परिचय नदिई कागजात माग्दै अख्तियार, आतंकित पारेको जनप्रतिनिधीको आरोप

इलाम । इलाम जिल्लाका स्थानीय तहमा अख्तियारले आतंकित बनाएको जनप्रतिनिधीले बताएका छन् । बढ्दो भ्रष्टाचार न्युनिकरण गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले इलाममा भ्रष्टाचार नियन्त्रण र संरक्षण प्रवद्र्धनका लागि सदरमुकाममा गरेको अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधिले अख्तियारले भ्रष्टाचार नियन्त्रणका नाममा आतंक मच्चाएको बताएका हुन् ।

स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई मात्र भेला पारिएको कार्यक्रम नियोजित र थर्काउने शैली भएको भन्दै स्थानीय सरकारका प्रमुखले आक्रोस ब्यक्त गरे । कार्यक्रममा सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले अख्तियारले स्थानीय तहका जनप्रतिनिधिलाई थर्काउने शैलीमा मात्र कार्यक्रम आयोजना गरिएको बताए । यस्तै फाकफोकथुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले अख्तियार ठूला भ्रष्टचारीलाई आश्रय दिँदै साना काममा भाजो हाल्ने प्रयत्नमा लागेको बताए ।

उनले भ्रष्टाचार भयो भन्ने हल्लाका आधारमा अख्तियारले दुख मात्र दिने गरेको बताए । श्रेष्ठले नागरिकलाई आतंकित पार्ने काममा मात्र अख्तियार सक्रिय भएको आरोप लगाए । स्थानीय तहले भ्रष्टाचारविरुद्ध धेरै राम्रो काम गरेको भए पनि कतिपय अवस्थामा अख्तियारले आतंकित बनाएको उल्लेख गरे । श्रेष्ठले भने भ्रष्टाचार भयो भन्ने उजुरीका भरमा अख्तियारले कसैलाई दुःख दिनु राम्रो पक्ष नभएको भन्दै विकास निर्माणका काममा पक्षपात गर्नेगरेको उनको भनाई छ ।

माईजोगमाई गाउँपालिकाका अध्यक्ष जितबहादुर राईले उजुरी परेको लामो समय सम्म पनि अख्तियारले मुद्धाको किनारा नलगाईदिने गरेकाले समस्या उत्पन्न गराएको बताए । उनले झुटा उजुरीमा अख्तियार रुमलीएको आरोप लगाए ।

परिचय नदिई कागजात माग्दै अख्तियार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो परिचय नदिई कागज पत्र माग्ने गरेको छ । आयोजना स्थलमा पुगेर कुनै परिचय नदिई तेरो आयोजनाको कागजात निकाल भन्ने गरेको पाईएको हो । यो घटना हो फाकफोकथुम गाउँपालिका दुई स्थित एक खानेपानी आयोजनाको । एक महिना अघि त्यस आयोजना स्थल पुगेका दुई जना कर्मचारिले यस्तो व्यवहार गरेको पाइएको छ ।

दुईवर्ष अघिनै सम्पन्न भई सञ्चालनमा रहेको उक्त आयोजनाका अध्यक्षलाई कुनै परिचय नदिई कागजात निकाल्न लगाइएको बताइएको छ । अध्यक्षले तत्काल सम्भव नहुने बताए पछि दुई तिन दिन भित्रमा कागज लिएर आउनु भनेर एउटा फोन नम्बर छोडेको अध्यक्षले बताए । उनले भने मलाई कुनै परिचय दिइएन र कहाँ कागजात ल्याउने भन्ने पनि बताइएन र मैले सुरक्षाको लागि जिल्ला प्रहरि कायलयमा उजुरी हाले ।

उजुरी हालेपछि प्रहरिले खोजी गर्दा अख्तियारको पत्र देखाउँदै प्रहरी कार्यलयमा ती कर्मचारी हाजिर भए । यसरी सात दिनसम्म कार्यलयको नाम र परिचय नदिई आयोजनाका अख्तियार पुग्नाले जनतामा झन आतंक मच्चिएको देखिन्छ । उनी भन्छन्, ‘कोहो किन मागो केही थाहा नभएपछि भात न पानी भएर एक हप्तासम्म बसेपछि खोजी गर्दै जाँदा त अख्तियार पो रहेछ ।’

इलामका ७६ उजुरी दर्ता, ३९ मात्रै फर्सोट
अख्तियार दुरुपयोग अनुसन्धान कार्यलय इटहरीमा इलामका ७६ उजुरी दर्ता भएको पाइएको छ । आर्थिक वर्ष ०७५÷७६ मा स्थानीय तह समेत गरी संघिय मामिला तथा सामान्य प्रशासन र शिक्षा विज्ञान तर्फ १८, १८ वटा, भूमि व्यवस्था तर्फ एक, वन तथा वातावरण तर्फ १२ वटा, भौतिक पूर्वाधार तथा यातायात र स्वास्थ्य तथा जनसंख्यातर्र्फ चार,चार वटा, उर्जा जलस्रोत तथा सिँचाईतर्फ आठ वटा, गृह र खानेपानीतर्फ तीन,तीन वटा, कृषि तथा पशुपन्छि विकास तर्फ चार वटा र शहरी विकासतर्फ एउटा उजुरी रहेका छन् । जम्मा ७६ वटा उजुरी मध्ये ३९ वटा उजुरी फर्सोट भईसकेका छन भने ३७ वटा उजुरी बाँकी रहेको तथ्याङ्कले देखाएको छ ।

यता अख्तियार इटहरीका प्रमुख चक्रबहादुर बुडाले भ्रष्टाचारको प्रबित्ति न्युनिकरणका लागि प्रतिबद्धताको आवश्यक्ता रहेको बताए । उनले न्युनिकरण गर्नका लागि कर्मचारी, जनप्रतिनिधि र स्वयम नागरिक लाग्नु पर्नेमा जोड दिए । उनले अख्तियारका कर्मचारिले परिचय लुकाएर नजाने र कर्मचारिले परिचय लुकाएर गएमा कार्वाही गरिने बताए ।

अख्तियार इटहरीका शाखा अधिकृत गिरिराज भट्टराईले पनि मौलाएको भ्रष्टाचार न्यूनीकरण लाग्नु पर्ने बताए । इलामबाट भ्रष्टाचार गरेको भन्दै सबैभन्दा बढी उजुरी स्थानिय तहको पर्ने गरेको उनको भनाई छ ।

कार्यक्रममा आयुक्त साबित्रि थापाले उजुरीका आधारमा भ्रष्टाचार बढेको नहुन पनि सक्ने भन्दै भ्रष्टाचार भएपनि उजुरी नपर्ने गरेको बताइन् । उनले देशलाई समृद्ध बनाउन भ्रष्टाचारलाई रोक्नु पर्नेमा जोड दिइन् । जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल, प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडेइँले भ्रष्टाचार नियन्त्रण गर्न सबै एक भएर लाग्नु पर्ने बताए । सबै मिलेर नियन्त्रण गर्नेहो भने देशमा भ्रष्टाचार नियन्त्रण हुने उनीहरुको भनाई थियो ।

तपाइको प्रतिक्रिया
(Visited 335 times, 1 visits today)

epaper

ताजा समाचार

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती