पेरिस । स्पेन र स्वीट्रल्यान्ड युरोकप फुटबलको क्वाटरफाइनलमा पुगेका छन् । स्वीट्रल्यान्डले फ्रान्स र स्पेनले क्रोसियालाई पराजित गरेर क्वाटरफाइनलमा पुगेका हुन् । गएराति भएको खेलमा विश्वकप विजेता फ्रान्सलाई स्वीट्जरल्यान्डले टाइब्रेकरमा पराजित गरेको हो ।
निर्धारित समयमा दुवै टोलीबाट ३–३ गोल भयो । फ्रान्सका करिम बेन्जमाले दुई तथा पउल पोग्बाले एक गोल गर्दा स्विट्जरल्याण्डका ह्यारिस सेफेरोभिचले दुई तथा मारियो गाभ्रानोभिचले एक गोल गरे । ८१ मिनेटसम्म ३–१ ले अगाडी रहेको फ्रान्सले अन्तिम समयमा २ गोल खाएपछि खेल अतिरिक्त समयमा पुग्यो ।
अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न सकेनन् । टाइब्रेकरमा फ्रान्सका किलियन एम्बाप्पेको अन्तिम प्रहारलाई विपक्षी गोलकिपरले रोकेपछि स्विट्जरल्याण्ड ५–४ ले विजयी भयो ।
गएराती भएको पहिलो खेलमा क्रोएसियालाई अतिरिक्त समयमा ५–३ ले हराउँदै स्पेन क्वाटरफाइनलमा पुगेको हो । निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा रोकियो । अतिरिक्त समयमा स्पेनका अल्भारो मोराटा र मिकेल ओयरजबालले एक एक गोल गर्दै स्पेनलाई विजयी गराए ।
युरोकप फुटबलमा आज अन्तिम १६ को दुई खेल हुनेछन् ।आयरल्याण्डको डब्लीनमा बेलुकी ९ः४५ बजे इंग्ल्याण्ड र जर्मनी भिड्दा राती १२ः४५ बजे स्कटल्याण्डको ग्लासगोमा हुने खेलमा स्वीडेनले युक्रेनसँग खेल्नेछ ।






