राप्ती नदीमा पानीको सतहले खतराको विन्दु पार गर्यो, सचेत रहन आग्रह

नेपालगञ्ज । दुई दिनदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतहले खतराको विन्दु पार गरेपछि बाँकेको तटीय क्षेत्रका दर्जनौ गाउँ डुबानको उच्च जोखिममा परेका छन् ।

बाँकेको राप्तीसोनारी–१ कुसुममा रहेको राप्ती नदीको बाढी मापन केन्द्रमा जलसतह खतराको विन्दु (पाँच मिटर) पार गरिसकेकोले नदी वरिपरिका दर्जनौं गाउँ उच्च जोखिममा परेको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

केही दिनदेखिको बाँके, दाङ, रोल्पा, प्यूठानमा लागतारको वर्षातको कारण नदीमा पानीको सतह बढेको बताए । बुधवार बिहानैबाट नदी क्रमिक रुपले बढ्दै गएपछि नदीमा पानीको सतह खतराको तहमा पुग्न थालेकोले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको जानकारी दिए ।

सिक्टा सिँचाइकाे सबै ढाेका खाेलियाे

सुचना अधिकृत ज्ञवालीले पानीको सतह बढेपछि अगैयास्थित राप्ती नदीमा बाँधिएको सिक्टा सिँचाईको व्यारेजको सबै ढोका खोलिएको बताए । कुसुम क्षेत्रको सो पानी राप्ती नदीको बाढी तल्लो तटिय क्षेत्रमा आईपुग्न करिव चारदेखि ५ घण्टा समय लाग्ने भएकोले कुसुममा पानीको सतह पाँच मिटर पुग्ने बित्तिकै खतरा स्वरुप नदी छेउछाउमा साइरन बजाइन्छ । नदीको सतह ५ मिटर ४० सेन्टिमिटर पुग्ने वित्तिकै राप्ती नदी आसपासका दर्जनौं गाउँ डुब्ने गरेका छन् ।

भारतले अन्र्तराष्ट्रिय नियम विपरित लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध साथै दशगजामै बाँध जस्तै गरी बनाएको सडकका कारण नदी तथा वर्षतको पानी प्राकृतिक रुपले बग्न नपाउँदा नेपाली भूभाग डुवानमा पर्दै आएका छन् ।

राप्ती नदीमा पानीको सतह बढ्दा बाँकेको राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका बासिन्दा विगत धेरै वर्षदेखि वर्सेनी डुबानमा पर्दै आएका छन् । उता, बर्दियाको सीमानामा रहेको मान खोलामा पनि पानीको सतह खतरा नजिक पुगेपछि सो क्षेत्रमा पनि उच्च सतर्कता अपनाईएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

नदीको सतह बढेर ५.२ मिटर पुगेपछि राप्तीपारीको उच्च जोखिममा रहेका क्षेत्रहरुमा हाई अलर्ट जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । उनले जोखिमका क्षेत्रबाट स्थानीयलाई उच्च क्षेत्रमा जान आग्रह गरिएको र ती सबै ठाउँमा सुरक्षा निकायका तीनवटै निकायलाई तयारी अवस्थामा राखिएको बताउनुभयो । आवश्यक परेमा हेलिकोप्टर लगायतलाई पनि तयारी अवस्थामा राखिएको प्रजिअ गेलालले बताए ।

यसैबीच बाँकेको खजुरा गाउँपालिकाको विपद व्यवस्थापन समितिले बाढी र डुबान लक्षित पूर्व तयारी सुरु गरेको छ । किरण नाला, पेडारी नाला, जेठीनाला, र मानखोलाबाट विभिन्न वडामा हुने सक्ने क्षति र प्रभाव’bout अनुमान गर्दै पूर्व तयारी थालेको हो ।

बाढी जन्य विपदबाट जोगिदै क्षति न्यूनिकरण गर्नको लागि सूचना प्रणालीको विकास, सरोकारवालाको समन्वयबाट तत्काल उद्दार, राहत, खाना, बस्न र औषधि उपचारलगायतका व्यवस्थापन गर्ने तयारी गरिएको छ ।

विपद व्यवस्थापन समितिका संयोजक तथा खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिको अध्यक्षतामा समितिको बैठक बसेर सम्बद्ध सदस्यहरुबाट सुझाव लिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 381 times, 1 visits today)

epaper

ताजा समाचार

वाणिज्य बैंकको नाफा १९ अर्ब, गत वर्षभन्दा ६ अर्बले वृद्धि