राजनीतिमा दोस्रो पुस्ता उदयको सार्थकता

राजनीति राज्य सञ्चालन गर्ने नीति हो । योभित्र शासन, शासन व्यवस्था, व्यवस्था सञ्चालनका विधि, नियम तथा प्रशासनिक संयन्त्र परिचालनका साथै देशीविदेशी कूटनीति तथा पारस्परिक सम्बन्ध समन्वय र परिचालनका कुरा पर्छन् । राष्ट्रिय रूपमा यी सबै देशको मूल कानुनका रूपमा रहेको संविधानका मातहत परिचालित हुन्छन् भने अन्तर्राष्ट्रिय रूपमा कूटनीतिक सम्बन्ध र पारस्पारिक हितका आधारमा परिचालित हुन्छन् । यस्तो सम्पूर्ण नीति निर्माण र परिचालनका लागि राजनीतिक दलमा आबद्ध विभिन्न पुस्ताका नेता तथा कार्यकर्ताको भूमिका अहं रूपमा रहेको हुन्छ । अघिल्लो पिँढीका नेताहरूको भूमिका बढी अभिभावकीय रूपमा रहेको हुन्छ भने तत्कालीन पुस्ताको भूमिका बढी कार्यकारी रहन गएको हुन्छ । तर, नेपालको सन्दर्भमा धेरै कुरा पाका नेता नेतृत्वमा रहने युवा पुस्ता पछाडि परिरहने अवस्था रहँदै आएको छ । यो समकालीन राजनीतिक विकास तथा विकास निर्माणका हिसाबले अलि केही अप्ठ्यारो अवस्था हो । यसको अर्थ बुढापाका नेताहरू काम नै गर्न सक्दैनन् र गरेका छैनन् भन्ने पनि होइन । तर, देशलाई आवश्यक पर्ने नवीन ऊर्जाका साथ जे जति गर्न सक्नुपर्छ समकालीन समयमा बुुढापाका नेताहरूको उत्तिको सारो ध्यान पुगेको देखिँदैन ।

समय गतिशील छ । निरन्तर परिवर्तनको परवाहमा छ । यसले नयाँनयाँ खालका सामाजिक मतभेदहरू हल गर्नुपर्ने अपेक्षा लिएको हुन्छ । सामाजिक अन्तर्विरोधहरू पनि समयसापेक्ष परिवर्तन हुँदै गइरहेका हुन्छन् । समाज भनेको यन्त्र होइन । यो संयन्त्र पनि होइन । बरु विचार, भावना, आवश्यकता, पहिचान, चाहना आदि सबैको एकीकृत र समुच्चय रूप हो । त्यसैले, यसको सम्बोधनका लागि समकालीन समाजलाई नजिकबाट बुझ्न सक्ने, आत्मसात् गर्न सक्ने र त्यसको समाधानका लागि उपयुक्त र युक्तियुक्त सोचको जरुरी हुन्छ । यसलाई समकालीन युवा नेतृत्व पंक्तिले बढी गम्भीरताका सथ बोध गरिरहेको हुन्छ भन्ने कुरो बढाइ चढाइ गरेको कुरा हुन सक्दैन । त्यसैले जुन समयमा जुन कुराको उचित सम्बोधन हुनुपर्छ, त्यो त्यस समयका युवा पुस्तासँग बढी घनिष्ट रूपले जोडिएको हुन्छ । यो समाज विज्ञान विकासको नियम नै हो । यही नियमअनुसार देश र समाजलाई गति दिनका लागि युवा नेतृत्व नै बढी उपयुक्त हुन्छ ।

यही कुरालाई मनन गरेर देशको समस्या समाधानका लागि समकालीन समाजका उत्पादनका रूपमा रहेका युवा पुस्ता राजनीतिक नेतृत्व तहमा लामबद्ध हुन जरुरी छ । पक्कै पनि अग्रज पुस्ताहरूलाई बिर्सेर वा तिरस्कार गरेर अघि बढ्ने कुरा आफैंमा अनुपयुक्त हुन्छ । तर, पनि समाजको सामाजिक संरचनाअनुसार वृद्ध, युवाका साथै सबै तह र समुदायका नेताको सहकार्य ग्यारेन्टी गरेर अघि बढ्न सकेका त्यो बढी उपयुक्त हुन जान्छ । अघिल्लो पुस्ताको अनुपम अनुभव र युवा पुस्ताको जोस जाँगर तथा सिर्जनशिलता र सामाजिक समुदायको सहभागिता देशको नीति निर्माणमा सहभागिताले देशको विकासलाई ग्यारेन्टी गर्छ । नेपालको राजनीतिमा अहिले जुर्मुराइरहेको युवा पुस्ता विभिन्न राजनीति दलका देखिएको छ । त्यहीँ युवापुस्तालाई नेतृत्व तहमा लागेर देशको विकास निर्माण र नेतृत्वमा सहभागी गराउन सके देशले काँचुली फेर्नेमा कुनै आशंका रहँदैन ।

तपाइको प्रतिक्रिया
(Visited 268 times, 1 visits today)

epaper

ताजा समाचार

बाढी प्रभावित क्षेत्रमा सम्भावित संक्रामक रोग फैलिन नदिन विशेष निगरानी