खोइ सरकार ? भन्ने स्थिति नआओस्

सागर पण्डित

राजनीति देश र जनताका लागि गरिन्छ । जब आमजनता नै मृत्युको मुखमा पर्ने सम्भावना रहँदै जान्छ र शासकहरू त्यस्तो सम्भावना रोक्न असफल हुन्छन् भने उनीहरूको राजनीति असफल साबित हुन्छ । जनताको दृष्टिमा त्यस्तो राजनीति सन्यासी राजनीतिको रूपमा परिणत हुन सक्छ ।

अहिले विश्ववापी रूपमा फैलिरहेको कोभिड महामारीको प्रकोपले नेपालको जनजीवन अस्तव्यस्त भइरहेको छ । देशभरका कुनै पनि नागरिक जुनसुकै समयमा पनि मृत्युको मुखमा पर्न सक्ने भयले आक्रान्त छन् । नागरिकहरूले यस्तै संकटपूर्ण अवस्थामा हो सरकारको सहयोग र साथ खोज्ने । सामान्य अवस्थामा त जनता आफैंले आफ्नो जीवनको व्यवस्थापन र गुजारा गरिरहेका हुन्छन् । त्यस्तो अवस्थामा उनीहरूले सरकारको सहयोग र साथको खासै आशा पनि गरेका हुँदैनन् । तर, अहिले आमजनता कोभिडको महामारीबाट त्राहीत्राही छन् । जनता रोदन र क्रन्दनमा छन् । संकटको समयमा जनताले सरकारलाई पलपल खोजिरहेका छन् । कोभिडबाट पीडित बनेका सर्वसाधारण नागरिकले अक्सिजन खोजिरहेका छन् । तर, सरकारले समयमा नै अक्सिजन पु¥याउन नसक्दा नागरिक अकाल मृत्यु वरण गर्न बाध्य भइरहेका छन् ।

जब महामारीबाट नागरिक अकाल मृत्युवरण गर्न बाध्य हुन्छन् भने त्यस्तो समयमा मुलुकमा सरकार नै नभएको अनुभूति गर्न नागरिक बाध्य हुने गर्छन् । यस्तो अवस्थामा सरकारी निकायले जनताको भावनामाथि चोट पु¥याउनुहँुदैन । गाउँगाउँ र बस्तीबस्तीमा सरकारी निकाय जनतालाई बचाउन रातदिन खटिन सक्नुपर्छ । अहिले मुलुकमा संघ, प्रदेश र स्थानीय गरी तीनवटा सरकार रहेका छन् । तर, विडम्बना नागरिकले भने कोभिडका कारण मुलुकमा कुनै पनि सरकार नरहेको दुःखद् अनुभूति गरिरहेका छन् । अहिले दोस्रो लहर सुरु भइरहँदा मुलुकमा दैनिक सयांै नागरिकले अकाल मृत्युवरण गरिरहेका छन् । मृत्यु हुनेमध्ये अधिकांशले समयमा नै अक्सिजन पाउन नसकेर ज्यान गुमाउन बाध्य भइरहेका छन् भने चिकित्सकीय सेवासमेत राम्ररी पाउन सकेका छैनन् । समयमा नै अक्सिजन र चिकित्सकीय सुुविधा पाउनेहरूले कोभिडलाई परास्त गर्न सफल भइरहेका छन् । त्यसैले सरकारले नागरिकलाई अकाल मृत्युबाट बचाउन देशका कुनै पनि स्थानमा अक्सिजनको कमी हुन दिनुहुँदैन भने चिकित्सकीय सेवालाई प्रभावकारी बनाउन ढिलाइ गर्नुहुँदैन ।

अब कोभिड नियन्त्रण र उपचार राष्ट्रिय गौरवको आयोजनाका रूपमा १ नम्बरमा राख्नुपर्छ । आफ्ना नागरिकको जीवन रक्षाका अगाडि अन्य सबै राष्ट्रिय गौरवका आयोजना गौण हुन् । नागरिकलाई पूर्णरूपमा स्वास्थ्य सुरक्षा प्रदान गर्र्दै मेरो सरकार छ, त्यसैले मैले कोभिड सजिलै जित्न सक्छु भन्ने मानसिकता आमनागरिकमा सिर्जना गराउन सक्नुपर्छ

अहिले कोभिडका कारण हामीले दुःख पाउनुको मुख्य कारण विगतका सरकारले नागरिकको स्वास्थ्यलाई कहिल्यै पनि उच्च प्राथमिकतामा राख्न नसकेकै कारण हो । स्वास्थ्य क्षेत्र लामो समयदेखि उपेक्षित हुँदै आएकाले पनि अहिले कोभिड नियन्त्रण र उपचारमा हाम्रा संयन्त्र करिबकरिब असफल जस्तै भएका हुन् । स्वास्थ्यक्षेत्रसँग सम्बन्धित संरचना बलियो र धेरै भइदिएको भए तथा साधन स्रोत र जनशक्ति सम्पन्न भइदिएको भए अहिले कोभिडका कारण ठूलो क्षति बेहोर्नुपर्ने अवस्था आउँदैनथ्यो । अहिले पनि हाम्रा अधिकांश स्वास्थ्य संस्था अत्यन्तै दयनीय अवस्थामा छन् । तीनवटै सरकार मातहत रहेका स्वास्थ्य संस्थाको अवस्था सुधार्न तीनवटै सरकार करिबकरिब असफल जस्तै छन् । त्यसैले अधिकांश नागरिक कोभिडको मुखमा पर्नासाथ भगवान् भरोसा भन्दै भगवान्को नाम लिन बाध्य भइरहेका छन् ।

अब सरकारको यस प्रकारको यथास्थितिवादी व्यवहारबाट कोभिड नियन्त्रण र उपचार प्रभावकारी बनाउन असम्भव जस्तै देखिएको छ । त्यसैले सरकारले अब रातदिन काम गरेर परिणाम दिने र कोभिड नियन्त्रण र उपचार नै पहिलो प्राथमिकतामा राख्न ढिलाइ गर्नुहुँदैन । यस्तो अवस्थामा आमनागरिकले विकासभन्दा पनि आफूहरूको स्वास्थ्य अवस्था राम्रो होस् र राम्ररी बाँच्न सकियोस् भन्ने ’boutमा मात्रै सोच्ने गर्छन् । विकास र समृद्धि त दोस्रो कुरा हो । सबैभन्दा पहिलो र उच्च प्राथमिकताको विषय भनेको अब आमजनताको स्वास्थ्यलाई नै बनाउनुपर्छ ।

त्यसैले केन्द्रीय सरकारले बजेट बनाउँदा पनि कोभिड नियन्त्रण र उपचारलाई नै लक्षित गरी बनाउनुपर्छ । अबको केही समय केन्द्रीय, प्रदेश र स्थानीय सरकारको मुख्य काम नै कोभिड नियन्त्रण र उपचारमा केन्द्रित हुनुपर्छ । सरकारले विगतदेखि नै विभिन्न राष्ट्रिय गौरवका महŒवपूर्ण आयोजना सञ्चालन गर्दै आइरहेको छ । अब कोभिड नियन्त्रण र उपचारलाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा १ नम्बरमा राख्नुपर्छ । सोहीअनुसार रूपान्तरणकारी योजना बनाएर लागू गर्न अब १ मिनेट पनि ढिलाइ गर्नुहँुदैन ।

अझै केही समयपछि कोरोनाको तेस्रो लहरसमेत आउने विश्लेषण विज्ञहरूले गरेका छन् । त्यसैले दोस्रो लहरको कोरोना नियन्त्रण गर्ने अभियान सञ्चालन गर्दै गर्दा सरकारले तेस्रो लहरको कोरोनालाई नियन्त्रण गर्ने योजना र कार्यक्रम अहिले नै बनाएर पूर्वतयारीको अवस्था सुदृढ बनाएर राख्न सक्नुपर्छ

आफ्ना नागरिकको जीवन रक्षाका अगाडि अन्य सबै राष्ट्रिय गौरवका आयोजना गौण हुन् । नागरिकलाई पूर्ण रूपमा स्वास्थ्य सुरक्षा प्रदान गर्र्दै मेरो सरकार छ त्यसैले मैले कोभिड सजिलै जित्न सक्छु भन्ने मानसिकता आमनागरिकमा सिर्जना गराउन सक्नुपर्छ । तर अहिले नागरिकमा यस प्रकारको विश्वास जाग्ने गरी सरकारी संरचनाले काम गर्न सकेका छैनन् । यसको एउटै कारण सरकारका सबै संयन्त्र एकीकृत रूपमा कोभिड नियन्त्रण र उपचारमा लाग्न सकेका छैनन् । यस्तो महामारी र जटिल अवस्था सिर्जना हुँदा पनि सरकारी निकाय औपचारिकतामा मात्रै सीमित हुनु घोर विडम्बना र दुःखद भएको छ । कोरोनाको पहिलो लहर सुरु हुँदादेखि नै विज्ञहरूले दोस्रो लहर पनि सुरु हुने र त्यसले अझै बढी क्षति पार्ने विश्लेषण गर्दा पनि सरकारी निकायले त्यस्तो विश्लेषणलाई गम्भीरतापूर्वक लिन सकेन । यदि त्यसलाई गम्भीरतापूर्वक लिएर दोस्रो लहरको कोरोना नियन्त्रणका लागि आवश्यक पर्ने नीति योजना र कार्यक्रम बनाइ सोहीअनुसार दक्ष जनशक्ति परिचालन गर्न सकेको भए अहिले यति धेरै क्षति बेहोर्नुपर्ने अवस्था किमार्थ पनि आउने थिएन ।

कोरोनालाई नियन्त्रणमा राख्न सकिएन भने नागरिकले पक्कै पनि सरकार खोइ ? भन्दै सरकार नै नभएको अनुभूति गर्दै प्रश्न गर्न बाध्य हुनेछन् । त्यस्तो स्थिति आउन दिनुहँुदैन । अझै केही समयपछि कोरोनाको तेस्रो लहरसमेत आउने विश्लेषण विज्ञले गरेका छन् । त्यसैले दोस्रो लहरको कोरोना नियन्त्रण गर्ने अभियान सञ्चालन गर्दै गर्दा सरकारले तेस्रो लहरको कोरोनालाई नियन्त्रण गर्ने योजना र कार्यक्रम अहिले नै बनाएर पूर्वतयारी अवस्थामा रहन सक्नुपर्छ । कोरोना महामारी अझै केही वर्ष जाने भएकाले तीनवटै सरकारले समन्वयत्मक रूपमा बजेट तथा कार्यक्रम बनाएर परिचालन गर्ने नीति अख्तियार गर्नुपर्छ । सरकारले अहिले बजेट बनाइरहेकाले बजेटको प्रमुख प्राथमिकताको विषय पनि कोरोना नियन्त्रण र उपचारलाई नै बनाएर सोहीअनुसार बजेट निर्धारण गर्नुपर्छ । आमनागरिक पनि सर्तक र सचेत बन्नुपर्छ । नागरिक सबै कुरामा सरकारको मुख ताक्ने प्रवृत्तिबाट मुक्त हुनुपर्छ । यसैगरी सबै नागरिकले सकारात्मक सोचका साथ सरकारलाई पूर्णरूपमा सहयोग गर्न सकेमा मात्रै कोरोना महामारी नियन्त्रण हुन सक्छ । त्यसैले सरकार र आमनागरिक दुवै पक्षले आआफ्नो जिम्मेवारी र कर्तव्य वहन गर्न सक्नुपर्छ । यसो गर्न सकिएमा मात्रै महामारीका रूपमा रहेको कोरोनामाथि सहज विजय हासिल गर्न सकिनेछ । अन्यथा दुवै पक्षले आआफ्नो कर्तव्य र जिम्मेवारी बिर्सने हो भने स्थिति अझै भयावह भएर जान सक्ने भएकाले त्यस्तो अवस्था आउन किमार्थ पनि दिनुहुँदैन ।

तपाइको प्रतिक्रिया
(Visited 208 times, 1 visits today)

epaper

ताजा समाचार

बढ्दो लागतले चुनौतीपूर्ण बन्दै माछापालन व्यवसाय