पिट बुटिगिग र एमीले जोए बिडेनलाई सघाउने
वासिंगटन । अमेरिकी राष्ट्रपतिका लागि आगामी नोभेम्बरमा हुने निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बन्ने होडमा रहेकी एमी क्लोबुसरले प्रतिस्पर्धाबाट अलग भएको घोषणा गरेकी छन् । मिन्नेसोटाकी सिनेटर एमी क्लोबुसरले ‘सुपर ट्युसडे’ का रुपमा लिइएको १४ राज्यमा हुने प्राइमरीभन्दा ठीकअघि उम्मेदवारको होडबाट बाहिरिने घोषणा गरेकी हुन् ।
यसअघि आइतबारमात्रै इन्डियानाकोे साउथबेण्डका पूर्व मेयर पिट् बुटिगिगले उम्मेदवारको दौडबाट पछि हटेको घोषणा गरेका थिए । मंगलबार डेमोक्रेटहरुले १४ राज्यमा आफ्नो उम्मेदवार चयनका लागि मतदान गर्दै छन् । सिनेटर एमीले चार राज्यमा भएका प्राइमरी ककसमा नतिजा आफ्नो पक्षमा पार्न नसकेपछि उम्मेदवार बन्ने होडबाट पछि हटेको घोषणा गरेकी हुन् ।
साउथ क्यारोलाइनामा उनी छैटौं स्थानमा देखिएकी थिइन् । शनिबार साउथ क्यारोलाइनामा भएको प्राइमरीमा पूर्व उपराष्ट्रपति जो बाइडेन ४८ प्रतिशतभन्दा बढी मत ल्याएर विजयी भएका थिए । ५९ वर्षीया सिनेटर एमीले जोए बिडेनलाई आफ्नो समर्थन दिने बताइएको छ । टेक्सासको डालासमा हुने ¥यालीमा सिनेटर एमी पूर्व उपराष्ट्रपति बिडेनको समर्थनका लागि सहभागी हुने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
यसैगरी, साउथबेन्डका पूर्व मेयर पिट् बुटिगिगले पनि पूर्व उपराष्ट्रपति बिडेलाई समर्थन गर्ने जनाइएको छ । उनी डालासमा हुने सभामा सिनेटर एमीसँगै बिडेनको समर्थनमा सहभागी हुनेछन् । बिडेलाई समर्थन गरेर उनीहरु समाजवादी सिनेटर बर्नी स्यान्डर्सलाई राष्ट्रपतिको उम्मेदवार बन्नबाट रोक्ने प्रयासमा छन् ।
बर्नी स्यान्डर्स डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बन्ने दौडमा सबैभन्दा अघि देखिएका छन् भने जोए बिडेन दोस्रो नम्बरमा छन् । पूर्व राष्ट्रपति बाराक ओबामा प्रशासनका सुरक्षा सल्लाहकार सुसन राइसले पनि बिडेनलाई समर्थन गरेका छन् ।
पिट् र एमी बाहिरिएसँगै आगामी नोभेम्बरमा हुने चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्ने होडमा डेमोक्रेटिक पार्टीको उम्मेदवार बन्ने दौडमा अब पाँच जना प्रतिस्पर्धी रहेका छन् । बिडेन र स्यान्डर्ससँगै सिनेटर एलिजाबेथ वारेन, न्यूयोर्कका पूर्व मेयर तथा अर्बपति माइकल ब्लुमबर्ग तथा सांसद तुलसी गाबर चुनावी होडमा छन् ।