काठमाडौं । भक्तपुर नगरपालिकाले भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्न र कोभिडबाट प्रभावित पर्यटन व्यवसाय उकास्न चार महिनाको व्यवसाय कर छुट दिने भएको छ । नगरपालिकाको नीति तथा कार्यक्रम घोषणा गर्दै नगरप्रमुख प्रजापतिले नगरका विभिन्न ठाउँहरूमा फेमिली स्टे र होम स्टेको विकास गरिने पनि जानकारी दिए ।
नगरका गल्ली र चोक तथा महत्वपूर्ण स्थलमा क्रमशः सीसी क्यामेराको व्यवस्था गरिने र सम्पदास्थलमा सन्ध्याकालीन बत्तीको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
भक्तपुर नगरपालिका–२ स्थित भक्तपुर औद्योगिक क्षेत्रमा रहेका प्रदूषण फाल्ने ठूला उद्योगलाई सो क्षेत्रबाट विस्थापित गरी स्थानीय सीपमा आधारित हस्तकला उद्योगको रूपमा विकास गर्न पहल गरिने पनि नगरप्रमुख प्रजापतिले जानकारी दिए ।
उनका अनुसार स्थानीय सीपमा आधारित हस्तकला तथा खाद्य परिकारको प्रचारप्रसारका गतिविधि पनि सञ्चालन गरिनेछ ।
सहकारीलाई लेनदेनमा मात्रै सीमित नगरी सहकारीमा जम्मा भएको रकम उत्पादनमूलक क्षेत्रमा लगानी गरी रोजगारी प्रवद्र्धनमा लगाउन जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । युवालाई सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउन काष्ठकला, प्रस्तरकला, मूर्तिकला, चित्रकला, सिलाइ, रेडियो–टेलिभिजन प्रस्तोता, फोटोग्राफी, भिडियोग्राफी, पथ प्रदर्शकको तालिम दिइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
पर्यटन उद्योगलाई चार महिनाको कर छुट
यसका साथै मोटरसाइकल, मोबाइल मर्मत, रेडियो–टेलिभिजन मर्मत, रेफ्रिजरेटर, प्लम्बिङ र बिजुली बत्तीको मर्मतलगायतका तालिम पनि दिइने भएको छ ।
भक्तपुर नगरपालिका–२ र ६ मा सञ्चालित देको मिवा इटापाके आवास योजनाका बाँकी काम सम्पन्न गरी क्रमशः जनताको जग्गा फिर्ता गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । यसैगरी, भनपा–६ महाकालीस्थित अँचा पोखरी स्थानमा आव २०७८÷७९ बाट नै ज्येष्ठ नागरिकको हेरचाह र संरक्षणका लागि आदर निकेतनको व्यवस्था गरिने भएको छ ।
परम्परागत शैलीमा शव दाह गर्दै आएकोमा नगरका महŒवपूर्ण स्थानमा सुधारिएको शव दाह निर्माण गरिने र विद्युतीय शव दाह गृह निर्माणको प्रक्रिया थालनी गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यस्तै, साना तथा घरेलु उद्योगलाई प्रोत्साहित गर्न स्थानीय उत्पादन जुजुधौ, भादगाउँले टोपी, टाइचिन चिउरा, हाकुपटासीको प्रवद्र्धनलाई जोड दिइने भएको छ ।
भक्तपुर नगरपालिकाको पुरानो नगर क्षेत्रभित्र मौलिक शैलीमा घर बनाउने घरधनीलाई घरको मोहडाका लागि लाग्ने इँटा, काठ र झिंगटीको खर्चमध्ये ३५ प्रतिशत अनुदान दिने नीतिलाई निरन्तरता दिइएको छ ।
कोभिड रोकथाम र नियन्त्रणका लागि कोभिड युनिटमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी तथा प्रयोगशाला र स्वाब परीक्षण, एम्बुलेन्स तथा शव वाहन सेवा प्रदान गर्ने कर्मचारीलाई अस्पताल सञ्चालक समितिको निर्णयअनुसार प्रोत्साहन भत्ताको व्यवस्था गरिने भएको छ ।
साथै, जोखिममा पर्न सक्ने १८ वर्षमुनिका बालबालिकाका लागि समेत आईसीयू र भेन्टिलेटरको व्यवस्था गरिनेछ । नसर्ने कडा क्यान्सर, मिर्गाैला, मुटु, मस्तिस्कघात, स्पाइनल इन्जुरीजस्ता रोग लागेका बिरामीहरू दिन प्रतिदिन बढ्दै गएको हुँदा बिरामी परिवारलाई केही राहत होस् भन्ने उद्देश्यले नगरपालिकाले दिइँदै आएको आर्थिक सहयोगमा वृद्धि गरिने भएको छ ।
अशक्त, अपांगता भएका व्यक्ति तथा ७५ वर्षमाथिका ज्येष्ठ नागरिकका लागि घरदैलोमा चिकित्सा सेवा उपलब्ध गराइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
यसैगरी, भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शिक्षण संस्थामा कृषि विज्ञान, हेल्थ असिस्टेन्ट, ल्याब असिस्टेन्ट, फार्मेसी एवं मेकानिकल इन्जिनियरिङ, बीएस्सी नर्सिङजस्ता नयाँ–नयाँ विषय अध्यापन स्वीकृतिका लागि प्रक्रिया अगाडि बढाइने भएको छ ।






