तेस्रो वरीयताका स्पेनिस राफयल नाडाल फ्रेन्च ओपन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । नाडालले १८औं वरीयता प्राप्त इटालियन जान्निक सिन्नेरलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेका हुन् पेरिसमा सोमबार राति भएको खेलको पहिलो सेटमा सुरुवातमा २–० को अग्रता लिए पनि नाडाल ४–२ ले पछि परेको थियो । तर, नाडालले पहिलो सेट ७–५ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
त्यसपछिको दुवै सेटमा नाडालले खासै संघर्ष गर्नुपरेन । दोस्रो सेट ६–३ ले सहजै आफ्नो पक्षमा पारेको नाडालले तेस्रो सेट ६–० ले सहजै आफ्नो पक्षमा पारेको थियो । अब नाडालले क्वार्टरफाइनलमा अर्जेन्टिनी डिएगो स्वार्टजमानको सामना गर्नेछ । डिएगोले जर्मनीका जान लेन्नार्ड स्ट्रफलाई ७–६, ६–४ र ७–५ ले पराजित गरेको थियो । नाडाल र डिएगो समग्रमा ११ पटक खेल्दा सबैमा नाडाल विजयी भएको छ । फ्रेन्च ओपनमा उनीहरूको यो तेस्रो भेट हुनेछ ।
नाडालले २०१८ मा क्वार्टरफाइनलमा तथा २०२० मा सेमिफाइनलमा डिएगोलाई पराजित गरेका थियो । यस्तै शीर्ष वरीयताका सर्वियन नोभाक जोकोभिचले इटालियन लोरेन्जो मुसेट्टीबाट वाकओभर पाएपछि क्वार्टरफाइनलमा स्थान बनाएको छ । मुसेट्टीले सुरुवाती दुई सेटमा ७–६ र ७–६ को जित निकालेको थियो । त्यसपछिको दुई सेट ६–१ र ६–० ले गुमाएको थियो । निर्णायक सेटमा जोकोभिच ४–० ले अघि रहँदा उनले वाकओभर दिएका थिए ।






