पोखरा । गण्डकी प्रदेश मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले बुधबार साँझ उनलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।
प्रदेश प्रमुख पौडेलले १६८ (३) अनुरुप संसदमा ठूलो दलको हैसियतले नेकपा (एमाले) संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । उनलाई प्रदेश प्रमुख पौडेलले बुधबार साँझ नै सपथ ग्रहण गराइन् ।
मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्तापछि गत २६वैशाखमा उनले पदबाट राजीनामा दिएका थिए । सो अनुरुप प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा दलहरुलाई सरकार बनाउन समय दिएकी थिइन् ।
सोही बमोजिम नेपाली काँग्रेस सहित ४ दलको गठबन्धनले मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री नियुक्ति गरिनुपर्ने दाबी गर्दै प्रदेश प्रमुखसमक्ष निवेदन बुझाएका थिए । जसमा बहुमत (३१ सदस्यको) सदस्यको हस्ताक्षर भने थिएन । बहुमत सदस्य पु¥याउन नसकेपछि काँग्रेस लगायत माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा) सहित ४ दलले मुख्यमन्त्रीमा कृष्णचन्द्रलाई नियुक्ति गरियोस् भनी समयसीमा बुधबार दिउँसो ४ बजेभित्र पत्र बुझाएका हुन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार आफूलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न माग गर्दै निवेदन बुझाइएको कृष्णचन्द्र नेपाली पोखरेलले पत्रकार समक्ष प्रष्ट पारेका थिए । उनले अब आफूलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्रीमा नियुक्ति गर्नुपर्ने दाबी समेत गरेका थिए । तर संवैधानिक व्यवस्था बमोजिम बहुमत सदस्यको हस्ताक्षर नभएपछि प्रदेश प्रमुख पुनः गुरुङलाई स्थान दिएकी हुन् ।
गण्डकीमा कुल ६० सदस्यमध्ये नेकपा एमालेका २७, माओवादी केन्द्रका सभामुखबाहेक ११, काँग्रेसका १५, राजमोका ३, जसपाका २ र स्वतन्त्र सदस्य छन् । तीमध्ये राजमोका काँग्रेस गठबन्धनमा कृष्ण थापा र खिमविक्रम शाहीले हस्ताक्षर गर्न नमानेपछि फरक बाटो अपनाइएको थियो ।
यसैबीच, राष्ट्रिय जनमोर्चा नेपालले संसदीय दलको नेताबाट कृष्ण थापालाई हराटएको छ । दलको निर्देशन विपरीत कार्य गरेको भन्दै उनलाई दलको नेताबाट हटाइएको पार्टीका महासचिव मनोज भट्टले बताए ।
उनलाई संसदीय दलको नेताबाट हटाइएको’boutको पत्र सचेतक पियारी थापामार्फत् प्रदेशसभा सचिवालयमा दिउँसो दर्ता भएको थियो ।
नेता थापाले काँग्रेसको गठबन्धनमा बन्ने सरकारमा आफूले कुनै पनि हालतमा हस्तान्तरण नगर्ने अडान राखेका छन् । उनी हस्ताक्षर नगरी बुधबार नै आफ्नो गृह जिल्ला बागलुङ पुगेका छन् । थापाले आफूलाई पार्टीले स्पष्टीकरण नसोधेको दाबी गरे । उनले आफू बिहानै बागलुङ हिडिसकेको र कुनै पनि नेताले फोन नगरेको बताए । यसैगरी जनमोर्चाका अर्का सांसद खिमविक्रम शाहीले पनि अहिले तटस्थ बस्ने बताएका छन् ।