कोरोना संक्रमणबाट पाँच दिनको अन्तरमा दुई भाई छोरा र आमाको मृत्यु

उदयपुर । कोरोना संक्रमणबाट उदयपुरमा एकै परिवारको तीन जनाको पाँच दिनको अन्तरमा मृत्यु भएको छ । रौतामाई गाउँपालिका– ७ मुर्कुचीको एकै परिवारको ३ सदस्य मृत्यु भएको हो । ५ दिन भित्रमा एकै परिवारको आमा र जेठो छोरा र साइला छोरोको मृत्यु भएको हो ।

एकै परिवारका आमा ७१ वर्षिय तिलमाया मस्याङ्गी मगरको बिहिवार बिहान होम आइसोलेशनमै मृत्यु भएको थियो । जेठो छोरा ५१ वर्षिय पुष्कल मस्याङ्गी मगरको गत १८ गते नोबेल हस्पिटल बिराटनगरमा र साइलो छोरो ४५ वर्षिय तुलबहादुर मस्याङ्गी मगरको १५ गते बिराट हस्पिटल बिराटनगरमा आइसियुमा उपचारको क्रममा मृत्यु भएको हो ।

आमा तुलमाया सहित तीन छोराको कोरोना परिक्षण हँुदा पोजेटिभ देखिएपछि गाईघाटस्थित मदन भण्डारी आँखा अस्पतालमा उपचारमा राखिएको थियो । त्यहाँ उपचारको क्रममा जेठो र साइलोको समस्या आएपछि थप उपचारका निम्ति बिराटनगर लगिएको थियो । अर्का कान्छो छोरो भने निको भएर घर फर्किए भने आमा तुलमायालाई होम आइसोलेशनमा लगिएको थियो ।

घरमै अक्सिजन लिएर बसेकी आमाको बिहिवार बिहान मृत्यु भएको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए । जेठो पुष्कल ब्यवसायी थिए भने साइलो समाजसेवी थिए । मगर परिवारको एकै घरमा तीन जनाको मृत्युले मुर्कुची शोकमा डुबेको छ ।

त्यसैगरी बुधवार राती उदयपुरको लिम्चुङबुङ गाउँपालिका– २ ताम्लिछाका ५५ वर्षिय पुरुषको ज्यान गएको छ । पालिकाको आइसोलेशनमा उपचाररत संक्रमित पुरुषको ज्यान गएको हो ।

उदयपुरमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ । जसमा १२ महिला र २६ पुरुष रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा सबै भन्दा कम उमेर ३४ वर्षकी महिला र सबै भन्दा बढि उमेर ९० वर्षको पुरुष रहेका छन् । मृत्यु हुनेमा सबै भन्दा बढि त्रियुगा नगरपालिका रहेको छ । संक्रमण पनि उच्च दर रहेको त्रियुगामा मृत्यु हुनेको संख्या २२ जना रहेको छ । जिल्लाको चार नगरपालिका र चार गाउँपालिका गरी आठ पालिका मध्ये ताप्ली बाहेक सबै पालिकाका संक्रमितको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार १८ पुरुष २० महिला गरी ३८ जनामा थप संक्रमण पुष्टि भएको हो । त्रियुगामा १९ जना, ताप्लीमा ६ जना, उदयपुरगढीमा ७ जना, बेलकामा ५ जना र रौतामाईमा १ जना पछिल्लो समय संक्रमित थप भएको हो । यो सहित जिल्लामा कुल संक्रमितको संख्या १ हजार ३२९ पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 226 times, 1 visits today)

epaper

ताजा समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री रायमाझी, खाँण र पूर्वसचिव पाण्डे दोषी ठहर (फैसलासहित)