्वमै लोकप्रिय बन्दै आयो, जुन यद्यपि कायमै छ ।
मूर्ति पूजाको आठौं वा अन्तिम चरण मानसी मूर्ति हो । यसमा देवदेवीको कुनै दृश्य स्वरूप वा प्रतिरूप हुँदैन । मनले सोचेको र कल्पना गरेकै भरमा देवदेवीको पूजा गर्ने प्रचलनलाई मानसी मूर्तिपूजन विधि भनिन्छ । आफू रहे बसेको जुनसुकै स्थानमा पनि यसको पूजा गर्न सकिन्छ । मूर्तिको दृश्य स्वरूप पूज्न नसक्ने कतिपय अवस्थामा पूज्नुपर्ने देवदेवीलाई नै सम्झिएर प्रतिमा राखी पूजा गरिन्छ । धार्मिक मान्यताका आधारमा यसरी गरिने मूर्तिपूजामध्ये प्रतिमा पूजाभन्दा देवदेवीको नाम उल्लेख गरेर, गरिने शब्द वा ग्रन्थ पूजा बढी उत्तम मानिन्छ भने शब्द वा ग्रन्थ पूजाभन्दा मानसी पूजा बढी उत्तम मानिएको छ ।
विश्वको सबैभन्दा पुराना र धेरै मानिसले मान्ने धर्म हिन्दू हो । सामान्य शब्दमा धर्म भन्नाले सत्कर्म र उपकारमा आधारित मानवीय व्यवहार भन्ने बुझिन्छ । हिंसा नगर्ने, श्रेष्ठ आचरणमा रहने, वेदको उच्चारण गर्ने तथा भागवत प्रतिमाको उपासना गर्ने व्यक्तिलाई हिन्दू भनिन्छ । नेपालमा कुल जनसंख्याको ८१ प्रतिशत व्यक्ति हिन्दू धर्मावलम्बी छन् । भारतमा पनि कुल जनसंख्याको ८० प्रतिशत व्यक्ति हिन्दू छन् । नेपाल र भारतमा मात्रै करिब १ अर्ब १० करोड हिन्दू धर्मावलम्बी छन् । विश्वमा अधिकांश मुलुकमा हिन्दूको बसोबास छ र यो विस्तारकै क्रममा छ । हिन्दूपछि मुस्लिम, इसाई, इस्लाम, बौद्ध विश्वका अन्य प्रमुख धर्म हुन् । सबै धर्मावलम्बीले आफ्नो धर्म पालन गर्नेक्रममा कुनै न कुनै रूपमा देवदेवीको पूजा आराधना गर्दछन् । परम्परागत मान्यतामा आधारित धर्म पालन गर्दा व्यक्तिमा सन्तुष्टि प्राप्त हुने, आत्मविश्वास बढ्ने धर्मप्रतिको एकाग्रतले तनाव मुक्त भई शान्ति मिल्ने मनमस्तिष्क पवित्र बन्ने, सत्कर्म र उपकारी बन्ने प्रेरणा मिल्ने भएकाले मानिस धर्मप्रति आस्थावान् रहन्छ । अस्थिर मनस्थितिलाई स्थिरता प्रदान गरी चिन्ता र तनाव मुक्त गराउने भएकोले धर्म मेडिटेसनको साधन पनि हो ।
सामाजिक वातावरणमा आएको परिवर्तनसँगसँगै धर्मप्रतिको आस्थामा पनि समयसापेक्ष परिवर्तन आउन लागेको छ । पछिल्लो पुस्तामा त धर्म केही होइन, अन्धविश्वास मात्रै हो, आफ्नो कर्म नै धर्म हो भन्ने मानसिकता विकसित भएको छ । वास्तवमा धर्म के हो ? र यसको औचित्य के ? भन्ने प्रश्नको प्रत्युत्तरमा सबैबाट व्यक्त हुने साझा विचार भनेको कपट र विकार हटाई मनमस्तिष्कलाई स्वच्छ र पवित्र बनाउने, सत्कर्म र चरित्रवान् बनाउन अभिप्रेरित गर्ने तथा कल्याणकारी कार्य गर्ने आदर्श मानवीय व्यवहार धर्म हो । अवलम्बनको प्रक्रिया फरक भए पनि सबै धर्मको मूलभूत उद्देश्य नै समस्त प्राणी जगतकै कल्याण गर्नु र कसैलाई दुःख कष्ट र सन्तापमा नपार्नु हो । धर्मले व्यक्तिको सोच सकारात्मक बनाउँछ, व्यवहार मुलायम र मृदुभाषी बनाउँछ, सबैलाई एउटै नजरले हेर्न सिकाउँछ तथा विचार र कार्यशैलीलाई उदार र व्यापक बनाइदिन्छ ।
देवताप्रति आस्था र विश्वास जागृत भएको हजारौं वर्षपछि देवदेवीको प्रतीक वा मूर्ति पूजा गर्ने चेतना मानिसमा विस्तारित भयो
कतिपय पाश्चात्य सम्भ्रान्त मुलुकमा समेत सनातन हिन्दू धर्मप्रतिको आस्था र विश्वास बढ्दै छ । हाम्रो मुलुकमा भने यो दृष्टिकोण घट्दो अवस्थामा छ । यसको कारण पनि देखासिकीमा आधारित परिवर्तित धार्मिक मानसिकता नै हो । धर्म केही होइन भन्ने दृष्टिकोण राख्ने व्यक्तिकै दृष्टान्त हेर्ने हो भने त्यस्तै, व्यक्तिहरू धर्म अवलम्बन गर्ने कुरामा व्यवहारमा अरूभन्दा कट्टर देखिन्छन् । महत्वपूर्ण ओहदामा पदासीन भई कार्य प्रारम्भ गर्दा, नवनिर्माणको शुभकार्य गर्दा, टाढाको यात्रामा निस्कँदा, सबैभन्दा पहिलो उनीहरू नै साइत हेराउन पुग्छन् । त्यस्तो कार्य कुन दिन, कुन समयमा कोद्वारा कसरी प्रारम्भ गरिए टिकाउ र लाभदायक हुन्छ ? भन्ने उनीहरूको पहिलो चासो हुन्छ । उनीहरूको मानसिकताबाट आफ्नै अग्रज पिँढीले अवलम्बन गर्दै आएको धार्मिक भावनाको अवशेष अझै पूर्ण रूपमा अन्त्य भएको छैन भन्ने यो दृष्टान्त पनि हो । शताब्दीऔंदेखि समाजमा गढ्दै आएको धार्मिक मान्यतालाई व्यक्ति विशेषको भनाइले मात्र सहजै परिवर्तन गराउन सक्दैन । वास्तवमा हाम्रो धर्म संस्कृतिमा समाजलाई एकीकृत गराई अगाडि बढाउने शक्ति छ, जसले कठोर व्यक्तिकै मनमस्तिष्कलाई नै सहजै पागली दिन्छ ।
मूर्तिपूजाकै कुरा गर्ने हो भने नबोल्ने मूर्ति पूज्नुभन्दा बोल्ने सजीव मानवमूर्तिकै पूजा वा सेवा गरेर उतिखेरै लाभ पाइन्छ भने व्यक्तिहरू पनि समाजमा नभएका होइनन् । जीवित देवताको पूजा गर्नेले पूजालाई निरन्तरता दिए पनि सधैं जीवित देवतालाई खुसी पार्न सक्दैनन् । आफूले देवता ठानेकै व्यक्ति दुश्मन बन्ने अवस्था आउँदा भने उनीहरू झसंग हुन्छन् ।
मूर्ति पूजाको औचित्य के ? यो कौतूहल सबैमा उत्पन्न हुन सक्छ । यसको जवाफ पनि सबैको समान नहुन सक्छ । सामान्यतया व्यक्तिको उद्देश्य अनुरूपको कार्य सिद्धि गर्नु वा मनमस्तिष्कमा उत्पन्न हुने भावनालाई यथावस्थामा कार्य रूपमा परिणत गराउन आवश्यक पर्ने सबै प्रकारको स्रोतसाधन र शारीरिक एवं मानसिक शक्ति र सामथ्र्य प्राप्त होस् भनी भगवानसँग पुकार गर्नेक्रममा मूर्ति पूजा गर्ने प्रचलन छ । पूजा एकातर्फी हुने भएकाले त्यसको प्रतिफल के मिल्छ, तत्कालै देख्न सकिँदैन । तथापि, मूर्ति पूजाको उद्देश्य पूरा नभए पनि यसले व्यक्ति सन्तुष्ट बन्छ । लगनशील भई कार्यप्रति समर्पित रहने प्रेरणा पाउँछ । उत्साह र जागरण बढाउँछ । यसैगरी देवदेवीप्रतिको भक्तिभाव र एकाग्रताले व्यक्तिमा निहित छलकपट, लोभलालच र विकृत मानसिकता हटेर मनमस्तिष्क पवित्र बनेको अनुभूति हुन्छ । धर्मको उपलब्धि भनेकै आत्माले पउने सन्तुष्टि हो ।
समष्टिगत रूपमा भन्ने हो भने भागवत भक्तिले मानिसको दूषित मानसिकतालाई निष्कलंक र निर्मल बनाइ दिने भएकाले उमेर ढल्किएसँगै मानिसमा भगवानप्रति आस्था बढ्दै जान्छ । यसको निम्ति पनि देवदेवीको मूर्तिपूजा आरधना उपयुक्त देखिन्छ । तनाव मुक्त पारी मनमस्तिष्कलाई स्वच्छ र पवित्र बनाउने सहज मेडिटेसनको साधनमध्येको मूर्तिपूजा वा भागवत भक्ति प्रमुख साधन मानिन्छ । यसभित्र वैज्ञानिक आधार पनि पाइन्छ । यसले व्यक्तिको मानसिक स्वस्थ सबल र सुदृढ बनाउँछ ।
यसर्थ, मूर्ति पूजालाई धर्मप्रतिको अन्धविश्वास मात्र नठानी मानसिक स्वास्थ्य सन्तुलनको अचुक औषधिको रूपमा लिने हो भने केही हदसम्म हाम्रो स्वास्थ्य तन्दुरुस्त राख्न सहयोग पुग्छ । धार्मिक एवं मानसिक सन्तुष्टि प्राप्त गर्न तथा आत्मालाई पवित्र बनाई सकारात्मक सोच उन्मुख गराउन पनि मूर्ति पूजा लाभदायक छ ।






