काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागि गरेको आह्वान संविधानविपरीत भएको भन्दै आज शुक्रबार सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
अधिवक्ता कपिलदेव ढकाल, सन्तोष भण्डारी, राजकुमार सुवाल र रामबहादुर शाहीलगायत ६ जनाको रिट दायर भएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ । रिटहरुमा संविधानको ७६ (५) बमोजिम सरकार बनाउन आह्वान गर्दै राष्ट्रपति कार्यालयले बिहीबार राति जारी गरेको सूचना गैरसंवैधानिक रहेको उल्लेख छ ।
’प्रधानमन्त्री बहाल रहेको अवस्थामा अर्को सरकार गठन गर्न नमिल्ने भन्दै मैले रिट दर्ताका लागि पेश गरेको छु, सर्वोच्च प्रशासनले दर्ता प्रकृया थालेको छ,’ रिट दायर गर्ने मध्ये एक जना अधिवक्ता शाहीले भने । ’नयाँ सरकार गठनका लागि त प्रधानमन्त्रीले राजीनामा पत्र दिनुपर्छ नभए संसदबाट विश्वासको मत गुमाएको हुनुपर्छ, प्रधानमन्त्रीको पद रिक्त नभई नयाँ सरकार गठनको आह्वान हुन सक्दैन,’ उनले भने,’राष्ट्रपतिले संविधानको धारा ६१ को ४ बमोजिमको कर्तव्य पालना गर्नुभएको छैन भन्ने कुरा पनि मेरो रिटमा उल्लेख छ ।’






