गोडैता । सर्लाहीको गोडैता नगरपालिकामा एक युवती माथि सामुहिक बलात्कारको प्रयास भएको छ । गोडैता नगरपालिका वडा न–१२ मधुवनीमा गत जेष्ठ ३ गते सोमबार साँझ ७ बजे खेतबाट काम गरेर घर फर्किरहेकी स्थानीय एक २२ वर्षीया युवती माथि ३ जना ब्यक्तिले सामुहिक बलात्कारको प्रयास गरेका थिए ।
पीडित युवतीका अनुसार भारतको सिमानजिक खेतमा काम गरेर फर्किको बेला साँझ ७ बजे बाटोमा पहिल्यैदेखि लुकेर बसिरहेका मधुवनी गाउँ सुरेन्द्र राय, जयलाल राय र भारतको विहार राज्य जिल्ला सितामढी थाना मेजरगंज ग्राम पंचायत विश्वम्भरपुर ननकार धर्मेन्द्र माझीले रोकेर अभद्र व्यवहार गरेका थिए ।
पीडित युवतिका अनुसार तीनै जनाले उनलाई पहिला बाटो छेके र अपशब्द बोले । युवति अगाडी बढ्न खोजिन् त्यसपछि चारैतिरबाट घेरा हालेर युवतीको हातखुट्टा समाते अनि मुख थुने । तीनै जनाले घिसार्दै नजिकैको भित्तामा लगे र कपडा खोल्न थाले । युवति जोडले कराइन् । खेतको काम सकाएर गाउँलेहरु त्यहिबाटो आउदै थिए । युवतिको आवाज सुनेपछि गाउँले आइपुगे । गाउँलेलाई देखेपछि तीनै जना भागे ।
पिडित युवतीले आफुमाथि यौन दुर्व्यवहार गरेर मान सम्मानमा आँच पुर्याएको भन्दै तीनै जना बिरुद्ध जिल्लाप्रहरी कार्यालय सर्लाहीमा उजुरी दिएकी छिन् ।
बलात्कार प्रयासमा संलग्न सुरेन्द्र राय अवैध घरेलु मदिराको कारोबारी रहेको र घरमै सानो होटल चलाएर भारतबाट आउने ग्राहकहरुलाई मदिरा बिक्री गर्ने गरेको स्थानीयले बताएका छन् । लकडाउनको समयमा सिमापारीबाट दिनहुँजसो भारतीय नागरिकहरु सिमाक्षेत्रका गाउँमा आएर अबेर रातीसम्म रक्सी खाएर होहल्ला गर्ने गरेको स्थानियको भनाई छ ।





