इटहरी । सप्तकोसी नदीमा पानीको बहाव यो वर्षकै उच्च भएको छ । पानीको बहाव उच्च भएपछि ५६ मध्ये २९ ढोका खोलिएका छन् ।
शनिबार बिहान ८ बजेको पछिल्लो मापनअनुसार सप्तकोसी नदीमा पानीको बहाव दुई लाख २२ हजार ४७५ क्यूसेक पुगेको कोसी व्यारेजस्थित कन्ट्रोल रुमले जनाएको छ ।
शुक्रबार राति १२ बजेसम्म बहाव एक लाख ५५ हजार सात सय ७५ क्यूसेक मात्रै थियो । पहाडी क्षेत्रमा निरन्तर भइरहेको भीषण वर्षका कारण सहायक नदीमा समेत बाढी आउँदा कोसीको बहाव बढेको हो ।
शुक्रबार रातिसम्ममा २४ वटा मात्रै ढोका खुला गरिएको थियो । पानीको सतह बढ्दा कोसी किनारमा बसोबास गरिरहेका स्थानीयको घरहरु डुबानमा पर्न थालेको प्रहरीले जनाएको छ । वर्षा निरन्तर भइरहेकाले अझै बढ्दै जाने संकेत देखिएकाले नदीनजिक बसोबास गरिरहेकालाई सुरक्षित र सतर्क रहन सुनसरी प्रशासनले आग्रह गरेको छ ।
सप्तकोसीमा अधिक बहाव सात लाख क्यूसेकसम्म मापन भएको रेकर्ड छ । एक लाख ६० हजार क्यूसेकसम्मको बहावलाई सामान्य मानिन्छ । दुई लाख ५० हजारभन्दा माथि गएपछि खतराको रूपमा लिइन्छ । बहाव तीन लाख ५० हजार क्यूसेकभन्दा माथि पुगेपछि रातो बत्ती बल्छ र खतराको साइरन बज्छ ।
यसैबीच निरन्तरको वर्षाका कारण सुनसरी र मोरङका विभिन्न खोलाहरुमा पानीको सतह बढेको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार लगातारको वर्षाले पानीको सतह बढेको छ ।
विशेषगरी इटहरीको बुढीखोला, टेङ्ग्रा खोला, खेतीखोला लगायतका स्थानमा पानीको सतह बढेकाले इटहरीका केही क्षेत्र डुबानमा परेका छन् । ‘त्यस्तो खास ठूलो समस्यै त छैन, तर खेती खोला आसपासका केही घरहरु डुबानमा परेका छन्,’ केसीले फोन सम्र्पकमा भने, ‘धेरै प्रभावित नभएपनि यही क्रमले पानी परिरहने हो भने क्षति हुनसक्छ, सतर्क हुनुपर्ने आवश्यकता छ ।’ पानी लगातार परेकाले खोला, नाला तथा डुबान हुने क्षेत्रमा पानी ‘ओभरफ्लो’ भएकाले वस्तीमै पस्ने खतरा समेत रहेको उनले जानकारी दिए ।
बर्सेनि बुढीखोला वर्षायाममा निकै भेल बढेर आउने हुदाँ यसको मुहानबाट अन्य ससाना खोलाहरुमा बाढीको भेल पस्ने समस्याले गर्दा इटहरीका धेरै क्षेत्र डमाडोल अवस्थामा पुग्ने गरेका छन् । विशेषगरी टेङ्ग्रा खोला, बुढीखोला, खेती खोलाले खासगरी इटहरीका वडा नं. ३, ४, ६, ९, १०, ११ वडा बाढीबाट प्रत्यक्ष प्रभावित बनेका छन् । यी वडाहरुमा खोला तथा सप्तकोसीबाट आउने खनार क्षेत्रको नहरले इटहरी डुबानमा पर्ने गरेको छ । यता, इटहरी २० र २ मा पर्ने तरहराको कृषि फारम, तरहराका अन्य केही ठाउँहरु, इटहरी ७ को बज्राहामा पनि पानीका कारण केही घरहरु डुबानमा परेका छन् ।
यसवर्ष मनसुन सुरु भएपछि सुनसरी र मोरङमा रहेका विभिन्न खोलाहरुमा ठूलो बाढी आएको छ । सुनसरीको इटहरी, तरहरा, मोरङको सुन्दहरैँचा, बेलबारी लेटाङ लगायतका दर्जनौँ स्थानमा छ घण्टासम्म निरन्तर वर्षा भएको जनाएको छ । यस्तै, मोरङ र सुनसरीका बूढी, सेउती, केसलिया, लोहन्द्रा, गछिया, जौलाहा, बक्राहा लगायतका कैयौं खोलाहरुमा पानीको सतह बढेको छ ।