काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभासँग ‘विश्वासको मत माग्ने नैतिक अधिकार रहेको छ ?’ भनेर प्रश्न गरेका छन् ।
प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विश्वासको मतको प्रस्ताव राखेपछि सोमबार बोल्दै दाहालले प्रश्न गरे ‘प्रधानमन्त्रीजी, यो सदनसँग, यी माननीयसँग विश्वासको मत माग्ने तपाईंलाई नैतिक अधिकार छ र ?’
उनले प्रधानमन्त्री ओली प्रतिनिधिसभा विघटन गर्ने मनसायका साथ विश्वासको मत लिएर आएका हुन् कि भन्ने आशंका पनि गरे । विगतमा प्रतिनिधिसभा विघटन गर्ने बुझेर माओवादीले समर्थन जारी राखेको दाहालको भनाइ थियो ।
नियमित अधिवेशन बोलाउनुपर्ने बेलामा विश्वासको मत माग्नका लागि अधिवेशन बोलाएकोले आशंका लागेको उनको भनाइ थियो । बजेट अधिवेशन बोलाउनुपर्ने बेलामा यो अधिवेशन बोलाएर कतै संवैधानिक प्रक्रिया छल्न खोजेको हो कि भन्ने आशंका लागेको दाहालको भनाइ थियो ।






