नुवाकोट । बैंकमार्फत भुक्तानी नगरेकै कारण नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ को कार्यालयबाट गत २४ चैतमा सामाजिक सुरक्षा भत्ताको ५३ लाख रुपैयाँ चोरी भयो ।
पञ्चकन्याले हातहातै भत्ता बाँढिरहदा नजिकैको बेलकोटगढी नगरपालिकाले गत १ साउनेदखिको भत्ता गत फागुनमा बल्ल बैंकमा पठायो ।
बैंक र पालिकाबीच लामो रस्साकस्सीपछि बैंकमार्फत भत्ता वितरण गर्ने भनिए पनि लाभग्राहीमध्ये अधिकांशले ११ महिनादेखि भत्ता पाएका छैनन् ।
नगरपालिकाले गत २१ जेठमा सूचना जारी गर्दै पालिकामा रहेको सानिमा विकास बैंकमा खाता खोल्न र केवाइसी अपडेट गर्न अनुरोध गर्दै भत्ता खातामा जम्मा गरिदिएको सूचना जारी गर्यो ।

अधिकांश लाभग्राही भत्ता पाउनबाट बञ्चित भएको भन्दै चौतर्फी आलोचना भएपछि नगरप्रमुख राजेन्द्र रमण खनालले २३ जेठमा अर्को सूचना जारी गर्दै भत्ता लाभग्राहीको खातामा गइसकेकाले खाता अपडेट गर्न भने ।
नगरप्रमुखले बैंकमार्फत लाभग्राहीले रकम पाएको दावी गरेपनि सानिमा बैंकको सूचनाले भने बल्ल १ असारबाट लाभग्राहीले भत्ता पाउन थालेको देखिन्छ ।
नगर प्रमुखले १० महिनापछि सामाजिक सुरक्षा भत्ता वितरण थालिएको सूचना जारी गरेपनि बैंकले ११ महिनापछि भत्ता वितरणको तालिका सार्वजनिक गर्यो ।
यो सूचना अनुसार भत्ता लिन पुग्दा अहिले अधिकांश लाभग्राहीले रकम पाएका छैनन् । बैंकले केवाइसी अपडेट नभएको भन्दै फर्काइरहेको छ भने नगरपालिका सवै लाभग्राहीको खातामा पैसा गइसकेको दावी गरिरहेको छ ।
११ महिनापछि भत्ता लिन लाइनमा लागेका ज्येष्ठ नागरिकले भने ‘सानिमा बैंक र नगरपालिकावीचको समन्वय अभावको मार खेप्नु परिरहेको छ ।’
सानिमा बैंकले १ असार देखि ३० असारसम्म भत्ता बाँढ्ने सूचना त निकाल्यो । तर केवाइसी अपडेट नहुनेका हकमा भने १ साउनपछि मात्र भत्ता वाँढ्ने भन्दै सूचना जारी गरेको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ देखि सामाजिक सुरक्षा भत्ता वैकिङ प्रणालीमार्फत वितरण गर्ने निर्णय गरेको थियो । सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मा पाएको सानिमा वैंक बाघखोर शाखा र नगरपालिका जिम्मेवारीबाट पन्छिएका कारण नगरपालिकाको झण्डै चार हजार जना समयमै भत्ता पाउनबाट बन्चित भएका हुन् ।
नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणमा अनावश्यक दुःख दिएको गुनासो वृद्धवृद्धाहरुको छ । यसै आर्थिक वर्षमा तीन पटकसम्म आवश्यक कागजपत्र जुटाउनको लागि वृद्धवृद्धालाई दुःख दिएपनि नगरपालिकाले वृद्ध भत्ता समयमै उपलब्ध गराउन सकेन । नगरपालिका स्रोतका अनुसार सामाजिक सुरक्षा भत्ता वितरणमा सानीमा बैंकमा कर्मचारी अभाव र नगरपालिकाले तोकता नगर्दा झण्डै एक वर्षसम्म पनि भत्ता वितरण हुन नसकेको हो ।
नगरपालिकाले ७० वर्ष उमेर कटेका केही वृद्धवृद्धालाई मात्र पहिलो चौमासिक भत्ता १ असारबाट दिन थालेको छ । नगरपालिकाले सामाजिक सुरक्षा भत्ता सबै प्रक्रिया पूरा गरेर भत्ता बुझ्नेसम्मको प्रक्रिया पूरा गर्नकै लागि पनि ज्येष्ठ नागरिकलाई सास्ती दिने गरेको गुनासो स्थानीयहरुको छ ।
‘पटक पटक कार्यालयमा कागजपत्रको लागि बोलाउने, वैंकिङ प्रयोजनमा समन्वय नगर्ने तथा नगरपालिकाले गर्नुपर्ने आफ्नो जिम्मेजारीको कामसमेत नगर्ने गरेको गुनासो वृद्धवृद्धाको छ । भत्ताको आसमा बसेका गरिब, दलित, अपांगता भएकाहरुकाको आस भत्ता कहिले आउँछ र औषधि उपचार तथा दैनिक गुजारा चलाउन पाइएला भन्नेमा छ ।
तर ११ महिनापछि सुरु भएको भत्तापनि सहजरुपमा उनीहरुले पाउन सकेका छैनन् । बैंकले भत्ता पाउने लाभग्राहीलाई वडा अनुसारको दिन छुट्याउदै सो दिन भत्ता लिन छुटे या कागजात नपुगे आगामी १ साउनपछि मात्र दिने भन्दै सूचना जारी गरिसकेको छ ।
बेलकोटगढी नगरपालिकाका अनुसार ३ हजार ९ सय ३२ जना सामाजिक सुरक्षा भत्ता पाउने सुचीमा छन् । तर, एक हजार जनाले मात्र पहिलो चौमासिकको भत्ता पाएका छन् भने झण्डै तीन हजार जनाको भत्ता अझै गन्जागोल छ ।






