बझाङ । शुक्रबार खप्तडछान्ना गाँउपालिकाका ३७ बर्षिया पुरुषको कोरोना संक्रमणबाट शुक्रबार मृत्यु भयो । मृतक पुरुष केही समय अघि देखी नै विरामी परेका भएपनि उनले कोरोना परिक्षण नगरी आफुलाई रुघाखोकी र टाईफाईट भएको भन्दै निजी मेडीकलबाट औषधि सेवन गर्दै आए थिए । निजी मेडीकलबाट औषधि सेवन गरेको हप्तौ भै सक्दा समेत विराम निको भएन ।
उनलाई श्वासप्रश्वास तथा शाररीक रुपमा थप समस्या भएपछि विहीबार जिल्ला अस्पतालमा थप उपचारका लागि पुगे । उपचारका लागी अस्पतालमा पुगेका ति पुरुषमा कोरोना परिक्षण गर्दा कोरोना पोजेटिभ देखियो । स्वास्थ्यकर्मीले उनको उपचार सुरु गरे । तर समस्या जटील भएका कारण उनलाई बचाउन सकेनन् । विहीबार अस्पतालमा थप उपचार गराउन पुगेका उनलाई शुक्रबार डाक्टरले मृत घोषणा गरे ।
कोरोनाको परिक्षणको दर बढाउन आवश्यक
सामाजिक बहिस्कार हुने डरले कोरोना परिक्षण गर्नै मान्दैनन्
निजी मेडीकलबाट रुघाखोकी र टाईटफाईट भयो भन्दै औषधि सेवन गर्नेको संख्यामा बृद्धी
समयमा नै परिक्षण गरी उपचार गराए ज्यान बचाउन सकिने डाक्टरको भनाई
यस्तै केही समय अघि जयपृथ्वी नगरपालिकाकी एक ५५ बर्षिया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भयो । उनले पनि आफुलाई रुघाखोकी र टाईफाईट भएको भन्दै लामो समय सम्म निजी मेडीकलबाट औषधि सेवन गर्दै आएकी थिईन् । मेडीकलको औषधिले राम्रो नभएपछि उनी पनि थप उपचा।का लागि जिल्ला अस्पतालमा पुगिन् । उनको पनि अस्पतालमा कोरोना परिक्षण गर्दा पोजेटिभ देखियो । उनी पनि आफ्नो स्वास्थ्यमा निकै समस्या भएपछि मात्रै अस्पतालमा पुगेकी थिईन् । उपचार सुरु गरेपनि सम्भव भएन, अस्पताल पुगेको २ दिन पछि उनको पनि मृत्यु भयो ।
शनिबार मात्रै केदार स्युँ गाँउपालिकाका ७० बर्षिया पुरुषको कोरोना संक्रमणबाट मृत्यु भयो । उनी पनि स्वास्थ्यमा निकै जटिल समस्या भएपछि स्वास्थ्य संस्थामा उपचार गराउन पुगेका थिए । स्वस्थ्य संस्था उपचारका लागी पुगेको २ दिन पछि उनको पनि मृत्यु भयो ।
अहिले सम्म मृत्यु भएका सबै जना स्वास्थ्यमा निकै जटिल समस्या भएपछि मात्रै अस्पतालमा पुगेका जिल्ला अस्पतालका कार्यलय प्रमुख डाक्टर मिलन खड्काले बताए । विरामी भएको केही समयपछि मात्रै कोरोना परिक्षण गरी समयमा नै अस्पतालमा पुगेको भए मृतक मध्ये ३÷४ जनाको ज्यान बचाउन सकिने डाक्टर खड्काले बताए । अहिले पनि धेरै जसो कोरोना परिक्षण गर्न मान्दैनन् । समाजमा अपहेलना हुने र एक्लै बस्नु पर्ने डर, दाहसंस्कामर गर्न नपाईने होकी भन्ने चिन्ता गर्छन् ।’ डाक्टर खड्काले भने । कोरोना केही पनि होईन यसले केही गर्न सक्दैन भन्ने मानसिकताका कारण पनि समस्या जटिल भएको डा. खड्काको भनाई छ ।
समयमा परिक्षण गरी सचेत बन्न सके कोरोना बाट बाँच्न सकीने डाक्टर खड्काले सुझाब दिए । कोरोनाको लक्षण देखिए पनि रुघाखोकी हो । टाईफाईट भयो । पहिला पनि यस्तै भएको थियो, भन्दै विभिन्न निजी मेडीकलहरुबाट औषधि सेवन गर्नेहरु गाउँमा धेरै छन् ।
पछिल्लो समय रुघाखोकी र टाईटफाईट भयो भन्दै उपचार गराउन आउनेहरुको संख्यामा बृद्धि भएको कामना मेडिकल संचालक असोक मल्लले बताए । लक्षण हेर्दा कोरोना संग मिल्दो जुल्दो भएकाहरुलाई अस्पताल जान सुझाब दिएको मल्लले बताए । आफ्नो मेडिकलमा उपचार गराउन आएका मध्ये पछिल्लो चरणमा ६० प्रतिशतमा कोरोनाको देखिएको मल्लको भनाई छ ।
हाल सम्म बझाङ जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । कुल १५९३ जनाको कोरोना परिक्षण गर्दा ४१२ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कुल संक्रमित मध्ये ४१ जना स्वास्थ्यकर्मीको निगरानीमा छन् भने बाँकी २७८ जना होम क्वारेन्टाईनमा रहेको स्वास्थ्य कार्यलयका हेल्थ असिस्टेन रविन्द्र जोशिले बताए ।






