काठमाडौं । कोरोना भाइरसले विश्व आक्रान्त बनिरहेको बेला चीनमा रहेका नेपाली नागरिकलाई नेपाल फिर्ता गर्न सरकारलाई हम्मेहम्मे परिरहेको छ । अन्य देशले चीनमा बस्ने आफ्ना नागरिकलाई स्वदेश फिर्ता गरिसकेको छ । तर, नेपाल सरकारले भने ‘क्वारेन्टाइन’ पहिचान गर्नै सकेको छैन । स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय, पर्यटन मन्त्रालय, खानेपानी मन्त्रालयलगायतको अन्तर मन्त्रालयस्तरमा प्रभावकारी समन्वय हुन नसक्दा कोरोना भाइरस संक्रमण फैलिएको चीनको हुवेई प्रान्तमा रहेका नेपालीलाई स्वदेश फर्काएर कहाँ राख्ने भन्ने निर्णयमा सरकार अझै पुग्न सकेको छैन ।
हुवेई प्रान्तमा रहेका नेपालीलाई कहिले ल्याउने र ल्याएर कहाँ राख्ने भन्ने विषयमा सरकारले अझै आधिकारिक जवाफ दिएको छैन । हालसम्म चीनबाट फर्किन चाहनेमध्ये १ सय ८० जना चीनस्थित नेपाली राजदूतावासको सम्पर्कमा छन् ।
मंगलबार बेलुका मुख्य सचिवको अध्यक्षतामा बैठक बसेर स्थानको टुंगो लगाउने भनिए पनि सो विषयमा निर्णय हुन सकेको छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले चाँडै निर्णय हुने बताए । उनले भने, ‘स्थान’bout अझै टुंगो लागेको छैन । तर, अब एक–दुई दिनभित्रै नेपाल ल्याउने गरी तयारी थालिएको छ ।’ बुधबार बेलुकीसम्म बैठक बसे पनि नेपालीलाई ल्याइसकेपछि कहाँ राख्ने भन्ने निर्णय गर्न नसक्दा बिनानिष्कर्ष बैठक टुंगिएको थियो ।
मंगलबार बसेको बैठकले नेपाली सेनाले विभिन्न चारवटा स्थान उपयुक्त भएको बताएको थियो । नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र रहेको भक्तपुरको खरिपाटी, खानेपानीको तालिम केन्द्र नगरकोट, नेपाली सेनाको पाँचखाल ब्यारेक वा नेपाली सेनाको शिवपुरी ब्यारेकमा राख्न सकिने राय दिएको थियो ।
—स्थान टुंगो लगाउनै सकस
— बैठक बस्छ, निर्णयमा पुग्दैन
—समिति निकम्मा
विद्यार्थी भन्छन् : सुरक्षित तवरले फर्किन आतुर छौं
परराष्ट्र मन्त्रालयले भने क्वारेन्टाइनको निर्णय नहुँदा चीनमा रहेका नेपालीलाई फर्काउन ढिलाइ भएको बताएको छ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले तीनवटा समिति गठन गरे पनि ती समितिको प्रभावकारितामाथि प्रश्नचिह्न उठ्न थालेको छ । विश्वमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रोकथामका लागि तीनवटा समिति गठन गरेको थियो । ती समितिले कोरोना भाइरस संक्रमणसँग जोडिएका विषयको निर्णयसमेत सार्वजनिक गरेको छैन । जब कि, चीनमा रहेका नेपालीहरू सुरक्षित तवरले नेपाल फर्किन आतुर छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको अध्यक्षतामा उच्चस्तरीय अनुगमन समिति, स्वास्थ्य सचिव खगराज बरालको अध्यक्षतामा निर्देशक समिति र गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. दीपेन्द्ररमण सिंंहको अध्यक्षतामा स्वास्थ्य प्राविधिक समिति गठन भएको हो । सदस्यहरूमा सबै मन्त्रालयका सचिव तथा महाशाखा प्रमुख हुनेछन् ।
समितिमा मन्त्रालयका तीनै विभागका महानिर्देशक, सबै महाशाखाका निर्देशक, टेकु अस्पतालका निर्देशक, स्वास्थ्यअन्तर्गतका सबै परिषद्का अध्यक्षहरूलाई पदेन सदस्य तोकिएको छ । उच्चस्तरीय अनुगमन समितिले कोरोनाको रोकथामका लागि विभिन्न निकायले गरिरहेका कामको अनुगमन गर्नेछ ।