अनुगमन संयन्त्र प्रभावकारी बनाऊ

नयाँ आर्थिक वर्ष २०७८-७९ सुरु हुन अब केही दिन मात्रै बाँकी रहे पनि सरकारले सो नयाँ वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिसकेको छ । अब २०७८ साउन १ गतेदेखि सरकारको नयाँ बजेट र नीति तथा कार्यक्रम लागू हुनेछ । बजेट र नीति तथा कार्यक्रम प्रभावकारी रहेकाले यसको कार्यान्वयन पनि सशक्त रूपमा हुनुपर्ने देखिएको छ ।

विगतको सरकारी अभ्यास हेर्दा नीति तथा कार्यक्रममा निकै राम्रा र महŒवाकांक्षी कार्यक्रम समेटिएको भए पनि ती कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन हुन नसक्दा सरकारप्रति नागरिकको आस्था र भरोषा अपेक्षित रूपमा बढ्न सकेको थिएन । हामीकहाँ सबैभन्दा ठूलो समस्या भनेकै हाम्रा सरकारले ठूलाठूला नीति योजना तथा कार्यक्रम ल्याउँछन् तर ती नीति तथा कार्यक्रमहरूको सशक्त अनुगमन हुन नसक्दा र प्रभावकारी कार्यान्वयन हुन नसक्दा सरकारले निर्धारण गरेका लक्ष्यहरू पूरा हुन सकिरहेका छैनन् ।

सरकारको नीति तथा कार्यक्रम तथा सबैखाले योजनालाई कार्यान्वयनमा ल्याउने प्रमुख दायित्व राजनीतिक नेतृत्वका रूपमा रहेका मन्त्री र प्रशासनिक नेतृत्वमा रहेका सचिवलगायत सम्पूर्ण कर्मचारी वर्गको हो । तर, राजनीतिक नेतृत्वका रूपमा रहेका मन्त्री तथा प्रशासनिक नेतृत्वको रूपमा रहेका सचिवलगायत आमकर्मचारी नै सरकारको नीति तथा कार्यक्रमलाई जनतासमक्ष सफलतम रूपमा लैजाने विषयमा खासै संवेदनशील भएको पाइँदैन । यसैका कारण पनि सरकारको नीति तथा कार्यक्रमबाट प्राप्त हुने लाभको वास्तविक अनुभूति आमजनताले गर्न सकेका छैनन् ।

सरकारले अब साँच्चै नै आफ्नो नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयन गर्न नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने निकायको निरन्तर अनुगमन गर्ने संयन्त्र बनाउनुपर्छ । कुनै पनि मन्त्रालय र मातहतका निकायले आफ्नो जिम्मेवारीमा आएका नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न नसकेको अवस्थामा ती निकायलाई ठाउँका ठाउँ कारबाही गर्न सक्नेगरी प्रधानमन्त्री कार्यालयमा विभिन्न स्तरका अनुगमन संयन्त्र बनाउनुपर्छ । यसो त हरेक मन्त्रालयमा योजना तथा अनुगमन महाशाखा नभएका होइनन् तर अधिकांश मन्त्रालयका महाशाखा निष्क्रिय अवस्थामा रहेका छन् । अब सबै मन्त्रालयले ती महाशाखालाई सक्रिय बनाई मातहतका निकायले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कसरी गरिरहेका छन् भन्नेमा सशक्त अनुगमन गर्नेगरी आवश्यक रणनीति अख्तियार गर्नुपर्छ ।

नीति तथा कार्यक्रम लागू हुनासाथ सुरुकै चरणदेखि नै अनुगमन गर्नुपर्छ । नीति तथा कार्यक्रम कार्यान्वयनको अन्तिम चरणमा पुगेर अनुगमन गर्ने परिपाटी राम्रो होइन । हामीकहाँ त्यस्तै परिपाटीको विकास भएकाले पनि नीति तथा कार्यक्रम असफल हुँदै आएका हुन् । अझ सबैभन्दा आश्चर्यजनक विषय त यो छ कि केन्द्रबाट अनुगमनमा जाने अनुगमन संयन्त्रका व्यक्ति नै जुन कार्यक्रम’bout अनुगमन गर्न जान्छन् त्यही कार्यक्रमका व्यक्तिसँगै बस्ने खाने र उनीहरूबाट निश्चित टिप्ससमेत लिने खराब प्रवृत्तिको विकास भइरहेको छ । जुन प्रवृत्ति निकै घातक हो ।

नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाउन निश्चित समय सीमासहितको मोनिटरिङ योजना बनाउन जरुरी छ । नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा लैजान सोहीअनुसारका विशेषज्ञको पनि आवश्यकता पर्छ ।

नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा लैजान स्रोतसाधनको पर्याप्त व्यवस्थापन गरिनुपर्छ । प्रशासनलाई सक्रिय बनाइनुपर्छ । हाम्रो नागरिक समाज निकै नकारात्मक खालको भएकाले नागरिक समाजलाई सकारात्मक बनाउन पनि त्यतिकै जरुरी छ । यसैगरी नीति कार्यान्वयनको बेलामा नयाँ खाले समस्या सिर्जना भएका त्यस्ता समस्या समाधान गर्न दक्ष योग्य र भिजन भएका व्यक्ति सम्मिलित उच्चस्तरीय संयन्त्र बनाएर त्यस प्रकारका समस्याको तत्काल समाधान गरिहाल्नुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 252 times, 1 visits today)

epaper

ताजा समाचार

धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका