काठमाडौं । दक्षिण एसियाली स्तरको खेलकुदको कुम्भमेलाको १४औं संस्करण दक्षिण एसियाली खेलकुद (साग) पाकिस्तानको लाहोरमा दुई वर्षपछि हुने भएको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सोमबार बसेको भर्चुअल बैठकले १४औं साग सन् २०२३ मार्चमा पाकिस्तानमा गर्ने निर्णय गरेको हो ।
सागमा २५ खेल र दुई आयोजकले गरी २७ खेल समावेश हुनेछन् । मुख्य खेल पाकिस्तानको लाहोरमा हुनेछ । फैसलावाद, गुजरनवाला, इस्लामावाद र सिलाकोटमा पनि हुनेछ । यस्तै बैठकले सागको आयोजना हुने खेल स्थल निरीक्षण गर्न साउथ एसियन ओलम्पिक काउन्सिलका ओलम्पिक कमिटीलाई सन् २०२१ मा निमन्त्रण गरिएको छ ।
भर्चुअल बैठकमा पाकिस्तान ओलम्पिक कमिटीका तथा (दक्षिण एसियाली ओलम्पिक काउन्सिल)का स्वत अध्यक्ष सायद एरिफ हसनको अध्यक्षतामा बसेको बैठकमा नेपालका तर्फबाट नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठसँगै भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स तथा भुटान ओलम्पिक कमिटीका अध्यक्ष तथा महासचिवको उपस्थिति रहेको थियो ।
पाकिस्तानले दुई वर्ष अघि नै सन् २०२१ मा आयोजना गर्नेगरी नेपालबाट साग आयोजना अधिकारको झन्डा लगेको थियो । त्यसपछि विश्वव्यापी रूपमा कोरोना भाइरसको महामारी बढेसँगै साग पनि मिति तय नहँुदै अनिश्चित बनेको थियो । तालिकाअनुसार हरेक दुई वर्षमा साग आयोजना हुनुपर्नेछ । नेपालले घरेलु भूमिमा दुई वर्षअघि आयोजना आयोजना भएको १३औं सागमा ऐतिहासिक पदक जित्दै दोस्रो स्थान हासिल गरेको थियो । नेपालले ५१ स्वर्ण, ९६ रजत र ९७ कास्य गरी २०७ पदक जितेको थियो ।






