काठमाडौं । नेपालले जेठमा इराकसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । इराकको बास्रा अन्तर्राष्ट्रिय रंगशालामा हुने मैत्रीपूर्ण खेल जेठ १५ मा हुनेछ । नेपालले हालसम्म इराकसँग ३ पटक खेलिसकेको छ । नेपालले तीनै खेल गुमाएको छ ।
पछिल्लो पटक नेपालले विश्वकप छनोटमा इराकसँग सन् २००१ को अप्रिल २३ मा खेलेको थियो । जुन खेलमा नेपाल ४–२ ले पराजित भएको थियो । विश्वकप छनोट अन्तर्गत नै २००१ को अप्रिल १४ मा भएको खेलमा नेपाल ९–१ ले पराजित भएको थियो । पहिलो पटक नेपालले एसियन गेम्समा इराकसँग खेलेको थियो । १९८२ मा भएको खेलमा नेपाल ३–० ले पराजित भएको थियो । फिफा वरीयतामा इराक ६८ स्थानमा रहेको छ भने नेपाल १७१ औं स्थानमा रहेको छ ।
यस मैत्रीपूर्ण नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको पहिलो खेल हुनेछ । प्रशिक्षक अब्दुल्लाहले बन्द प्रशिक्षणका लागि ३२ खेलाडीलाई बोलाएको छ । नेपाली टिमले आगामी मे १७ बाट प्रशिक्षण थाल्ने बताइएको छ ।






