लमजुङ । आफन्तजन घरभित्र सुतिरहेको बेलामा रातको समयमा घरमा आगो लगाई भागेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लमजुङ दुधपोखरी गउँपालिका– १ कुस्वाँरामा घर भएका ३१ बर्षीय रोहनराज धिताललाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ ।
उनले आफ्ना दाजु महेश्वर धिताल भाउजुलगायतका जना ४ घरपरिवारहरू घरभित्र सुतिरहेको अवस्थामा घरको ढोकामा बाहिरबाट चुक्कल लगाई घरमा आगो लगाई फरार भएको प्रहरी दावी छ । प्रहरीका अनुसार रोहनले यही बैशाख ९ गते राती अन्दाजी तीन बजेको समयमा आगो लगाई फरार भएका हुन् । तर महेश्वरले घरमा आगलागी भएको थाहा पाई गुहार मागेपछि गाउँले गई ढोका फोरेर उनीहरू बाच्न सफल भएको गाउँलेको भनाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
फरार भएका रोहनराज धिताललाई कानुन बमोजिम कारवाही गर्न उनी माथी आपराधिक उपद्रव शिर्षकमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङ सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए । उनका अनुसार सो मुद्दामा जिल्ला अदालत लमजुङबाट १५ दिनका लागि हिरासत म्याद आदेश लिई यस कार्यालयको हिरासतमा राखी आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगतर्फ थप अनुसन्धान भइरहेको छ । उनले भने, ‘सो घटनामा महेश्वर धितालको घर पूर्ण रुपमा जली घरमा रहेको लत्ता कपडा, अन्नपात, भाँडा बर्तन तथा नगद रकम र सुन लगायतका धनमालहरू गरी १५ लाख बराबारको क्षति भएको अनमान गरिएको छ ।’






