कोरोना संक्रमित बिरामीको उपचारमा कठिनाइ हुँदै गएपछि संक्रमित व्यक्तिको उपचार सहज बनाउन सरकारले अन्तर्राष्ट्रिय पहल कदमी अघि बढाउने गरी सम्बन्धित निकायमा निर्देशन जारी गरेसँगै पहल व्यावहारिक रूप लिन सरकारमाथि चौतर्फी आशा र भरोसा बढेर गएको छ । सरकारले कोरोना संक्रमित बिरामीको उपचारमा भनेजस्तो घरेलु सेवासुविधा प्रदान गर्न नसकेपछि सहयोगका लागि अन्तर्राष्ट्रिय संघसंगठन गुहार्न पुगेको हो । अन्तर्राष्ट्रिय संघसंगठन पनि नेपालको कोरोना संक्रमित तथा यसको मृत्युदर हेरेर बढी जोखिमपूर्ण बन्दै गएको महसुस गरी सकारात्मक परेका छन् । त्यसो त सरकारले यसअघि वैशाख २३ गते सम्बन्धित निकायमार्फत अन्तर्राष्ट्रिय संघसंस्थालाई सहयोगको अपेक्षासहित पत्राचार गरिसकेको छ । सोही पत्राचारलाई आधार मानेर सम्बन्धित अन्तर्राष्ट्रिय निकायमा गरिएको अनुरोध व्यावहारिक रूप दिन सम्बन्धित सरकारी निकायलाई निर्देशनात्मक सुझाव दिइएको छ । सम्बन्धित निकायले अन्तर्राष्ट्रिय नियोग, संघसंस्था तथा कूटनीतिक निकायमा शीघ्र र प्रभावकारी पहल गर्न सकेमा अन्तर्राष्ट्रिय नियोगको ध्यानाकर्षण पनि हुँदै गएको छ ।
नेपालमा फैलिएको कोरोना महामारीको दोस्रो संक्रमण र यसले पारेको प्रभाव हेर्दा जनसंख्याको अनुपातमा यो निकै भयावह हो । काठमाडौंजस्ता सघन बस्ती भएका थोरै सहर भए पनि संक्रमित बिरामीको संख्या र मृत्युदर अनमान गरिएभन्दा निकै उच्च छ । यो मृत्युदर दक्षिण एसियामा भारतपछि दोस्रो पर्न आउँछ । केही सहरबाहेक छरिएर रहेका ग्रामीण बस्ती पनि कोरोना महामारी संक्रमणबाट अछुतो रहन सकेका छैनन् । संक्रमित संख्या र मृत्युदर हेर्ने हो भने ५० प्रतिशत काठमाडौंभित्र र ५० प्रतिशत काठमाडौंबाहिर देखिएको छ । यसले सामाजिक दूरी सजिलै कायम राख्न सकिने दूरवर्ती ग्रामीण इलाकामा पनि गहिरो गरी असर पु¥याइरहेको छ । नेपाल आफैंमा चीन तथा भारतजस्ता ठूला छिमेकी देशको ट्रान्जिट प्वाइन्ट भएको र अन्तर्राष्ट्रिय हवाई उडान पनि यहाँबाट हुने भएकाले कोरोना महामारीको चपेटामा पर्न गएको छ । नेपालमा यूके भेरियन्ट, एपी वान र दिल्ली भेरियन्टजस्ता विभिन्न भेरियन्ट देखापरेका छन् । यी विभिन्न खाले भेरियन्टको संगमस्थल नेपाल बन्न जाने हो भने यसले नेपाल मात्र होइन अन्तर्राष्ट्रिय क्षेत्रमा समेत ठूलो प्रभाव पार्न सक्नेछ ।
त्यसैले नेपालमा हाल देखिएको कोरोना संक्रमणको महामारीप्रति नेपालको घरेलु मात्र होइन अन्तर्राष्ट्रिय चासो पनि देखिनु जरुरी छ । यस अर्थमा नेपाल सरकारले अन्तर्राष्ट्रिय निकायसँग गरेको अपेक्षा र अनुरोध अन्यथा हुन सक्दैन । बरु, सरकारी निकायले यस मामलालाई कार्यान्वयन गर्न गराउन सरकारको सोचअनुरूप बेलैमा आफ्ना पहल कदमी व्यावहारिक रूप दिई अघि बढाउन यथाशक्य पहल लिनु जरुरी हुन गएको छ । देश अहिले भयावह अवस्थामा छ । यसलाई सामान्य रूपमा लिन सकिँदैन र हुँदैन पनि बरु पहल कुन कुन ठाउँबाट कसरी लिन सकिन्छ सो’bout छलफल र सहकार्य हुन जरुरी छ । जनता पनि सरकारको पहलमा बढी आशावादी हुँदै गएका छन् । जनताको यो आशा र अपेक्षा साकार पार्न कोरोना संक्रमणको प्रभावलाई न्यूनीकरण गर्न सबैले ध्यान दिनु जरुरी छ ।






